|

  • मणिलाल विश्वकर्मा-

सिरहाः दलितभित्रका दलित मानिने सिरहाका डोम जातिले स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलहरूले आफूलाई समावेश नगरे सम्पूर्ण डोमले मत नखसाल्ने बताएका छन्।

डोम उत्थान समिति सिरहाले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म डोम जातिका कसैलाई पनि दलहरूले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस नगरेको भन्दै यस्तै अवस्था रहे आफूहरू निर्वाचन नै बहिष्कार गर्न बाध्य हुने चेतावनी दिएको छ। 

‘मुलुकभर स्थानीय चुनावको उत्साह देखिन्छ। स्थानीय चुनाव देशको समृद्धि र विकाससँग जोडिएको अनुभूति नागरिकहरूले गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘करिब २० वर्षपछि भएको स्थानीय चुनावमा सबै समुदाय स्थानीय शासनमा समावेश भए तथा प्रतिनिधित्व गराए तर डोम जातिले कतै पनि आफ्नो स्थान पाउनसकेको छैन।’ 

समितिका जिल्ला संयोजक रामचन्द्र मरिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुख्य गरी तराई र पहाडका विभिन्न जिल्लामा बसोवास रहेको डोम समुदायको स्थानीय तहमा प्रतिनिधित्व गराउने सुनिश्चितताको माग गर्दै अन्यथा आफ्नो समुदायले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिइएको छ। 

मुलुकभर करिब १३ हजारको संख्यामा रहेको अनुमान गरिएका डोम जाति सिरहामा दुई हजार पाँच सयको हाराहारीमा रहेको समितिका सिरहा संयोजक मरिकले जानकारी दिए। मरिकले सामाजिक, राजनीतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा पछाडि परेको आफ्नो समुदायलाई राजनीतिक रूपमा पनि विभेद गरेको भन्दै दलहरूप्रति रोश प्रकट गरेका छन्।

डोमहरू विशेषतः सार्वजनिक स्थलको सरसफाईसँगै बाँसजन्य सामग्री बनाएर आफ्नो क्षेत्रमा बिक्री वितरण गरेर तथा सुँगुर, बङ्गुरपालन गरेर आफ्नो जीविका चलाउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.