|

  • रमेश पराजुली-

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको विकट गाउँपालिकाको रूपमा चिनिने जुगल गाउँपालिकामा भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार सिर्जना तामाङ निर्वाचित भएकी छन्। २३ वर्षकी तामाङले दुई हजार ७४६ मतका साथ विजयी भएकी हुन्।

तामाङकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अम्विका नेपालले दुई हजार ३८९ मत मात्र प्राप्त गरिन्। दश वर्षे सशस्त्र युद्ध लडेको माओवादीकी उम्मेदवार अम्बिकालाई ३५७ मतले पछि पार्दै उनले आफ्नो जीत दर्ता गराएकी हुन्। 

सिन्धुपाल्चोकलगायत सबै गाउँपालिका र नगरपालिकामा महिलालाई उपाध्यक्षमा नै सीमित बनाइएको छ। उपाध्यक्ष बनेकाहरूमा प्रायः उमेर ढल्किएका र कपाल फुलेकाहरू देख्न सकिन्छ। तर सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा त्यस्तो भएन। 

सामान्य युवती जस्तै देखिने युवतीको विचार फरक हुन्छ। गाउँठाउँको विकास गर्ने योजना नयाँ हुन्छ। युवा जमातको भिजनले देश बदलिने भएकाले एमालेले युवा जमातलाई अघि सारेको दाबी गरेको छ। 

जुगल गाउँपालिका भौगोलिक रूपले विकट छ। उनले थाहाखबरसँगको कुराकानीमा भनिन्, ‘हाम्रो गाउँपालिका भौगोलिक, आर्थिक, शौक्षिक सबै पक्षमा कमजोर छ। सुरुमा स्थानीयको जनचेतना वृद्धि गर्न आवश्यक हुन्छ। पहिला आफ्नो घर बदल्ने प्रयत्न गरौँ अनि मात्र गाउँको विकास सम्भव हुन्छ।’ 

सामान्य परिवारमा जन्मिएकी तामाङ २०६३ सालदेखि राजनीतिमा सक्रिय भएकी हुन्। कलिलो उमेरबाट राजनीतिमा लागेकी उनी अहिले आफ्नो गाउँपालिका बदल्ने नयाँ भिजन लिएर अगाडि बढिरहेको बताउँछिन्। 

जुगल गाउँपालिका सडक, यातायात, विद्युत, सञ्चारलगायतका क्षेत्रमा पछि परेको छ। गाउँपालिकाको विकासमा निरन्तर लागिरहने उनको योजना छ। ‘मेरो कर्तव्य भनेकै मेरो ठाउँको विकास हो। मलाई जनताले यो स्थान दिएका छन्’, उनी भन्छिन्, ‘यसलाई म सदुपयोग गरेरै छाड्छु।’ 

सिन्धुपाल्चोक २०७२ बैशाखको भूकम्पबाट अतिप्रभावित जिल्ला भएकाले आफ्नो पहिलो पहल पुनर्निर्माणमा रहने समेत उनले बताइन्। ‘धेरैको बास दुई वर्षसम्म टहरोमा कटिरहेको छ’, तामाङ भन्छिन्, ‘उनीहरूलाई व्यवस्थित गरी छानामुनि बसाउने मेरो पहिलो जिम्मेवारी हो।’ 

यस गाउँपालिकाबाट अध्यक्षमा एमालेकै होमनारायण श्रेष्ठ विजयी भए। निकटतम प्रतिद्वन्द्वी माओवादीका रेशम स्याङ्वालाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.