|

काठमाडौँ: बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनसँगै मत परिणाम आउने क्रम जारी छ। अधिकांश स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ भने चार महानगर र केही स्थानीय तहको मात्र मत परिणाम आउन बाँकी छ। हालसम्मको मत परिणामअनुसार माअोवादी केन्द्रले ५० भन्दा बढी स्थानमा झिनो मत अन्तरले हार व्यहोरेको देखिन्छ।

पहिलो संविधानसभा निर्वाचनमा देशकै पहिलो शक्ति भएको माओवादी केन्द्र (तत्कालीन एमाओवादी) संविधानसभाको दोस्रो चुनावसम्म आइपुग्दा तेस्रो दलको रूपमा खुम्चिनुपरेको थियो। अहिलेको स्थानीय तह निर्वाचनमा उसले तेस्रो प्रमुख दलको हैसियत त जोगाएको छ नै, २०७० को संविधानसभा चुनावमा पाएको मतभन्दा छ प्रतिशत मत पनि बढाएको छ। तर अहिलेको स्थानीय तह चुनावमा माओवादीले ५० बढी स्थानमा निकै झिनो मतले हार व्यहोर्नुपरेको छ। 

कहाँकहाँ रह्यो झिनो मत अन्तर?

जाजरकोटको बारेकोट गाउँपालिकामा माओवादीका तिलकबहादुर रावतले दुई हजार १२९ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रबहादुर शाह दुई हजार १४८ मतका साथ विजयी भए। उनीहरूको मतान्तर जम्मा १९ थियो।

धादिङको नेत्रावती गाउँपालिकामा माओवादीका ठाकुर गुरुङले एक हजार ५१० मत ल्याए। त्यहाँ एमालेका दुर्गकुमार शाक्यले एक हजार ६४६ मतका साथ जीत हात पारे। त्यहाँ १३६ मतान्तरले शाक्यले गुरुङलाई उछिनेका थिए।

गोरखाको गण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका होमबहादुर रानामगर चार हजार १३१ मतले विजयी भए। उनीसँग प्रतिष्पर्धा गरेका माओवादीका दीपक तिमिल्सिना साकारले तीन हजार ८५७ मत ल्याएका थिए। उनीहरूको मतान्तर जम्मा २७४ मात्र थियो।

म्याग्दीको धवलागिरि गाउँपालिकामा माओवादीका रिमप्रकाश थापाले दुई हजार १६८ मत हात पारे। उनका प्रतिद्वन्द्वी एमालेका थमसरा पुनले दुई हजार ४९० मतका साथ जीत हात पारेकी थिइन्। ३२२ मतले थापा पुनसँग पराजित भए।  

त्यसैगरी धादिङकै गजुरी गाउँपालिकामा माओवादीका गणेशलाल श्रेष्ठले चार हजार छ मत हात पार्दा एमालेका राजेन्द्रविक्रम बस्नेतले चार हजार ३३६ मतका साथ जीत हात पारे। यहाँ पनि ३३० मतले माओवादीले हार्नुपरेको थियो।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा माओवादी केन्द्रका रेशम स्याङवोले दुई हजार ४४५ मत हासिल गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका होमनारायण श्रेष्ठले दुई हजार ७८१ मत ल्याएका थिए। त्यहाँ ३३६ मतको झिनो अन्तरले स्याङवोले हार्नुपरेको थियो।

दोलखाको कालिञ्चोक गाउँपालिकामा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले चार हजार २०२ मत प्राप्त गरे भने एमालेका बिनकुमार थामीले चार हजार ६०१ मत ल्याएका थिए। उनीहरूबीचको मतान्तर ३९९ थियो।

नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका लालबहादुर तामाङले तीन हजार ३०३ मत हासिल गर्दा नेपाली कांग्रेसका योविन्द्रसिंह तामाङले तीन हजार ७१४ मत ल्याई जीत हात पारे। ४११ मतले योविन्द्रले लालबहादुरलाई पछि पारेका थिए। 

उता धादिङको रुवी भ्याली गाउँपालिकामा राप्रपाका चेरुङ तामाङले एक हजार ४८७ मतका साथ जीत हात पारे भने माओवादीका रामसिंह तामाङ ९५३ मतका साथ दोस्रो भए। उनीहरूको मत अन्तर ५३४ थियो।

गोरखाको पालुङटार नगरपालिका र चुमनुव्री गाउँपालिकामा पनि माओवादी केन्द्रले झिनो मत अन्तरमा पराजय भोग्नुपर्‍यो। पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये ५० भन्दा बढी स्थानमा माओवादीले यसैगरी पाँच सयभन्दा थोरै वा त्यसकै सेरोफेरो मतमा रहेर पराजय भोग्नुपरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.