|

म्यानचेस्टर : बेलायतको म्यानचेस्टर एरिनामा भएको आत्मघाती बिस्फोटमा महिला र बालबालिका समेत गरेर २२ जनाले ज्यान गुमाएका छन्। ५९ जना घाइते छन्। घटनापछि थुप्रै बेपत्ता छन्। 

स्थानीय समयअनुसार सोमबार राती १० बजेर ३५ मिनेटमा बिस्फोट भएको थियो। म्यानचेस्टरमा पप कन्सर्ट चलिरहदाँ अमेरिकी गायक एरिइना ग्रान्डेको प्रस्तुती सकिएपछि बिस्फोट भएको थियो।

प्रहरीले एक पूरुष आक्रमणकारीले आत्मघाती बम बिस्फोट गराएको जानकारी दिएको छ। प्रहरीका अनुसार उनले घरमै बनाएको बम पड्काएका हुन्।

घटनापछि त्रसित भएर बेपत्ता भएकाहरुको प्रहरीले खोजी गरिरहेको छ। सामाजिक सञ्जालमा आफन्तहरुले यस घटनामा हराएका आफ्ना प्रियजनहरुको फोटो राखेका छन्।

बेलायतकी प्रधानमन्त्री थिरेसा मेइले यस घटनापछि आकस्मिक बैठक बोलाएकी छिन्। उनी म्यानचेस्टर आउने कार्यक्रम छ।

म्यानचेस्टरका प्रहरी प्रमुख इयान होपकिन्सले यो घटना म्यानचेस्टर शहरले सामना गर्नुपरेको अहिलेसम्मकै ठुलो दुर्घटना रहेको प्रतिक्रिया दिएका छन्। ‘हामीले यस विषयमा अनुसन्धान गर्दैछौ। ती आक्रमणकारीले एक्लो प्रयासमा बिस्फोट गराएका थिए वा यसका पछाडि अरु कसैको संलग्नता छ,’ उनले भनेका छन्।

घटनापछि घाइतेहरुलाई अस्पतालमा ओसार–पसार गर्न ६० वटा एम्बुलेन्स परिचालन गरिएको थियो। अहिले घाइतेहरुको शहरका ६ विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीहरुले घटना निकै दर्दनाक रहेको बताएका छन्। इम्मा जोनसोन आफ्ना १५ र १७ वर्षका दुई छोरा–छोरी लिनका लागि आफ्ना श्रीमानसहित एरिनामा आएकी थिइन्। ‘हामी सिढींको टुप्पामा थियौं। त्यति नै बेला सिसा पड्कियो। जहाँ मानिसहरु विभिन्न सामना बेच्दै थिए,’ इम्माले रेडियो म्यानचेस्टरसँग भनेकी छिन्,‘त्यसपछि पुरै भवनमा सन्नाटा छायो। सबैतिर धुवाँ मात्रै देखियो। लाशहरु छरिएका थिए।’

कन्सर्ट हेर्न आएकी टिनएजर अविगाली बाकरले बीबीसीसँग भनेकी छिन्,‘म आफ्नी बहिनीलाई खोजीरहेकी थिइन्। उसलाई कसेर समातेँ। चारैतिर मानिसहरुको रुवाई थियो। सबै भागिरहेका थिए। निकै दर्दनाक थियो।’

चार्लोट्टी च्याम्पबेलकी छोरी ओलिभिया कन्सर्टमा बिस्फोट भएपछि बेपत्ता भएकी छिन्। ‘ उनी केवल १५ वर्षकी छिन्। आफ्ना साथीहरुसँग कन्र्सट हेर्न गएकी थिइन्। कसैले भेट्नुभयो भने खबर गर्नुहोला,’ उनले बीबीसीसँग भनेकी छिन्।

पछिल्लो ३ वर्षयता बेलायतमा आतंककारी हमलाहरु बढ्दै गएका छन्। पछिल्ला  महिना प्रहरीले आतंककारीको अभियोगमा थुप्रैलाई पक्राउ गरेको छ।

गत मार्चमा बेलायती संसद् भवन नजिकै आक्रमण भएको थियो।

मिसिङ इन म्यानचेस्टर

ट्वीटरमा अहिले ‘मिसिङ इन म्यानचेस्टर’ ह्‍यासट्यागको बाढी आएको छ। कन्सर्टमा गएका व्यक्तिहरुका आफन्त तथा साथिभाईले बेपत्ता भएकाहरुको खोजीका लागि फोटोसहित नाम राखेका छन्।

फेसबुकले सेफ्टी चेक फिचर ल्याएको छ। कन्सर्टमा गएका व्यक्तिहरुले यस बटनमा क्लिक गरेर आफु सुरक्षित छु भन्ने जानकारी आफन्त तथा शुभेच्छुकलाई दिनसक्छन्।

बिस्फोटपछि रेलसेवा स्थगित

भिक्टोरिया रेलवे र ट्राम स्टेशन जाने गेट नजिक बिस्फोट भएपछि तत्कालका लागि यी स्टेशनमा रेलसेवा स्थगित गरिएको छ।

प्रहरीले मंगलबार १ बजेर ३२ मिनेट जाँदा क्याथड्राल गार्डेन एरिया नजिक अर्को शंकास्पद वस्तु भेटेको जानकारी दिएको थियो। यो वस्तु बिस्फोटक पदार्थ नभएको जानकारी प्रहरीले भर्खरै गराएको छ।

ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नहामले शोका बाबजुद यस घटनाबाट उठ्नका लागि पुरा शहर एकजुट हुने बताएका छन्। ‘हामीले यस्तै छौ। यस्तै गर्छौ। उनीहरुले जित्न पाउनेछैनन्,’ उनले भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.