|

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वमा सरकार बन्दा सत्ता साझेदार नेपाली कांग्रेससँग भएको सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरणका लागि मार्गप्रशस्त गर्ने अन्तिम तयारीमा देखिएका छन्। तर प्रचण्ड नेतृत्वमा सरकार बन्दादेखि नै कटु आलोचक रहँदै आएका एमाले अध्यक्ष ओली अहिले भने प्रधानमन्त्रीको राजिनामाको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। र, प्रधानमन्त्री प्रचण्डको राजिनामा रोक्ने प्रयासमा देखिन्छन्।

आखिर किन राेक्न खोजिरहेका छन् अोली प्रधानमन्त्रीको राजिनामा?

नेकपा एमालेसँगको सत्ता गठबन्धनबाट राजिनामा दिएर नेपाली कांग्रेससँगको सत्ता गठबन्धनबाट प्रचण्ड २०७३ साउनमा प्रधानमन्त्री बने। प्रधानमन्त्री भएको एक वर्ष नबित्दै सत्ता गठबन्धनको सहमतिअनुसार अहिले प्रधानमन्त्री दाहालले राजिनामा दिने चर्चा तीब्र छ। 

गत वर्ष सत्ता साझेदार दल माओवादी केन्द्र एमालेसँगको गठबन्धनबाट बाहिरिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन बाध्य भए। आफूले राजिनामा दिएको करिब एक वर्षपछि ओलीले प्रधानमन्त्री दाहालको राजिनामाको कुरा आइरहँदा प्रधानमन्त्रीले किन राजिनामा दिनुपर्‍यो अहिले? भन्दै त्यसको औचित्य खोजिरहेका छन्। मंगलबार राजधानीकाे नयाँबानेश्वरमा एमालेले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता ओलीले त्यस्तो प्रश्न गरेका हुन्।

पहिलो चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको निर्वाचनको मनोनयन गर्ने बेलामा प्रधानमन्त्रीले राजिनामा दिने भन्‍ने कुरा बुझ्न नसकेको नेता ओलीले बताए। 'अहिले नै प्रधानमन्त्रीले राजिनामा दिनुको कारण के हो? मैले बुझ्न सक्या छैन। पर्सि नीति तथा कार्यक्रम आउँदै छ। पाँच दिनपछि बजेट आउँदै छ', उनले भने, 'स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता गर्नेबेलामा प्रधानमन्त्रीले राजिनामा दिने रे! यस्तो अवस्थामा निर्वाचन कसरी सम्पन्न हुन्छ?'

वर्तमान अवस्थामा प्रधानमन्त्री परिवर्तनको खेलमा लागे निर्वाचनलगायतका कार्य प्रभावित हुने ओलीको तर्क छ। दोस्रो चरणको निर्वाचन सम्पन्न गरेर भए पनि २०/२२ दिनपछि प्रधानमन्त्रीले राजिनामा दिँदा हुने अवस्था रहे पनि प्रधानमन्त्रीले राजिनामा दिन हतार गरिरहेको अोलीले बताए। 'राजिनामा गर्न कस्तो हतारो? २०/२२ दिन पनि कुर्न नसक्ने? अहिलेको परिस्थिति पनि हेर्न नसक्ने?', ओलीले प्रश्न गरे, 'थाल खाऊँ कि भात खाऊँ भन्‍ने अवस्थामा हुनुहुन्छ प्रधानमन्त्री।' अोलीले नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै भने, 'भेट्यो कि उताबाट खै मेरो प्रधानमन्त्री भन्या छ अनि उहाँ पनि हतारमा हुनुहन्छ।'

उनले निर्वाचनअघि नै राजिनामा गरेको भए राम्रो हुनेसमेत बताए। प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै भने, 'अलिकति जिम्मेवार हुन सिक्नुस्। राजिनामा दिने नै भए अलिकति अगाडि नै दिए हुन्थ्यो नि!' पूर्व प्रधानमन्त्री ओलीले सरकारले निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने बेलामा प्रधानमन्त्री फेर्ने कार्यमा लाग्दा सरकार अस्थिरताको चक्रमा फस्ने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • krb

    Oli jattiko mature neta aru kohi raheenan desh ko sthirata ko la