|

  • सन्तोष अधिकारी-

गोरखाः गोरखाको सुलिकोट गाउँपालिका वडा नं. ३ का कृष्णकुमारी गुरुङ र सनमाया गुरुङ एउटै पदमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा फरक फरक पार्टीबाट चुनाव लडे। कृष्णकुमारी र सनमाया नाताले दिदीबहिनी हुन्।

कृष्णकुमारी सनमायाकी ठूलोबुबाकी छोरी हुन्। चुनावमा बहिनीले दिदीलाई हराइन। दिदी कृष्णकुमारी एमालेबाट र बहिनी सनमाया माओवादीबाट सुलिकोट गाउँपालिकाको उपाध्यक्ष पदका लागि चुनावमा भिडेका थिए। 

मनोनयन गरेको दिनदेखि सनमायालाई दिदीका परिवार अन्य सदस्यले उम्मेदवारी फिर्ता गर्न चर्कै दवाब दिएका थिए। ‘मलाई अहिलेसम्मकै चर्काे दवाब नै त्यही थियो’, सनमायाले टेलिफोन सम्पर्कमा भनिन्, ‘गाउँका अरू दिदीबहिनी, दाजुभाइ, काकाबाहरूले समेत  माओवादीबाट उम्मेदवार नबन्, दिदी एमालेबाट उपाध्यक्षमा नै चुनाव लड्दै छ, तँ के भा’को? दिदीलाई भोट माग्दै प्रचारमा हिँड्नुपर्ने मान्छे आफैँ दिदीको विरुद्ध चुनाव लड्ने? भनेर सम्झाउन खोजे तर मैले माओवादीबाट उम्मेदवारी दिइसकेकाले धोका दिन हुँदैन भन्ने बुझेँ।’ 

हुन पनि उनले दिदीलाई भारी मतान्तरले पछि पारिन्। सनमायाले चार हजार ५०१ मत प्राप्त गरिन् भने कृष्णकुमारीले ९४३ मत मात्र प्राप्त गरिन्। सनमायाको गाउँ माओवादीको युद्धकालीन आधार इलाकासमेत हो। सुलिकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले भारी बहुमतले जितेको छ।

‘अरूको दवाबलाई नसुनीकन प्रचारमा हिँडेँ। दिदीबहिनी यति मिलिन्थ्यो, आज फरक फरक पार्टीबाट चुनाव लडेर एउटाले जित्ने, एउटाले हार्नुपर्दा मनमा केही नरमाइलो लागे पनि दिदीबहिनीको सम्बन्ध बिग्रिएको छैन’, सनमायाले भनिन्, ‘जस्तो पहिले थियौँ, उस्तै रहन्छ।’ 

सनमायाका श्रीमानले युद्धकालमा सनमायाकै दवाबमा नेपाली सेनाबाट जागिर छाडेका हुन्। श्रीमान् अहिले सनमायाकै विजय ¥यालीमा हिँडिरहेका छन्। गाउँमा पिछडिएका महिलाहरूको हक र अधिकारका बारेमा डटेर लाग्ने उनको मुख्य उद्देश्य छ। 

गाउँपालिकाको उपाध्यक्ष जितेपछि मतदातालाई धन्यावाद दिन उनी अहिले बारपाकमा पुगेकी छन्।   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.