|

चितवन : भरतपुर महानगरपालिकामा १५ वटा वडाको मतगणना सकिँदासम्म नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले अग्रता लिइरहेका छन्। तर चर्चा उनीभन्दा झन्डै ४ हजार मतले पछि रहेकी रेणु दाहालको छ।

कांग्रेस-माओवादी गठबन्धनकी साझा उम्मेदवार तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री समेत भएकाले निर्वाचन सुरु हुनअघि नै चर्चाको केन्द्रमा थिइन्। निर्वाचनमा उनको जित-हार के हुन्छ? यसैमा धेरैलाई चासो छ। मतदाताले ९ दिनअघि खसालेको मतको पूरै परिणाम अहिलेसम्म आएको छैन्। मतगणना भइरहेको छ। गणना भएका प्रत्येक मतले जित-हारको संभाव्यता देखाएका छन्। संभाव्यता कहिले रेणुको पक्षमा देखिन्छ। कहिले देवी ज्ञवालीको पक्षमा। १४ वटा वडाको मतगणना हुन बाँकी छ। यस्तो अवस्थामा अन्तिम नतिजा कसको पक्षमा जाला? के रेणुले कमब्याक गर्न सक्छिन् वा लिड गरिरहेका ज्ञवाली नै विजयी हुन्छन्? अंकगणितले यस्तो भन्छ :

१३ नम्बर वडामा रेणुको प्रारम्भिक अग्रता

भरतपुरको १३ नम्बर वडाको मतगणना भइरहेको छ। ६ सय मत गन्दा रेणुले ३४९ मत ल्याएकी छिन् भने देवीप्रसाद ज्ञवालीले १७० मत ल्याएका छन्।

१३ नम्बर वडालाई माओवादी र एमाले दुबैले आफ्नो 'भोट बैंक' मान्छन्। रेणुलाई देवीप्रसादसँगको मतान्तर कम गर्न यस वडामा धेरैभन्दा धेरै मत ल्याउन जरुरी छ। यस वडामा प्रारम्भिक अग्रता लिएपनि ४ हजार मतले अघि रहेका देवी ज्ञवालीलाई पछि पार्न रेणुलाई सहज छैन्। लगभग ६० प्रतिशत मतगणना भइसकेको अवस्थामा अब देवी ज्ञवालीलाई पछि पार्न निरन्तर रेणुको पक्षमा मत आउनुपर्छ।

रेणुले सोचेजस्तो सबै वडामा देवी ज्ञवाली उनीभन्दा पछि पर्ने अवस्था पनि देखिदैंन। ४ हजार मतान्तरको ऋणको भारी रेणुलाई गह्रुगों पर्नसक्छ।भरतपुर वडा नम्बर २९ को मतपरिणाम हेर्दा कांग्रेसको मत ३० प्रतिशत मात्रै रेणुलाई खस्यो। बरु १२ प्रतिशतभन्दा धेरै मत एमालेलाई झरेको छ। राप्रपाले यतिखेर ५ हजार माथि मत ल्याउँछ भन्ने आँकलन फेल खाएको छ।

उसले मत नल्याउनु भनेको रेणुका लागि घाटा र एमालेका लागि फाइदा थियो। अर्थात एमालेले सोचेजस्तै भयो। गीतानगर क्षेत्रको वडा नम्बर ६ मा कांग्रेसको मत ६५ प्रतिशत खस्यो। अन्य क्षेत्रमा सालाखाला ४५ देखि ५० प्रतिशत मत खसेको देखिन्छ।

अब काँग्रेस र माओवादीका गढ भनिएको क्षेत्रमा अन्य वडाको औषत हेर्दा ५० प्रतिशत मत खस्ने देखिन्छ। रेणुलाई जित्न त्यतिले पुग्दैन।

देवी ज्ञवालीले पश्चिमका २८,२९ र १०,११,१२ वडा गन्दा करिव ५ हजार मतले लिड गर्ने दाबी गरेका थिए। यति मत आउँदा उनी जित नजिक पुग्ने थिए। तर सोचेजस्तो मत आएन। उनी ४ हजार मतले मात्रै अघि छन्। सोचेभन्दा १ हजार मत कम आएपनि एमालेका लागि परिणाम सन्तोषजनक छ।

पश्चिम क्षेत्रमा गणना बाँकी रहँदा ४ हजार मत आएपछि जित्न सकिन्छ भन्ने आँकलन काँग्रेस माओवादीको थियो। तर कांग्रेसको मत जसरी रेणुलाई आउनुपर्ने थियो। त्यो नहुँदा माओवादी निरासातर्फ उन्मुख छ। अब कांग्रेस कार्यकर्ताको ६० प्रतिशत मत आएको खण्डमा मात्रै रेणु विजयी हुने आधार खडा हुनेछ। अवस्था त्यस्तो छैन्। अहिले भरतपुर २७ मा ४० प्रतिशत हाराहारीमा काँग्रेसको मत रेणुलाई गएको छ। यही प्रतिशतमा कांग्रेस कार्यकर्ताको मत आयो भने रेणुलाई जित्न गाह्रो छ।

राप्रपाको बढ्दो मतमा भने माओवादीले सन्तोष मान्न सक्छ। वडा नम्बर २७ मा माओवादीभन्दा झन्डै तेब्बर मत राप्रपाले ल्याएको छ। यस वडामा माओवादी केन्द्रले जम्मा २२९ मत ल्याउँदा राप्रपाले ७७४ मत ल्याएको छ।

एमालेलाई कांग्रेसको ७६ मत जानु रेणुका लागि दुर्भाग्य हो। यही रेसियोमा मत एमालेलाई गयो भने रेणुलाई गाह्रो हुनेछ। माओवादीले विश्लेषण गरेजस्तो भोट आउन नसक्नु पनि रेणुका लागि खतराको घण्टी हो। एक विश्लेषक भन्छन्,' मत थप्नेसम्म न हो कांग्रेसले खन्याउनै परेपछि त समस्या पर्छ नै।'

आवश्यकता कांग्रेस कार्यकर्ताकै भोटको 

रेणुले जित्ने हो भने कांग्रेस कार्यकर्ताको मत थपिएर पुग्दैन। कांग्रेसले मत खन्याएकै हुनुपर्छ। अब चितवनमा नेकपा एमालेको पटक वडा खासै छैन। राप्रपा भने बलियो हुँदै जान्छ। यस्तो अवस्थामा रेणुको हारजितको फैसला कांग्रेस कार्यकर्ताले ९ दिनअघि खसालेको मतले नै गर्नेछ किनकी रेणुले जित्नका लागि प्रत्येक वडामा देवीको भन्दा औसत ३०० बढी मत उनको पक्षमा आउनुपर्छ।

वडा  १३, १४,२२ को पटिहानी, शिवनगर आसपास क्षेत्रलाई माओवादी बाहुल्य क्षेत्र मानिएको छ। यी वडाहरुमा रेणुको पक्षमा राम्रो मत झरेको हुनसक्ने आँकलन गरिएको छ।

१४ र  १५ नम्बरमा कांग्रेस माओवादीभन्दा केही मतले अघि रहने अनुमान छ। त्यसैले यी वडामा कांग्रेस कार्यकर्ताले रेणुको पक्षमा भोट खसाले वा खसालेन् भन्ने विषयले ठुलो अर्थ राख्छ।

वडा नम्बर १६ एमाले अगाडि हुनसक्छ । १७, १८, १७, २० शारदानागर गुञ्जानगर लगायत क्षेत्रलाई कांग्रेसको 'भोट बैंक' मानिन्छ। वडा नम्बर-६ मा जसरी सो क्षेत्रमा मत खस्यो भने रेणुको भारी हल्का हुन सक्छ। २१ नम्बर वडामा कांग्रेस लोकप्रिय भएपनि २२ वडामा मिश्रित परिणाम आउने विश्लेषकहरुको अनुमान छ।

वडा नम्बर २६ को नतिजा माओवादीका लागि प्रतिकुल हुनसक्छ। कांग्रेस-माओवादीबीच यस महानगरमा तालमेल गर्ने सहमित हुनपूर्व  एमाले र माओवादीले यस वडामा तालमेल गरेका थिए। माओवादीले यस वडामा एमालेका उम्मेदवारलाई समर्थन गरेको थियो। तर केन्द्रीय नेताहरुले नै कांग्रेससँग तालमेल गर्ने निर्णय गरेपछि सहमति भंग भयो। त्यसैले यस वडामा माओवादीको कम मत आउने अनुमान गरिएको छ।

अनुमान नै अनुमानबीच वडा नम्बर १३ मा रेणुको बढ्दो मतपरिणाम देखेर माओवादी समर्थकहरु उत्साहित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.