|

दमक : झापाको दमकमा निर्माण हुने भनिएको विश्वकै अग्लो बुद्धको मुर्ति निर्माणको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पूरा भएको छ। दमकको उत्तरी क्षेत्रमा निर्माण गरिने विश्वकै अग्लो बुद्धमुर्तिसहितको पार्क निर्माणको सम्पूर्ण डिपिआर पुरा भएको हो।

५ सय ४० फिटको बुद्धमुर्ति सहितको पार्क निर्माण गरिने र सो क्षेत्रलाई दमक विराट बुद्ध भिलेज नामाकरण गरिने दमक नगरपालिकाले जनाएको छ। त्यसको डिपिआर मल्टि डिसिप्लिनरी कन्सल्ट्याण्ट, डिजाईन कन्सल्ट्याण्ट र ए.नट आर्टीटेक्चरले संयुक्त रुपमा तयार पारेका हुन्।

डिपिआर तयार पार्ने टिमका प्रमुख दिपक थापाले मुर्ति निर्माणमा मात्रै ११ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको बताए। अन्य सबै संरचनाको निर्माण खर्च जोड्दा १७ अर्ब ९५ करोड रुपैयाँ अनुमानित खर्च लाग्ने थापाले बताए।

डिपिआर तयार भइसकेपछि लगानी बोर्ड मार्फत श्रोत जुटाउने प्रक्रिया थालिने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए। दमक नगरपालिकामा बुद्धको मुर्ति निर्माण गर्ने योजना आर्थिक वर्ष २०७२-७३ को सरकारको नीति तथा कार्यक्रमम परेको थियो।

बुद्ध जन्मेको पवित्र तीर्थस्थल लुम्बिनी, पर्यटकीय स्थल पोखरा, नेपालकै होचो भूभाग केचना र संसारकै अग्लो बुद्धको मुर्ति  स्थापना हुने दमकलाई अन्तर्राष्ट्रिय बुद्ध वृत्तसँगजोडिने सरकारको नीति तथा कार्यक्रममा जनाईएको थियो । डिपिआर प्रक्रिया पूरा भएपछि सक्षम निर्माण कम्पनी मार्फत निर्माण प्रक्रिया अघि बढाईने दाहालले बताए । बुद्धमूर्ति सहितको पार्क स्थापना गरेपछि दमकमा बौद्धमार्गी पर्यटकहरु आकर्षित हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.