|

विराटनगर :  सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेसँगै त्यसको जस लिने दाउमा विभिन्न दलका स्थानीय नेताहरु लागेका छन् ।

निर्वाचनलाई लक्षित गर्दै आफ्नो पार्टीको पहलका कारण महानगर बनेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आ–आफूले जस लिने होड चलेको हो। साविकको सदरमुकाम रंगेलीबाट १९७१ मा विराटनगर जिल्ला सदरमुका बनाइएको थियो भने आजभन्दा करिब १० वर्षअघि मात्रै विराटनगर उपमहानगरपालिका बनेको थियो।

यही विराटनगरलाई महानगरपालिका बनाउनुपर्छ भन्दै स्थानीय तहको पुनःसंरचना गर्दैगर्दा एमाले र माओवादी केन्द्रले आन्दोलन नै गरेका थिए। त्यसबेला नेपाली कांग्रेस चुप बसेको थियो।

सोही कारण कांग्रेसलाई विराटनगर महानगरपालिका बनाउने अभियानमा नकारात्मक बन्दै आएको आरोप लाग्दै आएको छ। तर, महानगरपालिका घोषणा भए लगत्तै कांग्रेसले आफ्नो अन्तिम प्रयासमा विराटनगर महानगरपालिका बनेको दाबी गरेको छ। ‘कांग्रेसले ५ वर्ष अगाडि नै विराटनगरलाई प्रदेशको राजधानी बनाउनुपर्ने र महानगरपालिका घोषणा गर्नुपर्ने निर्णय गरेको हो’ कांग्रेस विराटनगरका सभापति भीम पराजुलीले भने, ‘हामी माथि लगाइएका आरोप झुटो हो, सबैभन्दा पहिले हामीले विराटनगरलाई महानगरपालिका बनाउनुपर्छ भनेका हौं।’

यता मोरङ क्षेत्र नम्बर १ का सांसद ऋषि पोखरेलले सामाजिक सञ्जालमा आफ्नो स्टाटस लेख्दै महानगरबासीलाई बधाई दिएका छन्। यस्तै एमालेका युवा नेता वसिम आलमले कांग्रेसको हरेक विरोध र षड्यन्त्रकाबीच अहिलेको सरकारले विराटनगरलाई महानगरपालिका घोषणा गर्नु स्वागतयोग्य भएको बताए। ‘अहिले पनि कांग्रेसका केही मान्छेहरु टंकिसिनुवारीलाई विराटनगरमा गाभ्नु हुँदैन भन्दै आन्दोलन गरिरहेका छन्,’ आलमले भने, ‘यसको अन्तर्य भनेको महानगरपालिका बनाउनु हुँदैन भन्ने हो।’

यता माओवादी केन्द्र मोरङले मंगलबार एक कार्यक्रम गर्दै विराटनगरलाई महानगरपालिका बनाउने निर्णयको स्वागत गरेको छ। कार्यक्रममा बोल्दै माओवादीका १ नम्बर प्रदेश संयोजक गोपाल किराँतीले विराटनगरबाट कांग्रेस र एमालेबाट थुप्रै मन्त्री र प्रधानमन्त्री हुँदा पनि महानगरपालिका बन्न नसक्नु उनीहरुकै कमजोरी रहेको आरोप लगाए। ‘कांग्रेस त अहिले पनि महानगरपालिका बनाउनु हुँदैन भन्दै लागिरहेको छ,’ किराँतीले भने, ‘यहाँबाट ८/९ जना त प्रधानमन्त्री नै भइसके तर, विराटनगरको विकास गर्ने विषयमा कसैको चासो भएन अहिले प्रचण्ड नेतृत्वको सरकारले गर्‍यो, यो स्वागत योग्य छ।’

विजय गच्छदार स्थानीय विकास मन्त्रालय सम्हाले लगत्तै विराटनगरलाई महानगरपालिका बनाउने चर्चा झनै बढेको थियो। अहिले महानगर घोषणा हुँदा उक्त विराटनगरबासी गच्छदारलाई थोर बहुत जस जाने देखिन्छ। यद्यपी निर्वाचनको मुखमा महानगरपालिका घोषणा हुँदा विराटनगरका राजनीतिक दललाई आरोप प्रत्यारोप गर्दै यसको जस कसरी लिने भन्ने होड सुरु भएको छ।

महानगर घोषणा भएपछि दिपावली

यता विराटनगर उपमहानगरपालिका अब महानगरपालिका भएसँगै मंगलबार साँझ दिपावली गरेको छ। मोरङ व्यापार संघको आयोजनामा भएको दिपावलीमा यहाँका नागरिक समाजको सहभागिता थियो। महानगरपालिका घोषणा गर्नुपर्ने माग गर्दै यसअघि नै मोरङ व्यापार संघले निर्णय गरेको थियो।

विराटनगर महानगारपालिकाको लागि बुढीगंगा गाउँपालिकाको पुरानो टंकीसिनवारी सबै क्षेत्र साविकको जदाहा ३ नम्बर वडा विराटनगर महानगरपालिकामा गाभिएको छ। टंकीसुनवारीको जनसंख्या २० हजार र जदाहा ३ नम्वर वडाको करिव ८ हजार जनसंख्या रहेको छ। २०६८ सालको जनगणना अनुसार विराटनगर उपमहानगरपालिकको कुल जनसंख्या २ लाख ६१ हजार एक सय २५ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.