|

दमक : सीमान्तकृत समुदायमा पर्ने सन्थाल जातिका मतदाताहरु निर्वाचित प्रतिनिधिहरुले आफ्नो समस्या समाधान नगरेकाले यसपटक भोट हाल्ने कि नहाल्ने दोधारमा परेका छन्। झापाको कमल गाउँपालिका–२

स्थितमाझ गाउँमा बसोबास गर्ने सुकुम्बासी सन्थाल समुदायका मतदाताले पटक–पटक प्रतिनिधि चुन्दा पनि आफ्ना समस्याको समाधान गर्न नसकेको भन्दै मत हाल्ने कि नहाल्ने भन्ने दोधारमा परेका हुन्।

प्रत्येक पार्टीको कार्यक्रममा लोपोन्मुख सन्थाल समुदायको नृत्य प्रस्तुत गर्दै आएका माझ गाउँका स्थानीयले नेताहरु चुनावको बेला मात्र गाउँ छिर्ने र अरु बेला आफूहरुलाई बेवास्ता गर्ने गरेको बताउँछन्। आफूहरुलाई चुनावमा प्रयोग मात्र गर्ने गरेको उनीहरुको आरोप छ।

माझ गाउँका सन्थाल समुदायका माझिहडाम (मुख्या) सुक्ला टुडुले दलका नेताहरुले जहिले पनि आफूहरुलाई प्रयोग मात्र गर्ने गरेको बताए। उनले भने, ‘नेताहरुको बानी नै यस्तो छ, जब चुनाव आउँछ, त्यस बेलामात्र गाउँ पस्छन् नभए गाउँ नै आउँदैनन्, हाम्रो भोट मात्र लान्छन्, त्यसले यसपटक त भोट हालौं कि नहालौं भन्नेमा छौं।’

उनले आफूहरुका शिक्षा र स्वास्थ्य नै प्रमुख समस्या रहेको उनी बताउछन्। भन्छन्, ‘हाम्रो समुदायमा धेरैजसो मानिसहरु गरिब छन्, जीविको पार्जन गर्न दैनिक अर्काको हलि बस्नुपर्छ, आफ्ना छोराछोरी पढाउन सक्ने अवस्था पनि छैन, त्यसैले यहाँबाट हामीले भोट हालेका व्यक्तिले हाम्रो क्षेत्रमो स्वास्थ्य शिक्षा र खाने पानीमा विशेष जोड दिनुपर्छ।’

दलहरु भोट माग्न गाउँमा आए पनि अहिलेसम्म मतदाता शिक्षकाका लागि निर्वाचन आयोग आउन नसकेको बताए। उनले भने, ‘बरु दलहरु भोट माग्दै झन्डा गाड्दै यहाँसम्म आएका छन्, निर्वाचन आयोग मतदाता शिक्षा लिएर आएको छैन, अरु ठाउँका मान्छेले भन्दा अहिलेको मतपत्र धेरै गाह्रो खाले छ रे, दिउँसोको समयमा मतदाता शिक्षाका लागि आउँछन् होला दिउँसो हामी काममा जान्छौं।’

यो क्षेत्रमा २५ घर परिवार सन्थाल समुदायको बसोबास छ। यहाँका केही सन्थालको नागरिकता अहिलेसम्म बन्न नसकेको उनले बताए। उनले भने, ‘हामी सीमान्तकृत समुदायका नागरिक हौं, जसले पनि हामीलाई हेप्छन्, हामीले नगरिकता नभएकाको धेरै नागरिकता बनाउने कोसिस गर्यौँ तर हामीलाई कसैले पत्याएन, अब भोट माग्न आउनेले यो सबै ख्याल गरेर आउनुपर्छ।’

सोही ठाउँका ६० वर्षीय वृद्ध मंगल टुडु पनि यसपटक सधैं भोट दिँदै गरेको पार्टीलाई भोट नदिने बताउँछन्। उनी भन्छन्, ‘हामीले पहिला पटक–पटक एउटै पार्टीका नेतालाई भोट दिएर जितायौं, अब हामी पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट दिन्छौँ, अहिलेसम्म हामीलाई दलहरुले पैसा दिएमा जहाँ पनि भोट हाल्छन् भन्ने सम्झेका छन्, तर अब हाम्रो ठाउँको विकास गर्ने नेताको छनोट गर्छौं।’

सन्थालहरु अझै पनि भूमिहीन भएर बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘हामीले धेरै संघर्ष गर्यौं तर पनि अहिलेसम्म धनीपुर्जा पाएनन्, हाम्रा लागि धेरैले यही विषयलाई चुनाव जित्ने कुरा बनाए, उनीहरुले हामीलाई भोक चलन गरेको जग्गाको धनीपूर्जा दिन्छौँ भने तर अहिलेसम्म हामी सुकुम्बासी नै बन्नु परेको छ।’

यहाँबाट मत लिएर धेरैले जितेर गए पनि आफूहरु अझै गरिबीबाट माथि उठ्न नसकेको स्थानीय सन्थाल समुदायका युवा महेश हस्दा बताउँछन्। उनी भन्छन्, ‘हामीले धेरैलाई जितायौं, तर हामी जहाँको त्यही छौं, हाम्रा बालबच्चाले स्कुल जान पाएका छैनन्, अरुकोमा गोठाला नगरे खान पुग्दैन कसरी बालबालिकालाई विद्यालय पठाउनु, रोजगारिको बाटो छैन, साहुकैमा काम गर्न जानपर्छ अझैसम्म।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.