अन्य विकल्प हुँदा हुँदै रुख काट्न लागेको स्थानीयको आरोप

|

उदयपुर : धमाधम निर्माण भइरहेको सुनसरीको दुहबी –मकवानपुरको हेटौंडा विद्युत् विस्तारको लागि उदयपुरको वन क्षेत्रमा ठूलो परिमाणमा सालका रुख काटिने भएको छ। हेटौडा–ढल्केबर–दुहबी ४ सय केभी विद्युत् प्रसारण लाइन निर्माणको क्रममा उदयपुरको दुई सामुदायिक वन क्षेत्रबाट रुख काटिने भएको हो।

साविक तपेश्वरी गाविसका दुई सामुदायिक वन रुख काटिने भएको हो। जिल्ला वन कार्यालय उदयपुरका अनुसार दुई वन क्षेत्रबाट ३ हजार ६ सय हरियो सालको रुख काटिने भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार हरियो रुख काट्न लागिएको जिल्ला वन कार्यालय उदयपुरका सूचना अधिकारी लालबाबु यादवले बताए।

‘४ सय केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि तपेश्वरीका बेला जनशक्ति र अमर ज्योति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रका ३ हजार ६ सय ५१ रुख कटान गरिने तयारी भएको छ।’ सूचना अधिकारी यादवले भने, ‘विद्युत् विस्तारका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार रुख कटान गर्न लागिएको हो।’ यादवका अनुसार रुखको लगत लिने काम सकिएको छ भने कटानको अनुमति दिने तयारीमा वन कार्यालय छ।

यादवका अनुसार वन ऐनअनुसार विद्युत् प्रसारण लाइन निर्माणका लागि एक रुख बराबर २ विरुवा लगाउनुपर्ने कानुनी प्रावधान रहेकाले त्यसको विषयमा टुंगो लाग्न बाँकी रहेको छ। विद्युत् प्रसारण लाइन हुने करिब २ किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रुख काट्नु पर्नेछ। वन क्षेत्रभन्दा तल त्रियुगा नदी किराना हुँदै विद्युत् प्रसारण लाइन निर्माण गर्ने विकल्प हुँदा हुँदै पनि विद्युत् विस्तारको नाममा ठूलो संख्यामा हरियो

सालको रुख काटिन लागेको साविक तपेश्वरीका रेडक्रस सभापति धुर्व कोइरालाको आरोप छ, ‘त्रियुगा नदी किराना हुँदै विद्युत् प्रसारण लाइन विस्तार गर्ने प्रशस्त ठाँउ हुँदा हुँदै पनि विकल्पको खोजी नगरिकन वन क्षेत्रबाट विद्युत् विस्तार गर्ने तयारी गरिएको छ,’ कोइरालाले भने, ‘उदयपुरको वन अतिक्रमणको चपेटामा परेको वेला संरक्षण नभएर सखाप पर्ने योजना देखिन्छ।’

हेटौंडा–दुहबी ४ सय केभी प्रसारण लाइनको विस्तारको दूरी २ सय ९० किलोमिटरमध्ये उदयपुरको २२ किलोमिटर दूरी पर्दछ। जुन क्षेत्र उदयपुरको बेलका नगरपालिका १ र २ तपेश्वरिस्थित अमरज्योति र बेलका सामुदायिक वन क्षेत्र हो। त्यसमा पनि ६ किलोमिटर वन क्षेत्रमा पर्ने भएकाले जिल्ला वन कार्यालयले रोकेको थियो। हेटौडा, ढल्केबार, दुहबी विद्युत् विस्तार आयोजानका प्रमुख राधेशरण महत्तले उदयपुर वन कार्यालयले आयोजनाको काम ठप्प बनाएको आरोप लगाउँदै आएका थिए।

विद्युत् विस्तार आयोजनाले तीन ठाँउमा डिभिजन छुट्याएर कार्य विभाजन गरी काम अगाडि बढाएको छ। हेटांैडा, ढल्केबार र सुनसरीको इनरुवामा फिल्ड कार्यालय नै स्थापना गरेको छ। सुनसरी उदयपुर हेर्ने इनरवा डिभिनका प्रमुख निर्मल झाले सरकारको उच्च प्राथमिकतामा रहेको उक्त अयोजनामा निरन्तर रुपमा काम भइरहेको बताए। हेटौंडादेखि दुहविसम्म जम्मा ७ सय ९२ वटा ठूला टावर निर्माण गर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.