|

चितवन : ‘मुसहर बस्तीको घरमा जस्ताबाट पानी चुहिन्छ पहिलो काममा त्यो फेर्छु, अनि अरु काम।’ मंगलबार चितवनको रत्ननगरमा शपथ लिने क्रममा भगन्तियाले भनिन्। मंगलबारको शपथ लिन उनी रातो साडी र रातै ब्लाउजमा सजिएकी थिइन्। देख्ने बिक्तिकी हँसिलो अनुहारबाट मीठो मुस्कान दिइन्।

चिन्नु भो? ‘के त अस्ति हाम्रो घरमा आको पत्रकार हैन’ हाँस्दै भगन्तियाले भनिन्। वैशाख २१ गते उनको घरमा पुग्दा भर्खरै गाउँमा मत मागेर आइपुगेकी थिइन्। थकित देखिन्थिन्, तर त्यो थकान उनले जितसँगै भुलेझैं देखिन्थ्यो। मंगलबार भेट्दा निर्वाचन अधिकृत गीता गुरुङबाट पाएको प्रमाणपत्र हातमा थियो। निधारमा रातो टीका टलक्क टल्किएको थियो।

जित्नु भो, अब के गर्नुहुन्छ त?

शपथ लिने तयारीमा रहेकी उनले अगाडि थपिन्, जस्ता फेरेपछि गाउँमा एउटा शौचालय नबनाई भा छैन। ‘गाउँलेको घरमा झ्याल–ढोका छैन, त्यो पनि फेर्नु छ,’ अनि मात्रै गाउँको सडक र अरु काम गर्ने हो।’

उनले आफ्नो गाउँ साँघुरो भएकाले पल्लोपट्टि बस्तीमा सार्ने योजना पनि रहेको सुनाइन्। पहिले मुसहर भनेर हेप्नेको पनि नेता भएकोमा उनी खुसी थिइन्। रत्ननगर नगरपालिकाको वडा नम्बर ७ मा उनी दलित महिला सदस्यमा जितिन्।

वडा नम्बर ८ मा उठेकी बास्मती माझी मुसहरले हारेपछि उनी जित्नेमा एक्ली मुसहर हुन्। अब जनताको काम गर्न पाएकाले खुसी भएकी उनी राम्रो गरेर देखाउने बताउँछिन्। सबैको साथ पाएर जितेकोमा उनले धन्यवाद दिँदै भनिन्, ‘अब म मुसहरको मात्रै होइन सबैको मान्छे।’ साविक बछौली गाविसको ७ मालपुरमै जन्मिएकी भगन्तिया अहिले ४३ वर्षकी भइन्। तीन सन्तानकी आमा उनी गाउँकी सामाजिक अगुवा हुन्।

श्रीमान् वीरझन मुसहर (माझी) सवारी चलाउँछन्। २ छोरीको बिहे भयो भने छोरा विसुना माझी पनि चालक भइसके। १८ वर्षको उमेरमा बिहे भएको थियो। ‘मागेको हैन, लभ परेको,’ लजाउँदै भनिन्। अन्य कुरा खुलाउन चाहिनन्।  उनले एउटै गाउँमा कोठामा सपरिवार बस्ने अवस्थाको अन्त्य गर्ने सोच राखेको समेत उल्लेख गरिन्।

यस्तो छ भगन्तियाको मत

यसपालि पहिलो पटक रत्ननगरमा २ जना मुसहर चुनावी मैदानमा थिए। रत्ननगर वडा नम्बर ८ को वडा सदस्य दलित महिलाबाट बास्मती मुसहर र रत्ननगर वडा नम्बर ७ बाट दलित महिला वडा सदस्यमा भगन्तिया मुसहर (माझी) चुनावी मैदानमा थिए। वैशाख ३१ चुनावी परिणाममा भगन्तियाले जितिन्।

वास्मती माओवादी केन्द्रबाट र भगन्तिया कांग्रेसबाट उठेकी  थिइन्। उनीहरुले जिते पनि विकास गर्ने र नजिते पनि विकासै गर्ने योजना बनाएका थिए।

एकजनाले जिते पनि बास्मतीले हारिन्। भगन्तियाले ८ सय २७ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी माइली सुनारले ७ सय १० मत ल्याइन्। माओवादीकी उम्मेदवारको जम्मा १ सय ९१ मत आयो।

यता, बास्मती तीन ठूला दलमध्ये तेस्रोमा परेर हारिन्। उनले १ सय ४० मत ल्याउँदा एमालेकी कुमारी विकले ८ सय ३१ मतको साथमा विजयी भइन्। प्रतिद्वन्द्वीका रुपमा कांग्रेसकी दुर्गा कुमारी विकले ५ सय ४६ मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.