|

बुटवल :  बुटवलमा औषधिको थोक पसलमा आगालागी हुँदा ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको खेम इन्टरप्राइजेज र ओमी फार्मामा मंगलबार राति आगलागी हुँदा ८ करोड बराबरको क्षति भएको पीडितले बताएका छन्।

राति करिब साढे २ बजे लागेको आगो बिहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो। पहिलो तलाको पूर्व तर्फबाट औषधिको स्टोरमा लागेको आगो चौथो तलासम्म पुगेको थियो। आगलागीबाट सम्पूर्ण औषधी जलेर नष्ट भएका छन्।

रातको समयमा आगलागी भए पनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए। साढे २ बजे आगो लागेको जानकारी बुटवल उपमहानगरपालिकामा दमकललाई दिए पनि पीडितले स्कुटीमा पुगेपछि मात्र राति दमकल आगो निभाउन आएको पीडित राजु पुनले जानकारी दिए।

चौथो तलमा ६ जना सुतेका थिए। राति विद्युत् आउने र जाने भएको र एकैछिनमा नै आगोलागी सुरु भएको पुनको भनाइ छ।

चौथो तलामा रहेका ६ जनालाई छिमेकीको छतबाट बाहिर निकालिएको थियो। घरमा भएका ६ वटा सिलिण्डर र इन्भटर ब्याट्रीमा कुनै पनि क्षति नहुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको पीडितको भनाइ छ। खेम इन्टरप्राइजेजका सञ्जालक खेमराज पुनः काठमाडौं गएको भए पनि परिवारमा छोरा राजु पुनसहित आमा बुहारीहरु रहेका थिए। खेमराज पुन औषधि व्यवसायी संघ लुम्बिनीका पूर्व अध्यक्षसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.