|

लहान : सिरहाको लहान नगरपालिका १२ का ३५ वर्षीय लगना मल्लिकलाई सिरहा जिल्ला अदालतले बलात्कारको अभियोगमा पाँच वर्ष कैद सजायसहित १५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ।

सिरहा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलाशले मल्लिक विरुद्धको बलात्कार अभियोग ठहर गर्दै फैसला सुनाएको जिल्ला अदालतका रजिष्ट्रार विनोद खतिवडाले जानकारी दिए।

विवाहिता २० वर्षीया महिलालाई मल्लिकले गएको मङ्सिर १९ गते बलात्कार गरेको आरोपसहित पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस ७ गते जाहेरी दिएपछि मल्लिक पक्राउ परेका थिए।

पीडित पक्षबाट लिखित जाहेरी परेपछि प्रहरीले महिलाको त्यही दिन लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा  स्वास्थ्य परीक्षण गरी मल्लिकलाई पक्राउ गरेर जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सिरहा जिल्लाभर पछिल्लो फागुनसम्म जबर्जस्ती करणी अन्तर्गत १७ र र जबर्जस्ती करणी उद्योग अन्तर्गत ६ जना विरुद्ध कानुनी कारबाही गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.