|

लहान : स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पार्टीको पकड बलियो बनाउन सत्तारुढ नेपाली कांग्रेसले सिरहा क्षेत्र नं. १ को आयोजनामा बुधबार लहान नगरपालिकामा पर्ने  २४ वटा वडामा पुग्ने गरी मोटरसाइकल र्याली निकालेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी लहान नगरसभापति सुनिलकुमार महतो र

सिरहा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अक्षमितलाल चौधरीको नेतृत्वमा लहानबाट र्याली निस्किएको हो। लहानबाट निस्किएको र्यालीमा करिब पाँच सय मोटरसाइकलमा १ हजारजना सहभागी रहेको नेपाली कांग्रेस सिरहाका पूर्वजिल्ला सदस्य सन्तोष सुवेदीले बताए।

नगरका २४ वटै वडा पुग्दै

स्थानीय तहको निर्वाचनको लहान नगर क्षेत्रमा पहिलो चरणको प्रसारप्रसारअन्तरगत निकालिएको र्याली लहान पालिकाअन्तरगत पर्ने पडरिया, सिसवनी, भोटिया टोल, बस्तीपुर, मलहन्मा गोविन्दपुर, भदैया, ढोढना, तरेगना गोविन्दपुर, नगरको बजार क्षेत्रभित्र पर्ने १० वटा वार्ड, सोनमती मझौरा, भवानीपुर कालाबञ्जर र ब्रहमाण गोर्छारी

पुग्ने सुवेदीले बताए। मधेसकेन्द्रित दलहरुले चुनाव नै हुन नदिने भन्दै धम्क्याइरहेका बेला मतदाता जनतालाई ‘चुनाव हुँदै छ है’ भन्ने सन्देश दिन र्‍याली निकालिएको कांग्रेसले जनाएको छ।

कांग्रेसबाट लहान नगरप्रमुखमा ९ आकांक्षी

स्थानीय तहको पुनःसंरचनाअन्तरगत सिरहामा कायम गरिएका १० गाउँपालिका र ७ नगरपालिकामध्ये सबैभन्दा पुरानो र जिल्लाकै मुख्य ठाउँ मानिने लहानमा कांग्रेसबाट पहिलो प्रमुख बन्ने आकांक्षीहरु दर्जनको हाराहारीमा पुगेका छन्। लहान नगरपालिकाको प्रमुख पदका लागि कांग्रेसबाट रामसुन्दर चौधरी, सुनिलकुमार महतो, महेश चौधरी, अक्षमित लाल चौधरी, अरुण के.सी, फुलेश्वर महतो, देवनाथ यादव, हरिदेवी चौधरी र कन्हैया गुप्ता रहेको सिरहा कांग्रेसका सभापति रामचन्द्र यावले जानकारी दिए।

को हुन् आकांक्षीहरु?

लहान नगरपालिकामा कांग्रेसकोतर्फबाट प्रमुख पदमा आकांक्षीहरु जिल्ला उपसभापतिदेखि नगरसभापति, क्षेत्रीय सभापतिसम्म रहेका छन्। प्रमुखका आकांक्षी महतो पछिल्लो एक वर्षदेखि लहान नगरसभापतिको रुपमा काम गरिरहेका छन्। महतो लहान उद्योग वाणिज्य संघको बहालवाला अध्यक्षसमेत हुन् भने रामसुन्दर चौधरीले

नेपाली कांग्रेसको जिल्ला उपसभापति चलाइसकेका छन् भने अक्षमित सिरहा १ को बहालवाला सभापति हुन्। महेश संस्थागत विद्यालय सञ्चालकसँगै लहान नगरको कांग्रेसको निवर्तमान सभापति हुन्। त्यसैगरी, के.सी. लहानमा मजदुरहरुमा भिजेका व्यक्ति हुन्। 

विगतमा ककसले जिते?

वि.सं. २०३९ सालमा तत्कालीन व्यवस्थाअनुसार नगरपञ्चायत घोषणा भएको लहानमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि भएको पहिलो स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट प्रमुख लगनलाल चौधरी र उपप्रमुखमा प्रकाश के.सी. चुनिएका थिए भने दोस्रो पटक २०५४ सालमा नेकपा एमालेबाट मुन्नि साह प्रमुख र राजेन्द्र महतो

उपप्रमुखमा चुनिएका थिए। यो पल्ट चौधरी पुनः राप्रपाबाट नै पुरानो साख फर्काउने गरी प्रमुख पदको उम्मेदवार बन्ने चर्चा छ भने साह एमाले छोडेर माओवादी केन्द्र हुँदै पुनः एमालेमै फर्किई प्रमुखको उम्मेदवार बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.