|

चितवन : भरतपुर महानगरपालिकामा पछिल्लो ३ वडाको मत परिणाम क्रमश कांग्रेस माओवादीको गठबन्धनबाट प्रमुखकी उम्मेदवार रेणु दाहालको पक्षमा आइरहेको छ। पछिल्लो पटक भरतपुरको वडा नम्बर १३ र वडा नम्बर २६ को मतगणनामा रेणुले १ हजार १७० मत बढी ल्याइन्।  यो उनका लागि सुखद खबर हो।

अहिले वडा नम्बर १४ को मतगणनाको १२०० मत गन्दा उनको पक्षमा १८२ मत बढी खसेको छ। रेणुले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर ३८३६ बाट घटाएर २४८४ मा झारेकी छिन्। १८१४ गन्दा उनले यही वडामा मात्रै २६५ मत बढी ल्याइन्। यही तरिकाले जाँदा उनले ज्ञवालीलाई भेट्न अब ४,५ वडा भए पुग्छ। तर अरु वडामा यसैगरी मत आउने संभावना कम छ। १४ नम्बर वडाको पनि पुरै आउन बाँकी छ।

अब मत गणना गर्न ११ वडा बाँकी छ। वडा नम्बर १६, २०, २३ लगायतमा आफूले जित्ने दावी एमालेले गर्दै आएको छ। २४ र २५ नम्बर वडाको नतिजा मिश्रित हुनसक्छ। अहिले माओवादीको पकड क्षेत्र मानिएको वडाबाट आएको मतलाई मात्रै विश्लेषण गरेर रेणुले जित्ने विश्लेषण गर्नु विश्वसनीय हुन सक्दैन। उनले जित्नका लागि कांग्रेसको पकड क्षेत्र वडा नम्बर १७ को मत परिणाम हेर्नुपर्छ त्यसपछि आधार तय हुन्छ। रेणुका लागि वडा नम्बर १७ को मत परिणाम पर्ख र हेर (वेट एण्ड सी) नै हो। 

वडा नम्बर १६ मा एमालेले आफ्नो मत बढी आउने दावी गर्दै आएको छ तैपनि कांग्रेसको प्रभाव समेत रहेकाले कांग्रेसको मत आउने आशा एमालेको छ।  कांग्रेसले चुनावी तालमेलप्रति इमान्दारिता देखाएको खण्डमा रेणु नै अगाडि आउन सक्छिन् ।

अब रेणुले औसतमा हरेक वडाबाट २२५ मत बढी ल्याउनुपर्छ। कांग्रेसले साथ दिएको खण्डमा उनको जित सहज छ। तर कांग्रेसले हात भिकेको खण्डमा रेणु पछाडि पर्छिन्। यो जोड घटाउ एमालेमा पनि लागु हुन्छ। एमाले र माओवादीको अहिले टेक्ने आधार भनेकै कांग्रेस हो।

भरतपुर २६ मा माओवादी केन्द्रले नसोचेको मत पायो। यस वडामा वडाअध्यक्षका लागि एमाले र माओवादीबीच तालमेल भएको थियो। एमालेसँग तालमेल गर्ने वडा अध्यक्षका उम्मेदवारलाई माओवादी केन्द्रले कारवाहीको घोषणा गरेको थियो। अहिले उनैले जितेका छन् भने रेणुले पनि  ५०० बढी  मत पाइन्।

अब गन्न बाँकी वडाहरु अधिकाँश कांग्रेसको आधिपत्य भएको क्षेत्र हो। कांग्रेसका जिल्लाका हस्ती नेताहरु यही क्षेत्रका छन्।  एकदुई वडामा माओवादीको प्रभाव अझै राम्रो छ। त्यसैले रेणुका लागि गठबन्धन अनुसार भोट आउँदा डराउनुपर्ने देखिंदैन।

तर शुरुआती मतपरिणामले भरतपुर वडा नम्बर ६ बाहेक अरु वडामा कांग्रेसको भोट एमालेलाई गएकाले पनि ढुक्क हुने अवस्था देखिदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.