|

उदयपुर : उदयपुरमा इजाजत पत्र नलिई जथाभावी बिक्री गरिएका सुर्तीजन्य पर्दाथ जफत गरिएको छ। मंगलबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशजंग कार्कीको नेतृत्वमा भएको बजार अनुगमनमा सार्वजानिक स्थलहरुमा खुलेआम सुर्तीजन्य पर्दाथ बेचबिखन रोक्न पसलबाटै जफत गरिएको हो।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ११ उपदफा (६) अनुसार नेपाल सरकारबाट बिक्री वितरण गर्न इजाजत पत्र लिनुपर्ने उल्लेख छ। यसै नियालाई आधार मान्दै गाईघाट बजारका एक दर्जनभन्दा बढी पसलबाट सुर्तीजन्य पदार्थ जफत गरिएको हो।

०७३/१०/६ गतेको मन्त्रिपरिषद्को निणर्र्यअनुसार सुर्तीजन्य पदार्थको बिक्रीवितरण मर्यादित बनाउन सार्र्वजनिक  सूचना जारी गरी  उदयपुरमा कडाइ गर्न थालिएको छ। बजार अनुगमन गर्दै सहायक सिडओ कार्कीले भने,

‘व्यवसाय कारोबार दर्ता गर्ने निकायमा नै सुर्तीजन्य पदार्थ बेचबिखन गर्न अनुमति लिनुपर्ने हुन्छ, नलिए बेचबिखन गर्न पाइँदैन।’ कार्कीका अनुसार कानुनी प्रक्रिया नपुर्‍याई खुलेआम सुर्तीजन्य पदार्थ कारोबार गरिरहेका पसलबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइएको छ।

गाईघाटको असारी लाइनका एक दर्जन पसलबाट ५० हजारभन्दा माथिको मूल्य पर्ने सुर्तीजन्य वस्तु नियन्त्रणमा लिइएको हो। ‘दर्ता नै नभइकन सञ्चालन भएका साना पसलमा खुलेआम बिक्री वितरण भएको सुर्तीजन्य पदार्थ जफत गरिएको छ,’ अनुगमनमा पुगेका कार्कीले पुन भने, ‘पहिलो पटक जफत मात्र गरेका छौं, पुनः पछि गएर अनुगमन गर्दा त्यस्तै पाए पसल नै बन्द गरिदिन्छौं।’

जिल्लाको गाईघाट, कटारी, बेल्टार, घुर्मी, नेपालटार, सुन्दरपुर, रामपुर, रुपाटार  लगायतका बजारी क्षेत्रमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने स्थानबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपले बन्देज गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियालाल यादवले बताए।

‘उदयपुरका बजार सुर्तीजन्य पदार्थ खुलेआम बिक्री वितरण भइरहेको छ, ‘यादवले भने, ‘त्यसलाई पूर्ण रुपमा बन्द गराउन जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय तथा विभिन्न सरोकारवाला निकायहरु एक भएर लागि परेका छौं।’

बजार अनुगमनको क्रममा अठार वर्ष उमेर नपुगेको व्यक्तिलाई, गर्भवती महिलालाई,  सुर्र्तीजन्य पदार्थ बेच्न नपाइने समेत सुझाव दिइएको छ। पसलबाट इजाजत लिएर सुर्तीजन्य पदार्थ बिक्री अवाश्यक पर्ने मापदण्डबारे पनि सुझाव दिइएको छ।

गएको २०७३ फागुन मसान्तभित्र सुर्तीजन्य  पदार्थको व्यवसाय, कारोबार तथा बिक्री वितरण गर्नेले दर्ता एवं इजाजतपत्र लिनलाई आह्वान गरिए पनि उदयपुरका व्यापारीहरुले चासो नदेखाएकाले अनुगमनको अभियानै चलाउनुपर्ने सूचना अधिकारी यादवको भनाइ छ। बजार अनुगनको क्रममा गाईघाटका पसलबाट म्याद गुज्रेका खानेतेल, लगायत अन्य सामान पनि जफत गरिएको छ।

व्यापारीको भागाभाग

बिहानै बजार अनुगमन टोली बजारमा पसेर छापा मार्न थालेपछि स्थानीय साना तथा खुद्र व्यापारीहरुको भागभाग मच्चिएको थियो। खुलेआम रुपमा सुर्तीजन्य पदार्थमा पर्ने, गुट्खा, खैनी, पराग लगायतका बिक्री वितरण गर्नेहरु पसलै बन्द गरेर भागभाग गरेका थिए।

‘गाईघाटको बेल्टारचोकबाट असारी साईसम्म छड्के अनुगमन गर्दा धेरैजसो पसलेहरुले पसल नै बन्द गरेको देखियो,’ बजार अनुगमनसँगै रहेका पत्रकार महासंघ उदयपुरका अध्यक्ष भोटराज राईले भने, ‘व्यापारीहरु नै फरार भएको पनि देखियो।’

अनुगमनको क्रममा पसल दर्ता नभएको, कति ठाँउमा नामसमेत नराखिएको, म्याद सकिएको विभिन्न उपभोग्य समानहरु समेत बिक्री वितरण भइरहेको फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.