|

एजेन्सी : म्यानचेस्टरमा भएको आत्मघाती बम बिस्फोट कसैको एक्लो प्रयासमा संभव भएको थियो या यसका पछाडि धेरैको संलग्नता छ। अहिले यस विषयमा धेरैको चासो छ। म्यानचेस्टर शहरमा प्रहरी प्रमुख इयान होपकिन्सले घटना एक्लो प्रयासमा संभव भयो वा यसका पछाडि अरु धेरैको हात छ भन्ने विषयमा छानविन भइरहेको प्रतिक्रिया दिएका छन्।

म्याचनेस्टर एरिनामा कन्सर्ट चलिरहेका बेला अमेरिकी गायक एरिइना ग्रान्डेको प्रस्तुती अन्त्य भएपछि बिस्फोट भएको थियो। शान्त र सुरक्षित राष्ट्रको पहिचान बनाएको बेलायतमा पछिल्लो ३ वर्षदेखि सुरक्षा खतरा बढेको छ। गत मार्चमा बेलायतको संसद् भवन (वेस्ट मिनिस्टर) नजिकै आक्रमण भएको थियो। ८२ सेकेन्डसम्म चलेको त्रासदीपूर्ण हमालामा ५० भन्दा धेरै घाइते भए। जसमध्ये ४ को अवस्था अझै गम्भीर छ।

म्यानचेस्टरमा सोमबार भएको आक्रमण वेस्टमिनिस्टर घटनाभन्दा निकै कारुणिक छ। किनकी यस घटनामा ८ वर्षकी बालिकासहित २२ जनाले ज्यान गुमाएका छन्। ६४ जना घाइते छन्। जसमध्ये २४ जनाको अवस्था गम्भीर छ।
बेलायती गृहमन्त्री एम्बर रुड यस घटनामा कुनै एक व्यक्तिको मात्रै संलग्नता नरहेको धारणा राख्छिन्। उनले ठुलै समुहको योजना अनुसार घटना घटेको हुनसक्ने बताएकी छन्। प्रहरीले २२ वर्षका सलमान अवेदीले आत्मघाती बिस्फोट गराएको जानकारी दिएको छ। लिबियाली मूलका अवेदी बेलायती नागरिक हुन्। उनी घटना हुनभन्दा केहि दिनअघि मात्रै लिबियाबाट बेलायत फर्किएको बताइएको छ।

उनले घरमै बनाएको बम पड्काएको प्रहरीको दाबी छ। के यस घटनामा उनी एक्लै सहभागी थिए? वा उनको पछाडि ठुलै गिरोहको स्वार्थ लुकेको छ? जो बेलायतलाई अशान्त देख्न चाहन्छ। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले यस घटनामा संलग्न भएको आशंकामा बुधबार दक्षिणी म्यानचेस्टरबाट ३ जनालाई नियन्त्रणमा लिएको छ। बेलायतमा आतंकवादको चुनौती निकै बढेका कारण अझै धेरै आक्रमणहरु हुनसक्ने खतरा औल्याइएको छ। त्यसैले बेलायतका प्रमुख क्षेत्रहरुमा अब प्रहरी परिचालन बढ्नेछ।

गृहमन्त्री रुडले यस आक्रमणलाई विभत्सकारी घटना भनेकी छन्। 'हामीले पहिले देखेका आक्रमणभन्दा यो निकै खतरनाक छ। त्यसैले उनले एक्लो प्रयासमा बम बिस्फोट गराएको हुनसक्ने संभावना निकै कम छ,' रुडले भनेकी छिन्।

म्यानचेस्टर महानगरका मेयर एन्डी ब्रनहामले बीबीसँगको कुराकानीमा यस घटनालाई शहरकै सबैभन्दा 'कालो समय' भनेका छन्। प्रधानमन्त्री थिरेसा मेइले सर्वसाधारणको सुरक्षाका लागि मुख्य क्षेत्रमा प्रहरीसँगै सेना परिचालन गरिने बताएकी छिन्। उनका अनुसार बुकिङह्याम प्यालेस, डाउनिङ स्ट्रिट, कूटनीतिक नियोग, संसद् भवन (प्यालेस अफ वेस्ट मिनिस्टर) लगायत मुख्य क्षेत्रमा सेना परिचालन गरिनेछ।

आगामी साताहरुमा सेनाको सक्रियता अझै बढ्नेछ। सार्वजनिक समारोह तथा कन्सर्ट तथा अन्य इभेन्टहरुमा सेनाको उपस्थिती हुनसक्छ। प्रधानमन्त्री मेइले भनेकी छिन्,'उनीहरुले प्रहरी अफिसरहरुको कमान्डमा रहेर काम गर्नेछन्।'

प्रधानमन्त्री थिरेसाले सर्वसाधारणका लागि अफ्टेरो अवस्था सिर्जना गर्न यस्तो काम नगरेको बताएकी छिन्। गभ्मीर अवस्था सिर्जना भएका कारण त्यसको निराकरणका लागि सन्तुलन मिलाउन सुरक्षा व्यवस्था कडा पारिने बताएकी छिन्।  

गृहमन्त्री रुडले सुरक्षा खतरा बढेको बताएका छिन्। उनले यो गम्भीर अवस्था धेरै समय नरहने बताएकी छिन्। उनले गुप्तचर निकायले सशक्त ढंगले काम गर्ने बताएकी छिन्। बेलायतको महानगरीय प्रहरीले लण्डनमा सुरक्षा व्यवस्था कडा पारेको छ। विशेष तालिम लिएका प्रहरीहरु परिचालन गरिएका छन्।

को हुन् म्यानचेस्टर हमलाका अभियुक्त?

आफुसहित २२ जनाको ज्यान जानेगरी बम पड्काउने सलमान अवेदी को हुन्? यस विषयमा अहिले धेरैलाई चासो छ।

२२ वर्षका अवेदी म्यानचेस्टरमा जन्मिएका हुन्। उनका बाबु आमा लिबियाली मूलका हुन्। अवेदी साल्फोर्ड विश्‍वविद्यालयका विद्यार्थी हुन्। म्यानचेस्टर विश्वविद्यालमा काम गर्ने हमिद इल सइदका अनुसार परिवारसँग अवेदीको सम्बन्ध निकै खराब थियो।

अवेदीको परिवारले उनलाई सही मार्गमा ल्याउन खोजेपनि असफल भएको थियो। उनका साथीभाइ समेत अवेदीको  व्यवहारबाट हैरान थिए। 'आखिर उनले धेरै नराम्रो गर्न लेखेको रहेछ। उनले विश्वविद्यालयको पढाई पूरा गरेनन्। त्यसैले उनलाई धेरैपटक लिबिया लगियो। उनी युरोपको जीवनशैलिमा भिज्न सकेनन्,' सइदले भनेका छन्।

महानगरिय प्रहरी सहायक कमिश्‍नर मार्क रोलीले अनुसन्धान निकै छिटो गतिमा अघि बढिरहेको बताएका छन्। 'अझै पनि घटना उनको एक्लो प्रयासमा भयो वा यसमा अरुको पनि सहभागिता हुँदैछ भन्ने विषय पत्ता लाग्न बाँकी छ,' उनले भनेका छन्,'हामीले गम्भिर ढंगले छानविन गरिरहेका छौं। '

घटनापछि हजारौं व्यक्तिहरुले म्यानचेस्टर शहरमा जम्मा भएर दीप प्रज्वलन गर्दै मृतकहरुको संझनामा १ मिनेट मौन धारण गरेका छन्। बेलायतका अन्य शहर तथा विश्वभर मृतकको संझनामा दीप प्रज्वलन गरिएको छ।

इङल्यान्डको लोकप्रिय क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीहरुले शहर छाड्नुअघि आफ्नो अभ्यास सेशनको अन्त्यमा १ मिनेट मौनधारण गरेका छन्। बुधबार स्टोकहोलममा आयोजना हुने युरोपा लिगको फाइनलमा म्यानचेस्टरले अज्याक्स विरुद्ध भिड्दैछ।

'हामी निकै दुखी छौं। घटनाका मृतक,घाइते र पीडित परिवारलाई हामीले आफ्नो दिमाग र मनबाट बाहिर निकाल्न सक्दैनौं,' प्रशिक्षक होसे माउरिन्होले भनेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.