|

गोरखा : पत्रकार विकास भट्टराई एक सातादेखि जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा छन्। मतगणनाका क्रममा प्रहरीसँग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्दा लगाइएको हो।

पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापासँगै रहेका भट्टराईलाई प्रहरीले 'केही कुरा गर्नुछ' भन्दै लगेको थियो। त्यसयता उनी हिरासतमा छन्।

पत्रकार महासंघ ललितपुर शाखाका सदस्य, जनता टेलिभिजनका गोरखा संवाददाता तथा नेटपत्रिका अनलाईनका सम्पादक भट्टराईलाई 'प्रहरीले माथिको आदेश' भन्दै हिरासतमा राखेको हो।

'गत २ गते म टेलिभिजनमा लाईभ (प्रत्यक्ष कुराकानी) गरेर पत्रकार महासंघ गोरखाको अध्यक्ष किशोरजंग थापासँग गफ गरेर बसिरहेको थिएँ’, प्रहरी हिरासतमै रहेका पत्रकार भट्टराईले भने ‘तपाईँसँग केही कुरा बुझ्नु छ, सोध्नुछ प्रहरीकोमा जाउँ भने, प्रहरी कार्यालयपछि न कुरा गरे न केही सोधे सिधै हिरासतमा राखेर अनुसन्धानका लागि भन्दै म्याद थप गरी मुद्धा चलाए,’ उनले भने।

प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सदस्य भएका कारण उनलाई प्रक्राउ गरेको जनाएको छ। बिना कारण मुद्दा चलाउन नमिलेपछि प्रहरीसँग भनाभन भएको कागजी सही छाप गर्न लगाएको भट्टराईको आरोप छ। ‘सबैको आस्था विभिन्न पार्टीमा हुन्छ,’ भट्टराईले भने ‘मेरो आस्था त्यो पार्टीतर्फ भएपनि म अहिले पत्रकारीतामा पूर्णरुपमा सक्रिय छु। आस्था राख्दैमा पक्राउ गर्ने?’

‘केन्द्रदेखि त्यही आदेश छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले भने, ‘विप्लव माओवादीको कार्यकर्ता भन्ने जानकारीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गरिएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.