|

बाँके : निर्वाचनका कारण पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको छ। गत आर्थिक वर्षको वैशाख मसान्तसम्म ७३ हजार ५७ किलोलिटर हाईस्पीड डिजेल आयात भएकोमा यस आर्थिक वर्षको वैशाख मसान्तसम्म १ लाख १२ हजार ९८४ किलोलिटर आयात भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवम् सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए।

उनले हवाई इन्धन र पेट्रोल आयातमा समेत वृद्धि भएको बताए। साउनदेखि वैशाख मसान्तसम्म ४ हजार ५८० किलोलिटर हवाई इन्धन (एटिएफ) आयात भएको उनले बताए। उनका अनुसार यस आर्थिक वर्षको वैशाख मसान्तसम्म २५ हजार २७६ किलोलिटर पेट्रोल आयात भएको छ।

गत आर्थिक वर्षको यस अवधिमा १४ हजार ६९२ किलोलिटर पेट्रोल आयात भएको  जोशीले बताए। 'पेट्रोलियम पदार्थको माग बढेपछि आयात पनि बढेको हो, गत आवको तुलनामा यस आवमा करिव ५० प्रतिशत पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ,’ जोशीले भने।

यस आवमा खाना पकाउने एलपी ग्यास आयातमा समेत वृद्धि भएको छ। गत आवको वैशाखसम्म एक करोड ३७ हजार ९१ हजार ५८० किलोग्राम एलपी ग्यास आयात भएको थियो।

यस आवको बैशाख मसान्तसम्म १ करोड ८९ लाख ६३ हजार ७४० किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।

राजश्व संकलन दोब्बरले वृद्धि

पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएसँगै नेपालगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा समेत वृद्धि भएको छ। नेपालगन्ज भन्सार कार्यालयले यस आवको १० महिनामा डिजेल आयातबाट एक अर्ब १२ करोड २२ लाख २८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। पेट्रोलबाट ६२ करोड ८२ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

यस आवमा हवाई इन्धनबाट ४२ करोड ५९ लाख ५ हजार र खाना पकाउने एलपी ग्यासबाट २३ करोड  ४८ लाख ८४ हजार राजश्व संकलन गर्न सफल भएको भन्सार अधिकृत जोशीले जानकारी दिए।

उनले गत आवको १० महिनामा डिजेलबाट ५८ करोड ७५ लाख ५३ हजार  ९ सय, पेट्रोलबाट ३४ करोड ५६ लाख ४२ हजार र खाना पकाउने एलपी ग्यासबाट १६ करोड ३२ लाख ३२ हजार रुपैयाँ संकलन भएको जानकारी दिए।

निर्वाचनलाई लक्षित गरी पेट्रोलियम पदार्थ भण्डारणः निगम

निर्वाचनलाई लक्षित गरेर पेट्रोलियम पदार्थको भण्डारण गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ। निर्वाचनलाई लक्षित गरी भण्डारण गर्न निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएपछि पेट्रोलियम पदार्थ भण्डारण गरिएको नेपाल आयाल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय प्रबन्धक विनितमणी उपाध्यायले बताए।

उनले निगमको क्षेत्रीय कार्यालयको क्षमताको ७५ प्रतिशत डिजेल, ८५ प्रतिशत पेट्रोल र ९० प्रतिशत हवाई इन्धन भण्डारणमा रहेको बताए। 'केन्द्रको परिपत्र आएपछि विगत ३ महिनादेखि नियमित रुपमा पेट्रोलियम पदार्थ भण्डारण गर्दै आएका छौँ, निर्वाचनलाई पुग्ने एथेष्ट पेट्रोलियम पदार्थ भण्डारणमा छ,' क्षेत्रीय प्रबन्धक उपाध्यायले भने।

उनले मध्यपश्चिमका पेट्रोलियम डिलरहरुले समेत निर्वाचनलाई लक्षित गरेर पेट्रोलियम पदार्थ भण्डार गरेको बताए। पेट्रोलियम पदार्थ भण्डार गर्न मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियसनलाई परिपत्र गरेको जानकारी दिँदै उनले निर्वाचनमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन सचेत रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.