|

काठमाडौँ: बुधबार प्रधानमन्त्री पदबाट राजिनामा दिएका पुष्पकमल दाहाल प्रचण्डले सत्ता अवतरणको समयमा समेत फरक शैली, व्यवहार र भाष्य प्रयोग गरेका छन्।

सत्तामा बस्दाको शान, सौकात, शक्ति र सुविधालाई परित्याग गर्नुपर्दा विगतमा प्रधानमन्त्रीले राजिनामा दिँदाको वातावरण, प्रस्तुति र भाषा-शैलीभन्दा फरक ढंगले प्रधानमन्त्री दाहाल बुधबार देखापरे। करिब चार दर्जनको संख्यामा मन्त्रीपरिषद्का सदस्य भए पनि एक दर्जन मन्त्रीको माझमा उपस्थित भएका दाहालको प्रस्तुतिमा कुनै गाली वा आक्रोशको शब्द प्रयोग भएको पाइएन।

दुई उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जयदेव जोशी, केशवकुमार बुढाथोकीलाई साथै लिएर जनताको नाममा संबोधन गर्दै राजिनामा दिन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको सभाकक्षमा प्रवेश गरेका दाहालमा कुनै निराशा, आक्रोश वा पीडाको भाव देखिँदैनथ्यो।

प्रधानमन्त्री दाहालले सरकारका उपलब्धिको फेहरिस्त विगतका प्रधानमन्त्रीले सत्ता अवतरण गर्दाको समयमा झैँ प्रस्तुत गरे। उनको सन्देशमा सत्ता साझेदार दल कांग्रेससहितका अन्य दल, मन्त्रीपरिषद्का सदस्य र पार्टीमा लागेर बलिदान दिएका शहीदप्रति सम्मान प्रकट गरेका छन्। 

प्रमुख प्रतिपक्षी एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिईकन शालीन भाषामा उनले चोटियो प्रहार गरे। दाहालले आफ्नो सन्देशमा मधेसकेन्द्रित दलप्रति भने भरोसा र सहानुभूति प्रकट गरे। 

एमाले लक्षित

करिव आधा घण्टा लामो देशवासीको नाममा दिएको सन्देशमा प्रधानमन्त्री दाहालले एमालेको नाम नै नलिईकन उसको क्रियाकलाप र विरोधको प्रतिवाद गरेका छन्। 

उनले ‘संसदमार्फत् राजिनामा दिन चाहन्थेँ तर संसदमा रहेको अवरोधपछि सिधै जनतासामु उपस्थिति भएको छु’ भनेर प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्री कार्यालयमा आएरै राजिनामा दिनुपर्ने अवस्थाको सहज चित्रण गरिदिएका छन्। 

एमालेप्रति लक्षित गर्दै उनले गत वर्ष साउन १९ गते एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा भाषणमार्फत दाहालमाथि तेर्स्याएका प्रश्नको एक/एक गरी जवाफ दिने प्रयास गरे। उनले सन्देशमा भनेका छन, ‘एकथरि निराशावादीले अब नेपाल राजनीतिक र संवैधानिक शून्यतामा जाने भविष्यवाणी गरिरहेका थिए भने अर्काथरिले राष्ट्रिय अखण्डतामा आशंका गरेका थिए।’

पूर्व प्रधानमन्त्री ओलीको नाम उच्चारणसमेत नगरी उनले भने, ‘एकथरि साथीहरूले मलाई संसदमा उत्तेजनापूर्वक सोध्ने गर्दथे, फाष्ट ट्रयाक के हुन्छ? ओबिओआर के हुन्छ? हुलाकी मार्ग के हुन्छ? ती प्रश्न गलत थिएनन् तर सोध्नेहरूको नियत सही थिएन।'

सम्बोधनका क्रममा उनले भने, ‘त्यो प्रश्नमा अविश्वास र चुनौती थियो। आफैँमाथि विश्वास नभएपछि मान्छेलाई अरूमाथि पनि अविश्वास हुँदोरहेछ। फास्ट ट्र्याकलाई लिएर त सरकारमाथि नियोजित दुष्प्रचारको अभियान नै चलाइयो।’ 

उनले यसलाई राजनीतिक दाउपेचको विषय बनाइएको र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्र्याक बन्ने ग्यारेण्टी भएको बताए। 'केही दिनमा म शिलान्यास गर्दै छु’, उनले भने। उनले हुलाकी राजमार्ग निर्माणले तीव्रता पाएको पनि सगौरव बताए।

उनले ‘२० घण्टासम्म लोडसेडिङ सामान्य मानिन्थ्यो। आर्थिक वृद्धिदर एक प्रतिशत पनि थिएन। देश यति विभाजित थियो कि निर्वाचनमा सबैको सहमभागिता हुन सक्छ र निर्वाचन हुन सक्छ भन्ने धेरैलाई अविश्वास थियो’ भन्दै एमालेले बारम्बार उठाउने गरेको आशंकालाई लक्षित गर्दै प्रस्ट्याएका थिए। 

सरकारले गरेका उपलब्धिको फेहरिस्त

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले गरेका उपलब्धिको मुख्य मुख्य फेहरिस्त प्रस्तुत गरेका थिए। ‘निर्वाचन हुन नदिएर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जस्ता उपलब्धिलाई संस्थागत हुन नदिने षड्यन्त्रलाई चिर्न सफल भइयो र निर्वाचन पहिलो चरणको सम्पन्न भयो । दोस्रो चरणको पनि सफल हुनेछ।’

उनले लक्ष्यभन्दा २४ प्रतिशत बढी राजश्व उठेको, उज्यालो नेपाल अभियान सुरु गरेर लोडसेडिङ अन्त्य भएको, २२० केभीएको खिम्ती ढल्केवर प्रशारण आयोजना सम्पन्न भएको, दुई महिनामा ढल्केवर सवस्टेसन सञ्चालनमा ल्याएको बताए। 

सम्बोधनका क्रममा प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनामार्फत सातवटै प्रदेशमा एक/एकवटा सुपरजोन स्थापना गर्ने कार्यक्रमबमोजिम कैलाली जिल्लामा गहुँ र झापा जिल्लामा धान सुपरजोन स्थापनाको काम अनितम चरणमा पुगेको र अधिकारसम्पन्न किसान आयोग गठन गरिएको उल्लेख गरे।

काठमाडौँलाई स्याटलाइट मेगासिटीको तयारी गरिएको, मुलुकका १७ शहरलाई एक शहर एक पहिचान कार्यक्रम, रुकुमकोट र लिवाङमा स्मार्ट शहर, निजगढ, पालुङटार, लुम्बिनी, दुल्लु वालिङ, अमरगढी, पोखरा, धरान, विराटनगर र काठमाडौँलगायत १३ वटा स्थानमा मेगासिटीको कार्य प्रारम्भ गरिएको विवरण दिए।

प्रधानमन्त्रीले स्वास्थ्यको क्षेत्रमा धेरै नीतिगत सुधार र कार्यक्रमिक सुधार भएको दाबी गरे। उनले स्थानीय सवास्थ्य संस्थासम्म नि:शुल्क औषधि उपकरणको व्यवस्था, सरकारी अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य गरिएको, डायलाइसिस सेवा, बाथ, मुटुरोग, मिर्गौला प्रत्यारोपण नि:शुल्क गरिएको उल्लेख गरे। 

प्रधानमन्त्री प्रचण्डले सरकारी उद्योगहरू निजीकरण वा बन्द गर्ने कार्यले अर्थतन्त्र मात्र होइन, दातादेखि जनतासम्म नकारात्मक सन्देश गएको र यसलाई रोक्न नेपाल औषधि लिमिटेडलाई सञ्चालनमा ल्याउन र औषधि उत्पादन सुरु गर्न सकिएको विषयलाई उपलब्धिको रूपमा प्रस्तुत गरे। १२ सय मेगावाटको जलासययुक्त बुढीकगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय भएको पनि बताए।

उनले संविधान कार्यान्वयनको जटिल चरणमा सबै राजनीतिक शक्तिहरू सरकार देखि संसद र जनस्तरसम्म पनि एकै ठाउँमा उभिनुपर्छ भन्ने मान्यतामा आफू अडिग रहेको भन्दै तराई-मधेस, पहाड र हिमाल सबैलोई जोडेर अगाडि बढ्ने वातावरण बनाउन सुरुदेखि नै लागिरहेको दाबी गरेका छन्।

आफ्नै बारेमा

दाहालले सम्बोधनका क्रममा भने, ‘हाम्रो राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोग संस्कृति हो। इमान्दार भएर भन्नुपर्दा हामी सबै कुन न कुैन रूपमा त्यो संस्कृतिको शिकार भएका छौँ। बचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन।’

उनले आफ्नो लिखित वक्तव्यमा भनेका छन, ‘नेपाली कांग्रेससँग भएको सहमतिअनुसार नै अगाडि बढ्दै छु। सत्ता छाडुनुपर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परालाई तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञको रूपमा, एउटा सांसदको रूपमा र एउटा नागरिकको रूपमा मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाकशील रहने प्रतिवद्धतासहित म आजै पदबाट राजिनामा दिन्छु।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.