'अब राजनीति गर्छु'

|

काठमाडौं : रत्न तथा अभुषण संघको निवर्तमान अध्यक्ष, नेपाल श्रीलंका चेक्बर अफ कमर्सका अध्यक्ष लगायत व्यापारिक क्षेत्रका विभिन्न संस्थाहरुमा काम गरेका रमेश महर्जन हिजोआज राजनीतिकर्मीका रुपमा चिनिन थालेका छन्। स्थानीय तहको चुनावमा ललितपुर महानगरपालिका हाँक्ने लक्ष्यका साथ नगर प्रमुखमा उम्मेदवारी दिएसँगै राजनीति पनि सुरु गरेका छन्। अझ धेरैको सोचाइ विपरीत १२ हजार १ सय ७१ मत ल्याएपछि उनको चर्चा चुलिएको छ। 

उनलाई २/३ हजार मात्रै मत आउँछ, नउठ भन्नेहरुको कमी थिएनन्। तर अरुका कुरा मानेनन् र चुनावमा होमिए। मतगणना सुरु गरको ९ दिन पछि अन्तिम परिणाम आयो। अन्तिम परिणमा उनकै पनि अपेक्षा अनुसार रहेन। 

प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका महर्जनले २२ हजारसम्म मत आउने अनुमान गरेका थिए। 'मैले २२ हजार भोट लिएर प्रमुखमा जित्छु भन्ने लागेको थियो, भोट त्यति आएन तर धेरैले २/३ हजार भोट मात्रै ल्याउँछस् भन्थे त्यो हिसाबले मेरो भोट राम्रै हो' महर्जनले थाहाखबरसंग भने। ललितपुर महानगरपालिका प्रमुखमा निर्वाचित चिरीबाबु महर्जनले पाएको मत भन्दा उनले पाएको मत झण्डै ११ हजार कम हो। 

यसकारण हारे'

स्थानीय तहको निर्वाचनमा सबै भन्दा कान्छो पार्टी (साझा पार्टी) बाट उम्मेदवारी दिएका महर्जन स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिए। उनले आफुले हार्नुका केही कारणहरु केलाएका छन्।

छोटो समय

उनका अनुसार हार्नुको पहिलो कारण चुनाव प्रचारको लागि समयको अभाव हो। 'मैले हार्नुको पहिलो कारण नै समय अपुग हो, अरु केही कमी कमजोरी पनि भए होलान्' थाहाखबरसंग महर्जनले भने '६ दिन मात्रै प्रचार प्रसारमा लागे थप एक हप्ता प्रचार गर्न पाएको भए मैले जित्थेँ।' महर्जनले समय अभावका कारण ५ वटा वडामा आफू भोट माग्न समेत जान नसकेको बताए।  

चिनाउन र चिनिन समस्या

पार्टी, व्यक्ति र चिन्ह सबै मतदातालाई चिनाउन पर्ने भएका कारण अपेक्षित परिणाम नआएको महर्जन बताउँछन्। 'निकै ढिला चुनाव चिन्ह पाइयो,पार्टी पनि भर्खरको हो, साथै व्यक्ति पनि चिनाउनै पर्‍यो यसो हुँदा बुझाउन अलि गाह्रो भयो, अपेक्षित परिणाम आउन सकेन' महर्जनले भने 'अब हामीलाई सहज भने भएको छ।' 

जित्ने उम्मेदवार हो भन्ने भएन

उनले हार्नुको अर्को कारण पनि केलाएका छन्। उनले आफू जित्दैछु भन्ने विश्वास मतदातालाई दिलाउन नसकेको र मतदाताको मनमा समेत यसले जित्छ भन्ने विश्वास नभएका कारण अपेक्षित परिणाम नआएको बताए।

'मतदाताहरुलाई भोट किन खेर फाल्ने भन्ने पनि हुन्छ, स्वतन्त्र उम्मेदवारले जित्न गाह्रो हुन्छ भनेर चाहेर पनि भोट हाल्न नसकेको प्रतिक्रिया मलाई केही मतदाताले दिनुभयो' महर्जनले थपे 'मैले जित्छु, यो कारणले जित्छु भन्ने कुरा मतदातालाई भन्न सक्दा मात्रै पनि केही मत तलमाथि हुँदोरहेछ।' 

यसकारण मलाई दिए भोट

उनले आफूलाई आएको भोट सन्तोषजनक भएको प्रतिक्रिया दिए। 'मैले कांग्रेस एमाले र माओवादीलाई समानुपातिक भोट आउँछ र मैले २२ हजार भोट प्राप्त गरेर विजयी हुन्छु भन्ने सोचेको थिएँ, त्यति भोट आउन सकेन तर भोट राम्रै आयो' महर्जनले भने।

उनले विगतमा ललितपुरबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम नगरेको कारण अहिले आफ्नो भोट बढेको समेत बताए। 'विगतमा यहाँबाट निर्वाचित हुने तर फर्केर नआउने देखिए, मलाई पनि मतदाताले त्यो विषयमा स्मरण गरउनुभयो, मेरो अनुहारमा उहाँहरुले समाजको ऐना पाएको मैले पाउँथे' महर्जन भन्छन्।

उनले आफु पुगेका ठाउँबाट ३० प्रतिशत भोट आएको दाबी समेत गरे। उनले भने 'कति ठाउँ म जान सकिन तर जहाँ पुगेँ,त्यहाँबाट मलाई झण्डै ३० प्रतिशत भोट खस्यो।' त्यस्तै उनले आफूले अघि सारेका १७ बुँदे योजना पनि मतदाताले मन पराएको दाबी गरे। 

अब व्यवसायसंगै राजनीति

रमेश महर्जन राजनीतिमा नयाँ अनुहार भए पनि अब उनको योजना राजनीति गर्नेतिरै छ। उनले राजनीतिलाई व्यवसाय सँगसँगै अघि बढाउने संकल्प लिएका छन्। आफूले राजनीति नगरेमा मतदाताको मन दुख्ने उनको बुझाई छ। 'मलाई जसले भोट दिनुभयो, जित्छ केही गर्छ भनेर दिनुभएको हो, उहाँहरुको सम्मानको लागि पनि मैले राजनीति गर्नै पर्छ र गर्छु' उनले भने।

उनले आफूले बनाएका योजना ललितपुर महानगरको प्रमुखमा विजयी कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनलाई उपलव्ध गरउने र राम्रो कामको लागि सहयोग गर्ने बताए। 'मेरा केही योजना छन्, यी योजना चिरीबाबु दाइलाई पनि दिने छु, उहाँले राम्रो काम गर्दा सहयोग गर्ने छु' महर्जनले भने। उनले आफू निर्वाचित नभए पनि आफूले उठाएका १७ बुदे योजना ५ वर्षमा पुरा गर्न प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.