धूलोधुवाँरहित र हराभरा महानगर प्राथमिकतामा

|

काठमाडौँ: काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको ११औँ दिन बिहीबार पनि मतगणना जारी छ। एक लाख ५५ हजार ११६ मत गणना सकिँदासम्म एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य र उपप्रमुखमा कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी अगाडि छन्।

प्राप्त मत परिणामअनुसार काठमाडौँ महानगरपालिका उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी १९ हजार ३१३ मतको फराकिलो अन्तरले अगाडि छन्। खड्गीले ४७ हजार १४ मत ल्याएकी छन् भने राप्रपाका राजाराम श्रेष्ठले २७ हजार ७०१ मत ल्याएर पछ्याइरहेका छन्। मतान्तरका हिसाबले अब लगभग आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार खड्गीको बुझाइ छ।

को हुन् हरिप्रभा खड्गी?

नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ महानगरको उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गी काठमाडौँ बागबजारकी स्थायी बासिन्दा हुन्। वि. सं. २०२४ मा भक्तपुरमा जन्मिएकी हरिप्रभा २०४२ सालदेखि राजनीतिमा आवद्ध भएकी हुन्।

बुबा हरिचन्द्रदास श्रेष्ठ र आमा लक्ष्मीप्रभा श्रेष्ठका पाँच सन्तानमध्ये परिवारकी सबैभन्दा जेठी छोरी हरिप्रभा नेपाल ल क्याम्पसमा भर्ना भएपछि राजनीतिप्रति आकर्षित भएकी थिइन्।

ल क्याम्पसबाट नेविसंघको राजनीति राजनीति सुरु गरेकी उनले २०४३ सालमा बागबजार निवासी प्रकाश खड्गीसँग विवाह भएपछि पद्मकन्या क्याम्पसमा भर्ना भएर त्यहीँबाट राजनीतिक यात्रा अघि बढाउँदै लगिन्।

राजनीतिभन्दा फरक परिवेशको परिवारबाट राजनीतिमा आएकी हरिप्रभा सुरुमा राजनीतिको बारेमा थाहा नपाएरै नेविसंघमा आवद्ध भएकी थिइन्।

हजुरबुबा कुन्दास श्रेष्ठले कांग्रेस नेता गणेशमान सिंहको कुरा गरेको सुनेकी हरिप्रभाले गणेशमानकै पार्टीमा आएको थाहा पाएपछि कांग्रेसबाटै राजनीति अगाडि बढाउने निर्णय गरेकी थिइन्। 'क्याम्पसमा सुरुमा जाँदा त राजनीतिको बारेमा कसलाई थाहा हुन्छ र! त्यतिबेला अनेरास्ववियु र नेविसंघ क्याम्पसमा क्रियाशील थिए। त्यसै क्रममा म नेविसंघमा आवद्ध भएँ', उनले भनिन्, 'पछि बुझ्दै जाँदा आफू ठीक ठाउँमा भएको निष्कर्ष निकालेर राजनीतिमा सक्रिय भएँ।'

उनका बुबा डाक्टर हुन्। उनको परिवारका प्रायः सदस्य मेडिकल क्षेत्रमै क्रियाशील थिए/छन्। तर हरिप्रभालाई भने मेडिकल क्षेत्रले तान्न सकेन। उनी नजानिँदो तरिकाले राजनीतिकतर्फ आकर्षित भइन् र राजनीतिमै समर्पित भइन्।

उनको निर्णयमा श्रीमानले पनि साथ दिए। अहिले छोरी रोहिणा खड्गी र छोरा रोहनले पनि साथ दिइरहेका छन् उनलाई। पूर्णकालीन राजनीतिमा होमिएकी हरिप्रभाले श्रीमानको कमाइले राजनीति गर्दै आएको बताइन्। उनका श्रीमान कलेज पढाउँछन्। पाटन क्याम्पसमा पढाउने श्रीमानको कमाइबाटै परिवार चलाउँदै आएको र आफूले सम्पूर्ण समय राजनीतिमा दिन सकेको उनले दाबी गरिन्।  'उहाँ (श्रीमान)ले कमाउनुहुन्छ, म राजनीति गर्छु', उनले भनिन्।

नेविसंघ हुँदै कांग्रेस भगिनी संगठन नेपाल महिला संघमा आवद्ध हरिप्रभाले २०४६ सालको जनआन्दोलन, २०६२/०६३ सालको आन्दोलन सबै देखे/भोगेकी छन्। २०६४ सालमा आन्दोलनमा सहभागी हुनेदेखि आन्दोलनकारीलाई पानी, खाजा दिने, घरमा बस्‍ने व्यवस्था मिलाउनेसम्मका भूमिका निर्वाह गरेकी उनले कर्फ्यूका क्रममा आँखामा सिसा लाग्दा झण्डै आँखासमेत गुमाउनुपर्‍यो।

'आन्दोलनका क्रममा मेरो घर एकदमै निशानामा थियो। आन्दोलनकै क्रममा कर्फ्यू लागेपछि ढुङ्गा हान्‍ने क्रममा मेरो टाउका र आँखामा सिसा लाग्यो', उनले बिगत स्मरण गरिन्, 'सिसाको टुक्रा आँखामा परेपछि आँखा देख्‍न सकिनँ', खड्गीले भनिन्। श्रीमानले वीर अस्पताल लगेर उपचार गराएपछि मात्र उनको आँखा खुल्यो। उनले भनिन्, 'उपचार राम्रो भयो। होइन भने मेरो आँखा फुट्थ्यो होला।'

प्रजातन्त्र आइसकेपछि नेपाल महिला संघमा आवद्ध भएर काम गर्न थालेकी हरिप्रभाले महिला संघको वडा, इकाई, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय समितिसम्म काम गरिन्। २०६० सालयता चार वर्ष लोकतन्त्र ल्याउनका लागि जेल, नेल, कुटाइ सबै भोगेर संघर्ष गरेकी उनी २०६४ र २०७० सालमा सम्पन्न संविधानसभाका दुवै निर्वाचनमा समानुपातिक सभासद्का लागि उम्मेदवारमा सिफारिससमेत भएकी थिइन्। तर पार्टीले सभासद् भने बनाएन।

सक्षम भएकाले टिकट पाएँ

पछिल्लो पटक भएको नेपाल महिला संघको महाधिवेशनबाट दोस्रो पटक केन्द्रीय सदस्य भएकी हरिप्रभा कांग्रेस नेता प्रकाशमान सिंहलाई आफ्नो आदर्श र अभिभावक नेता मान्‍छिन्।

काठमाडौँ महानगरको टिकटका लागि कांग्रेसभित्र गाइँगुइँ चर्चा चल्दैगर्दा उनले बलियो दाबेदारका रूपमा नेता सिंहमार्फत पार्टी च्यानलमा आफ्नो कुरा राखेकी थिइन्। 'म पनि सक्छु भनेर उपमेयरका लागि प्रस्ताव राखेँ। पहिले पनि २/२ पटक संविधानसभाको समानुपातिक सभासद्‍मा पार्टीले ल्याएन', उनले भनिन्, 'तर यसपालि पार्टीले टिकट दिएमा म जित्छु भन्‍ने आत्मविश्वास थियो। किनभने मैले काम गरेकी छु।' उनले आफू काठमाडौँकै मान्छे भएकाले पनि उनमा चुनाव जित्ने संभावना भएकाे दाबी गरिन्।

उपत्यकामा जन्मिएको, काठमाडौँमै लामो समयदेखि काम गरेको कारणले पनि आफूले टिकट पाउनेमा ढुक्क रहेको उनी बताउँछिन्। 'यहाँका मान्छेले मलाई चिन्छन्। सामाजिक सञ्‍जालमा पनि म उत्तिकै क्रियाशील छु। मैले गरेका कामहरू पनि सामाजिक सञ्‍जालमा पोष्ट गर्ने गर्छु', उनले भनिन्, 'मेरा शुभचिन्‍तकहरूले पनि तपाईंले उठ्नुपर्छ भन्‍नुभएको थियो।'

महिलाको भोट निर्णायक

काठमाडौँ महानगरमा मत गणना भइरहँदा महानगर उपप्रमुखकी कांग्रेस उम्मेदवार खड्गी आफ्नो जीत लगभग निश्‍चित भएको दाबी गर्छिन्। एमाले-राप्रपा गठबन्धनको सरकारले महिला उम्मेदवार नउठाएका कारण पनि आफ्नो जीत सहज भएको हरिप्रभाको बुझाइ छ।

उनी आफूलाई महिला भएको, पहिलो पार्टीको उम्मेदवार तथा काम गरेका आधारमा जीत सुनिश्‍चित भएको दाबी गर्छिन्। 'म एउटा महिला हुँ। राप्रपा-एमालेको गठबन्धनले महिला उम्मेदवार दिए पनि नदिए पनि प्रतिस्पर्धामा गइसकेपछि म जित्छु भन्‍ने भावना थियो', उनी भन्छिन्। मुलुकको आधा जनसंख्या रहेको महिलालाई ल्याउनुपर्छ भनेर लामो समयदेखि आफूहरू लागिरहेको उनले बताइन्। उनले भनिन्, 'हामीले हाम्रो संघर्षअनुसार केही अधिकार पाएका छौँ।'

संविधानले ४० प्रतिशत महिला, त्यसमा पनि प्रमुख वा उपप्रमुख महिला भनिसकेपछि अन्य ठूला दलहरूले आफ्नो फाइदाका लागि महिलाको पद खाइदिएको उनी बताउँछिन्। 'महिलाको पद एलायन्सका कारण जसरी उहाँहरूले खाइदिनुभयो, यसमा मलाई एकदमै दुःख लागेको छ', खड्गी भन्छिन्, 'एमालेले महिला दियो भने म आफैँ हार्न तयार छु। तर प्रतिस्पर्धामा त आउनुपर्छ नि!' उनले एउटी महिलाले जितेमा आफू खुसी नै हुने बताइन्।

एमालेले आफ्नो स्वार्थका लागि राप्रपासँग गठबन्धन गरेर महिलाको पद नै खाइदिएको उनले बताइन्। 'यसमा म हृदयदेखि नै दुःखी छु किनभने एमालेमा क्षमतावान् महिलाहरू छन्', उनी भन्छिन्, 'एमाले-राप्रपाले महानगरमा गठबन्धन गरिसकेपछि सबै मतदाता, विशेषगरी महिला दिदीबहिनीहरूसँग मैले आह्वान नै गरेकी हुँ।'

अब महिलाहरू सचेत हुनुपर्ने बताउँदै खड्गीले अब पनि चुप लागेमा महिला सहभागिता नारा मात्र हुने बताउँछिन्। 'महानगरबाट महिलाले मलाई साथ नदिएको भए त पुरुष नै हुन्थे नि उपप्रमुख पनि', हरिप्रभा भन्छिन्, 'किनभने एमाले-कांग्रेसको गठबन्धनबाट राजारामजी उठ्नुभएको छ।'

कांग्रेस आफैँमा ठूलो पार्टी भएको र आफू पनि पुरानो तथा काठमाडौँका लागि चिरपरिचित भएको साथै महिला भएका कारण यसपालि महिलाको निर्णायक मत पाएको उनले बताइन्। 'महिला भएकै कारण पनि मैले महिलाहरूको एकदमै धेरै साथ र सहयोग पाएँ। पार्टीको भोट त छँदै थियो साथसाथै महिलाहरूको निर्णायक भोट प्राप्त गरेकी छु', उनले भनिन्।

प्रचार प्रचार गर्न समय कम

महानगर प्रमुखमा भने छोटो समयको तयारीका कारण पनि पार्टीलाई कम भोट आएको उनको बुझाइ छ। पार्टी कमजोर नभए पनि प्रचार प्रसारका लागि उपयुक्त समय नभएको उनले बताइन्। 'यति छोटो समयमा पनि यति मत आउनु भनेको पनि राम्रो कुरा हो', भन्छिन्, 'जनताले सायद परिवर्तन खोजेको पनि हुन सक्छ।' 

धूलोधुवाँरहित र हराभरा महानगर बनाउँछु

मतान्तर धेरै भएकाले पनि आफूले जित्नेमा हरिप्रभा ढुक्क छन्। जितिसकेपछि एकैचोटि सबै परिवर्तन नहुने भएकाले बिस्तारै महानगरलाई सुन्दर र हराभरा बनाउँदै लैजाने उनको प्रतिवद्धता छ।  'मतान्तर धेरै फरक भइसकेको छ। सायद म जित्छुुु', उनी भन्छिन्, 'जितेर गएको भोलिपल्ट नै कायापलट गर्छु भनेर त सम्भव छैन तर म सत्यतमा बाँच्‍ने मान्छे हुँ, अलिकति समय लाग्छ, धूलोधुवाँरहित र हराभरा महानगर बनाउन केही काम अवश्य गर्छु।'

सुरुमा काठमाडौँमा अहिले मेलम्ची पानीका लागि खनिरहेको बाटो सफा गरेर धूलोमुक्त गर्ने उनले बताइन्। 'पहिलो कुरा त अहिले काठमाडौँमा जति पनि बाटाहरू खनिराखिएको छ, यसलाई सफा गर्नुपर्छ। मेलम्ची पानी ल्याउनका लागि अहिले सबैतिरको बाटो खनिरहेका छन्', उनले भनिन्, 'त्यसकारण बाटो पिच गरेर राम्रो बनाउनुपर्छ। यहाँ रहेको धूलो हटाएर महानगरलाई धूलोधुवाँरहित हराभरा महानगर बनाउनुपर्छ।'

काम गर्न चाहेमा अब अवसर नजिकै आएको उनले बताइन्। आफूले गर्छु भन्ने इच्छाशक्ति भएमा अन्य दलबाट आएकाहरूको पनि साथ मिल्ने उनको विश्वास छ।

यो स्थानीय तहको निर्वाचन भएको र स्थानीय तह स्थानीय सरकार पनि भएको उल्लेख गर्दै खड्गीले २० वर्ष पहिलेको स्थानीय सरकार र अहिलेको स्थानीय तहमा आकाश-जमिनको फरक रहेको बताइन्। अहिले महानगर प्रमुख र उपप्रमुखको छुट्टै अधिकारको व्यवस्था गरिएको कारण अब उपप्रमुखले प्रमुखकै मुख ताकेर बस्‍नुपर्छ भन्‍ने नहुने उनी बताउँछिन्। 'काम गर्न चाहेको खण्डमा हामी गर्न सक्छौँ। त्यसका लागि टेबुल टक गर्न सक्नुपर्‍यो', हरिप्रभा भन्छिन्, 'काम गर्ने भनेपछि प्रमुखले पनि रोक्न सक्नुहुन्‍न किनभने उहाँको एजेण्डा पनि तिनैमध्येका हुनेछन्। विकास गर्ने भनेपछि विकासलाई रोक्न त मिल्दैन नि!'

महिलाको वृहत्तर विकासका लागि काम गर्छु

महानगरको भौतिक विकाससँगै महिला प्रतिनिधि भएकाले महिलाहरूको वृहत्तर विकास हरिप्रभाको अर्को प्राथमिकता हो। आफू महिला भएकाले पनि महिलाका पक्षमा काम गर्नै पर्ने उनले बताइन्। आफू पनि महिला भएकाले महिलाको वृत्ति विकासका लागि शिक्षा, स्वास्थ्य र उद्यममा अगाडि बढाउनुपर्छ भन्ने उनको धारणा छ। महिला शैक्षिक रूपमा अगाडि बढेर रोजगार नहुँदासम्म महिलाको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने खड्गी भन्छिन्, 'यी सबै कुरा नभएमा महिला राजनीतिमा आउन पनि सक्दैनन्।'

अहिले पनि महिलाको अवस्था आर्थिक रूपमा बलियो नहुँदा श्रीमानसँग पैसा मागेर हिँड्नुपर्ने अवस्था भएको र यो अवस्था परिवर्तन गरेर महिला आफैँमा आर्थिक, शैक्षिक हरेक हिसाबले सक्षम हुनुपर्छ भन्ने उनको मत छ।

महानगरका प्रत्येक वडामा कम्तिमा २/३ जना महिला निर्वाचित भएर आएकाले पनि ती सबै वडामा महिला प्रतिनिधिमार्फत् महिलाको विकासमा काम गर्ने हरिप्रभाले बताइन्।

संविधानले महिला सहभागिता ४० प्रतिशत सुनिश्चित गरेको छ। जनसंख्यामा पुरुषभन्दा बढी महिला संख्या भएकाले अब महिलाहरू आर्थिक रूपमा सक्षम हुँदै राजनीतिमा आउनुपर्ने उनी बताउँछिन्। भन्छिन्, 'महिलाहरू सशक्त रूपमा आउनुपर्छ। अझ राजनीतिमा अगाडि बढेर आफ्नो सक्षमता देखाउनुपर्छ। हामी गर्न सक्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.