|

काठमाडौं : आगामी जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उदयपुरका दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन्।         धेरै वर्षपछि स्थानीय निर्वाचन हुन लागेका कारण उम्मेदवारका लागि आकांक्षीहरुको संख्या बढेको छ। त्यसैले दलहरुलाई उम्मेदवार चयन गर्न हम्मे-हम्मे छ।

०६८ सालको जनगणना अनुसार उदयपुरको जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ माथि छ भने जिल्ला निर्वाचन कर्यालयका अनुसार १ लाख ७५ हजार ४ सय ६१ मतदाता रहेका छन । जसमा पुरुष ८८ हजार ५ सय १० महिला ८६ हजार ९ सय ५१ छन्। जिल्लाका ८ वटा स्थानीय तहको ७५ वटा वडामा जम्मा ८ प्रमुख र उपप्रमुखसहित ३ सय ९१ जना जनप्रतिनिधि निर्वाचित गर्नुपर्ने छ।  मतदाता केन्द्र ९८ वटा तोकिएको छ। पहिलै चरणको निर्वाचनको लागि ८ वटै स्थानीय तहमा मुख्य निर्वाचनको कार्यालय स्थापना गरिसकिएको छ। गाँउ गाँउमा मतदात शिक्षालाई परिचालन गरिएको निर्वाचन कार्यालयका सुचना अधिकारी अर्जुन खड्काले जानकारी दिएका छन्। यसरी निर्वाचनका लागि सबै तयारी पूरा हुँदैछ। तर दलहरुले उम्मेदवारको टुङगो लगाउन सकेका छैनन्। उनीहरुले  मतदाता समक्ष आफ्ना एजेण्डा समेत पुर्‍याउन सकेका छैनन्।

नेपाली काङग्रेस छलफलमा

सबै स्थानीय तहमा उम्मेदवारी टुङगो लगाउन नेपाली काङग्रेस उदयपुर आन्तरिक छलफलमा जुटेको छ। उम्मेदवारी टुङगो लगाउन मंगलबारदेखि जिल्ला संयन्त्रको बैठक पनि सुरु भएको छ। मंगलबार बसेको बैठकले पुष्पलाल श्रेष्ठलाई सुनकोसी गाँउपालिको अध्यक्षको उम्मेदवारी पक्का गरेको छ भने अन्य उप प्रमुख र वडाहरुमा भने टुङगो लगाउन सकेको छैन।

काङग्रेसका जिल्ला प्रचार प्रसार विभागका प्रमुख मदन कटुवालका अनुसार काङग्रेस उदयपुरले क्रमिक रुपमा उम्मेदवारको टुङगो लगाउँदै जानेछ। ‘त्रियुगा, कटारी, बेलका, चौदण्डी नगर प्रमुखको मेयर तथा उपमेरको नामा जिल्ला संयन्त्रले केन्द्रिय संयन्त्रलाई पठाएको छ,’ कटुवालले भने,‘अन्य वडाहरुका वडा अध्यक्ष तथा सदस्यहरुको नाम दुई दिनभित्र टुङगो लगाउने तयारी गरिएको छ।’ उदयपुरगढी, रौतामाई र ताप्ली गाँपालिकामा समेत टुङगो लगाउने तयारीमा काङग्रेस लागि परेको छ।

एमालेमा उम्मेदवारको किचलो

उम्मेदवारीको विषयलाई लिएर एमाले उदयपुरमा विवाद बढ्दै गएको छ। नेकपा एमालेले त्रियुगा, चौदण्डी र कटारी नगरपालिकाको प्रमुख उप-प्रमुखमा सिफारिस गरेभन्दा बाहिरबाट नाम प्रस्तावमा आएपछि उम्मेदवारी विवाद सुरु भएको हो। एमाले उदयपुरका पूर्व अध्यक्ष तथा पूर्व जिल्ला विकास समितिका सभापति वेदप्रसाद पोखरेल कटारी नगरपालिकाको मेयर पदमा आकांक्षी देखिएका छन्।

तर उनको नाम नगर कमिटीबाटै सिफारिस भएको छैन्। उनी पार्टीका नेता माधव नेपाल समुह निकटका मानिन्छन्। माधव नेपाल समुह निकटकै इश्मणी राउत पार्टीका जिल्ला अध्यक्ष हुन्। उनी त्रियुगा नगरपालिकाको प्रमुखका आकांक्षी हुन्। तर उनको नाम पनि नगर कमिटीबाट सिफारिस भएको छैन्। यसरी जिल्लाकै शीर्ष नेताहरुले प्रक्रिया मिच्न खोजेपछि एमालेमा विवाद देखिएको छ।

प्रक्रियामा मिच्ने दाउमा राउत र पोखरेल मात्रै नभएर चौदण्डिगढी नगरपालिकामा प्रमुखको आकांक्षी रहेका नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष कुशलबाबु बस्नेत पनि छन्। उनको नाम पनि नगर कमिटीबाट सिफारिस भएको छैन्।

पार्टीका केन्द्रीय अध्यक्ष केपी ओली र माधव नेपाल पक्षधर स्थानीय नेताहरुबीचको विवादका कारण एमालेलाई उम्मेदवार चयन गर्न अझै केही समय लाग्ने देखिएको छ। प्रमुख पदमै विवाद देखिएपछि एमालेले उप-प्रमुख र अन्य वडा अध्यक्ष र सदस्यको टुङगो लगाउन सकेको छैन्।

माओवादीमा पनि उस्तै विवाद

माओवादीले पनि विवादकै कारण उम्मेदवारको टुंगो लगाउन सकेको छैन। । जिल्लाका ८ वटै स्थानीय तहको ७५ वटै वडामा दुई दिन भित्र उम्मेदवारी टुङगो लगाउने गरी गृह कार्य थालेको माओवादी केन्द्र उदयपुरले जनाएको छ। ‘अधिकांस तहको उम्मेदवारी जिल्ला पार्टी कार्यलयमा आइसकेको छ,’ माओवादी केन्द्रका जिल्ला संयोजक विनोद कटुवाल दिवशले भने, ‘धेरै ठाँउबाट एक पदको लागि एउटै व्यक्तिको नाम एकमतले सिफारिस भएकाले केही सजिलो भएको छ।’

उनका अनुसार ताप्लिमा गाँउपालिकाबाट ढुँगराज विक, सुनकोशी गाउँपालिकाबाट मेजर राई मिजास, बेलका नगरपालिकाबाट रमन भट्टराईको  नाममात्रै प्रमुख पदका लागि सिफारिस भएको छ। सर्वसम्मत भएका यी व्यक्तिहरुको नाम आधिकारिक रुपमा घोषणा गर्नमात्रै बाँकी रहेको उनले बताए।

कटारी नगरपालिकामा केपी बराल, झण्डबहादुर राई र योगेन्द्र दनुवार, चौदण्डी नगरपालिकामा राजन किराती बाँसु र  सन्तोष सुवेदी बलिदान तथा रौतामाई गाँउपालिकामा जीवनकुमार कार्की कुशल, इश्वर राना, पसरेन्द्र मगर र दिपेन्द्र दाहालको नाम सिफारिस भएको छ।

उदयपुरगढी गाँउपालिकामा देव गिरी र काजीमान तामाङको नाम सिफारिस भएको छ। त्रियुगा नगरपालिकाबाट किरण राई, मिनबहादुर ज्यु ठकुरी, नारायण बुर्जा, पदम दाहाल लगायतको नाम  सिफारिस भएको माओवादी केन्द्र उदयपुरले जानकारी दिएको छ।

धेरै व्यक्तिहरु सिफारिस भएर आएका स्थानीय तहमा उम्मेदवारी बन्न लविङ समेत सुरु भएको छ । माओवादीले जेठ १७ गतेभित्र उम्मेदवारको टुंगो लगाउने गरी तयारी थालेको जानकारी दिएको छ।

पहिलो चरणको निर्वाचनमा एउटै चुनाव चिन्हमा भोट मागेका संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल तथा राष्ट्रिय जनता पार्टी, पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, नेकपा क्रान्तिकारी माओवादी लगायत एउटै मोर्चा बनाएर चुनाव लड्ने योजनामा छन्। गाई चिन्ह भएको राप्रपा नेपालले पनि उम्मेदवारी टुङगो लगाउने प्रक्रिया सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.