|

  • मणि श्रेष्ठ

सुनसरी : दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा सुनसरीमा क्रियाशील रहेको राजनीतिक दलहरु उम्मेदवार छनोटको गृहकार्यमा छन्। १४ वटा स्थानीय तह रहेको सुनसरी जिल्लामा राजनीतिक दलहरुले उम्मेदवार सार्वजनिक गर्न नसक्दा कस्ता उम्मेदवार सार्वजनिक गर्ने हुन्? भन्ने चासो मतदाताहरुलाई छ।

राज्यपुनःसंरचना आयोगले सुनसरीमा १२ वटा स्थानीय तह निर्धारण गरेपनि सरकारले पछिल्लो समय देशभर २२ वटा स्थानीय तह थप्ने निर्णय गर्दा सुनसरीमा पनि २ तह थपिएका छन्।

यसरी स्थानीय तहको संख्या वृद्धि भएर १४ मा पुगेको सुनसरीमा कांग्रेस,एमाले र माओवादी नै प्रमुख शक्ति हुन्। यसबाहेक संघीय समाजवादी फोरम नेपाल,राप्रपा, राजपा र फोरम लोकतान्त्रिकको पनि सुनसरीमा राम्रो उपस्थिती छ।

दुई उपमहानगरपालिका, ४ नगरपालिका र ८ गाउँपालिका रहेको सुनसरीमा माओवादी केन्द्रले मात्र उप–महानगरपालिकाको उम्मेदवार सार्वजनिक गरेको छ। माओवादी केन्द्रले धरान उपमहानगरपालिकाको प्रमुखमा आइन्द्र विक्रम वेघाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। यस उपमहानगरपालिकाको उपप्रमुखको टुंगो लाग्न भने बाँकी छ। उपप्रमुखका लागि गंगा बराल, लक्ष्मी प्रधान र चेतना श्रेङको नाम सिफारिस भएको छ।

इटहरी उपमहानगरपालिकाको प्रमुखमा विरता किराती र उपप्रमुखमा सागर सुवेदीको नाम सिफारिस गरेको छ। नेकपा (माओवादी केन्द्र) सुनसरीका इन्चार्ज रामकुमारी चौधरी (रोजिना)का अनुसार बराह नगरपालिकाको प्रमुखमा कमल कटुवाल र उपप्रमुखमा संगिता किरातीलाई सिफारिस गरिएको छ ।

यसैगरी सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकामा प्रमुखमा नगेन्द्र कट्वाल र उपप्रमुखमा तोया गिरी पोदारलाई सिफारिस गरिएको छ। रामधुनी नगरपालिकाको प्रमुखमा दिनेश चौधरीको नाम सिफारिस गरिएको इन्चार्ज चौधरीले बताइन्। चौधरीले जेठ १५ गतेभित्र पार्टीले सबै स्थानीय तहका उम्मेदावरको टुंगो लगाउने बताइन्।

नेकपा एमालेले हालसम्म कुनै पनि स्थानीय तहको उम्मेदवारहरु सार्जजनिक गर्न सकेको छैन्। एमाले सुनसरीका उपाध्यक्ष रमेश बस्नेतका अनुसार शुक्रबारसम्ममा सुनसरीको उपमहानगरपालिका बाहेकका स्थानीय तहमा भने उम्मेदवार टुंगो लगाईसक्ने बताए।

'जिल्ला स्तरबाट वडाको मात्र उम्मेदवार टुंगो लगाउने भएको हुदा वडा तहको उम्मेदवार टंगो लगाउने अन्तिम चरणको पुगेको छ,' उपाध्यक्ष बस्नेतले भने।नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा तथा इटहरीमा द्धारिकलाल चौधरीको नाम चर्चामा छ।

नेपाली कांग्रेसले पनि शुक्रबारसम्म उम्मेदवारहरुको टुंगो लगाउने बताएको छ । जिल्ला सभापति राजिव कोइरालाका अनुसार सिफारिस भएर आएको उम्मेदवारहरुको बारेमा छलफल भइरहेको छ।' जतिसक्दो छिटो उम्मेदवार टुंगो लगाउने तयारीमा छौं,'कोइरालाले भने।

नेपाली कांग्रेशबाट धरानको प्रमुखमा किशोर राई र इटहरीको प्रमुखमा हेमकर्ण पौडेलको नाम चर्चामा छ। नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागि हुने भएका कारण आन्तरिक छलफलका दुबै पार्टीका नेताहरु जुटेका छन्।

छलफल चलिरहेका कारण उम्मेदवारको टुंगो लगाउन केही ढिलाई भएको पार्टी स्रोतले जनाएको छ। धरान उपमहानगरपालिकाको प्रमुखमा भने यस गठबन्धनका तर्फबाट संघीय समाजवादीका धरान नगर अध्यक्ष पारस काङमाङको उम्मेदवारी पक्का भइसकेको छ। राप्रपाले पनि स्थानीय तहको उम्मेदवारहरुको छनोट प्रक्रिया टुंग्याउन अन्तिम गृहकार्य भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.