|

  • मणिलाल विश्वकर्मा-

लहानः सिरहाको धनगढीमाई नगरपालिका– १० जिरोमाइलका ६६ वर्षका श्रीदेव चौधरीका सम्पूर्ण परिवार नै फलफूल नर्सरी व्यवसायमा लागेका छन्। चौधरीले सरकारी जागिर छोडेर २०४३ सालमा थालेको आँप र सिसमको नर्सरी व्यवसाय उनका खलकले गरिरहेका छन्। 

चौधरीले थालेको फलफूल नर्सरी व्यवसाय उनका सहोदर भाइहरू सुरुज, गुरुदयाल र कपिलदेवले पनि गरिरहेका छन्। सुरुमा १० कठ्ठा जमिनमा थालेको नर्सरी व्यवसाय अहिले १० विगाहभन्दा बढी जमिनमा गरिरहेको चौधरीले बताए। 

परिवार सगोलमै रहँदा सुरु गरेको नर्सरी व्यवसाय २०६६ सालपछि सबै भाइले छुट्टाछुट्टै रूपमा संचालन गरिरहेका छन्। उनले पुख्र्यौली सम्पत्तिको अंशवण्डापछि आफ्नो भागमा साढे दुई विगाह नर्सरी परेको सुनाए। ‘आफ्नै नाममा रहेको जग्गामा अहिले आँप, लिच्ची, कटहर, अमला, अम्बा, कागतीलगायतका एक दर्जनभन्दा बढी फल दिने बिरुवाको नर्सरी छ’, उनले भने।

चौधरीको नर्सरीमा काठ उत्पादन हुने तथा फलफूलका बिरुवासहित अहिले ७० भन्दा बढी जातका फलफूलका बिरुवाहरू छन्। नर्सरीमा अहिले लाखौँको संख्यामा बिरुवाहरू रोप्न तयारी अवस्थामा रहेको चौधरीले बताए। नर्सरीमा अहिले ६० हजारभन्दा बढी आँपका बिरुवा तयार छन्। 

श्रीदेवका कान्छा भाइ कपिलदेव चौधरीको नर्सरीमा पनि लाखौँको संख्यामा सबै प्रजातिका बिरुवाहरू छन्। अन्य बिरुवाको तुलनामा आँपको बिरुवा बढी बिक्ने भएकाले नर्सरीमा आँपकै बिरुवा बढी रहेको उनका जेठा छोरा ३२ वर्षका रामकुमार चौधरीले जानकारी दिए। उनका अनुसार ठूलोबुबा श्रीदेव चौधरीले थालेको यो व्यवसायले चौधरी परिवारमा आर्थिक रूपले राम्रो भरथेग गरिरहेको छ। 

आफ्ना बाबुले चलाइरहेको नर्सरीमा पछिल्लो केही दिनदेखि आफूले पनि सहयोग गरिरहेको उनले बताए। उनले भने, ‘सबै एउटै पेशामा नलाग्ने भनेर मैले तयारी कपडा व्यापार गरेँ, बुबा एक्लैले नसक्ने भएपछि सघाउन जोडिएको हुँ।’ 

कपिलदेवको पुख्र्यौली सम्पत्तिबाट आफ्नो हिस्साको रूपमा पाएको दुई विगाह र भाडामा लिएको एक विगाहसहित साढे तीन विगाहभन्दा बढी जमिनमा नर्सरी फैलिएको छ। उनको नर्सरीमा सबै प्रजातिका गरी दुई लाखको हाराहारीमा बिरुवाहरू रहेका छन्। 

श्रीदवेका माहिला भाइ सुरजको पनि मुख्य व्यवसाय नर्सरी नै हो। उनले आफ्नो नर्सरीमा बढी आँपको माउ बिरुवा उत्पादन गर्ने बताउँछन्। ‘त्यसबाहेक मसला र कागतीका बिरुवाहरू उत्पादन गर्छु’, उनले भने। 

श्रीदेवका साहिँला भाइ शिक्षण पेशासँगै नर्सरी व्यवसायसमेत गरिरहेका छन्। उनले विभिन्न जातका फलफूलका बिरुवा उत्पादन गरिरहेका छन्। उनले आफ्नो नर्सरीमा फूलका बिरुवा र फूल उत्पादन गर्नेमा विशेष जोड दिएको बताए। फलहरूको तुलनामा थोरै लगानी र छोटो समयमा यसबाट लाभ लिन सकिने भएकाले फूलतर्फ विशेष जोड दिएको उनको भनाइ छ।

राम्रो आम्दानी हुने भए पनि छोरा पुस्ता नर्सरी व्यवसायमा त्यति आकर्षित नभएको चौधरी दाजुभाइको भनाइ छ। ‘धेरै मिहिनेत गर्नुपर्ने र प्रतिष्पर्धा पनि बढेकाले छोराहरू नर्सरी व्यवसायमा आउन चाहेका छैनन्’, श्रीदेवले भने। 

सिरहाका प्रायः सबै भागमा गरी करिब ६० हेक्टर जमिनमा नर्सरी लगाउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। नर्सरी व्यवसायमा वार्षिक १० करोड रूपैयाँभन्दा बढीको कारोबार हुने कृषि कार्यालयको अनुमान छ।

जिल्लाको कुल नर्सरी खेतीको ७५ प्रतिशतभन्दा बढी नर्सरी धनगढीमाई नगरपालिका– १० मा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। यहाँका बिरुवाहरूमा प्रजातिको ग्यारेण्टी र गुणस्तरीय हुने भएकाले मुलुकका विभिन्न ठाउँमा लैजाने गरेको जानकारी दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.