|

बाजुरा : सदरमुकाम मार्तडीबाट ६० कोस टाढा रहेको हिमाली गाउँपालिका–३ गुम्बागाउँमा चुनावी गतिविधि शून्यप्रायः छ । हिमाली क्षेत्र भएकाले उनीहरू चिसो छल्न बेंसी गएर केही दिनअघि मात्र गाउँ फर्किएका हुन्। अहिले उनीहरूलाई भेडाबाख्रा चरन क्षेत्रमा लिने हतारो र घरको व्यवस्थापनबाहेक अरूमा ध्यान छैन । राजनीतिक दलका कार्यकर्ता र निर्वाचन कार्यालयबाट मतदाता शिक्षा दिन खटिएका मतदाता शिक्षा कार्यकर्तासमेत पुगेका छैनन्।

लाम्पाटा र गुम्बा गाउँमा २६ परिवार बसोबास गर्छन् । उनीहरूका लागि एक दिनको पैदल दूरीमा रहेको गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र तोकिएको छ । ‘माननीयको चुनावमा मत हाल्न गइनँ, यो चुनावमा कसरी मत हाल्ने हो, कसैले सिकाएका छैनन्,’ स्थानीय छिरिङघोर्चे लामाले बताए। सो गाउँपालिका–३ गुम्बागाउँमा ३० जना मतदाता रहेका छन्। आठ महिला र २२ पुरुषको मतदाता सूचीमा नाम देखिन्छ।

जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा समेत मतदाता शिक्षाको प्रचारप्रसार देखिँदैन। राजनीतिक दलहरूले समेत चुनावी गतिविधि सञ्चालन गरेका छैनन् । उम्मेदवारको समय टुंगो नलाग्दासमेत चुनावी माहोल नबनेको हो। ‘हातमुख जोड्नै समस्या छ, भोट कसरी हाल्ने भन्ने पछिको कुरा हो,’ स्वामीकार्तिक गाउँपालिका–४ वाईका वीरबहादुर भियालले भने।

स्वामीकार्तिक गाउँपालिकाको कर्णाली नदीतीरमा बिहानको समयमा एक–दुई सय स्थानीय भेला भएका थिए, त्यो देखेर निर्वाचनको गतिविधि केही भएको छजस्तो देखिन्थ्यो। तर, त्यहाँ खडेरी क्षेत्रको राहतस्वरूप आएको चामल पाउन सडक काटिरहेका स्थानीयको जमात रहेछ। त्यहाँ काम गरिरहेकालाई सोध्दा उनीहरूले समेत निर्वाचनबारे खासै चासो दिएनन्। ‘चुनाव एक दिनको हो, खान बाँच्तासम्म चाहिन्छ,’ बेल्चा समातेकी पाटकला बुढाले बताइन्।

गाउँमा निर्वाचनको अन्योलता भएकाले समेत स्थानीयहरूमा निर्वाचन हुनेमा भ्रम छँदै छ । गाउँमा खटिएका मतादाता शिक्षा कार्यकर्ताले समेत आफ्नो काम खटिएर गरेका छैनन्। स्थानीयहरूले अहिलेसम्म भोट कसरी दिने भन्नेबारे जानकारी नपाउने हो भने दुर्गम क्षेत्रमा समेत बदर मतको संख्या कम हुनेछैन।

जिल्लामा ६९ मतदान केन्द्र छन्। एक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा कार्यकर्ता खटाएको र गएको शुक्रबारबाट नियमित काममा लाग्न पत्राचार गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मानबहादुर थापाले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.