विचार

प्रचण्डको विकल्प प्रचण्ड बन्दै
SHARES

जेठ १२, २०७४

    नेपालमा पनि पर्दा पछाडिका भद्र सहमतिहरू कार्यान्वयन त्यतिबेला हुन्छन्, जतिबेला प्रतिपक्ष सरकार बचाउनका लागि बालकोटदेखि भैँसेपाटीसम्म गिडगिडाइरहेको हुन्छ। त्यसैले भन्न मन लाग्छ, नेपालमा प्रचण्डको विकल्प प्रचण्ड नै बन्दै छन्।

    नेपालको राजनीति र तराईमा जग्गाको भाऊ एउटै प्रकृतिको देखिन्छ। यहाँ जो संयम छ, उसले कमाउँछ र जो छिटो आत्तिन्छ, उसले गुमाउँछ। राजनीतिमा सफलताका लागि वर्षौं टिक्नुपर्दछ। एकैछिनमा यहाँ केही प्राप्त हुँदैन, जसरी आजभन्दा ३० वर्ष अगाडि गर्मी, सर्पको डर, डेँगुको डर आदिको कारण तराइंमा जग्गा सस्तो पाइन्थ्यो। अहिले सबैभन्दा महँगो तराई भएको छ। 

    २०६४ सालमा कठ्ठाको एक् लाख रुपियाँ क्या  महँगो पार्न सकियो भन्दै बेचिएको खेत अहिले ३० लाख रुपैयाँ कठ्ठा पर्ने  भएको छ। त्यसैगरी दोस्रो संविधानसभाको समयमा व्यापक हारपछि पूर्ण रक्षात्मक देखिएको माओवादी केन्द्र यस पटक सशक्त मतका साथ निर्विकल्प तेस्रो राजनीतिक शक्तिको रूपमा उभिएको छ। 

    यसरी हेर्दा राजनीतिमा  संयम र नैतिकता ज्यादै ठूलो गहना हुने रहेछन्। यहाँ अघिल्लो हार र पछिल्लो जीत दुवैमा प्रचण्डकै नेतृत्वले काम गरिरहेको छ। त्यसैले उनी पार्टीमा निर्विकल्प एक बन्दै छन्। 

    त्यसो त दुनियाँमा गुण र दोषको संयोग नभएको मानिस भेटिएको छैन तर दोस्रो संविधानसभापछि प्रचण्डको जनव्यवहार बढी सकारात्मक भएकाले उनी माओवादी केन्द्रमा सबैभन्दा सशक्त नेता बन्दै गएका छन्। आर्थिक र पारिवारिक विषयवस्तुका अवगाललाई चिर्न सक्ने हो भने माओवादीमा प्रचण्डको विकल्पमा तत्काल अलि तलैसम्म कोही देखिनेछैन।

    बितेको दुई दशकको नेपालको राजनीति एक प्रकारले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको कारणले सबैभन्दा बढी प्रभावित भयो र स्थानीय निर्वाचन सफल पारेको र आफ्नो पार्टीलाई तेस्रो बनाएकाले उनी एक सफल नेता बन्दै गरेको तस्वीर देशभर देखिँदै छ। 

    देशमा लामो र ठूलो जनयुद्ध भयो। त्यसका राम्रा नराम्रा जे घटना भए, निःसन्देह प्रचण्डको कारणले भए किनकि त्यसको नेतृत्व उनको थियो। उनकै पार्टीको मागबमोजिम देशमा संविधानसभाको चुनाव भयो। उनकै नेतृत्वमा पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्यो। प्रचण्डलगायत माओवादीका नेताहरूमा त्यतिबेला देखिने घमण्डीपन विजयोन्मादको नेतृत्व पनि प्रचण्डले नै गरे। 

    पहिलो कार्यकालमा प्रचण्डकै भनाइअनुसार पशुपति, सेनापतिलगायत कारणले पार्टी अतिबदनाम भयो। ठूलो पार्टीकै नेतृत्वमा सरकार रहे पनि संविधान बन्न सकेन। युद्धकालका सेना समायोजनको काम जेनतेन सम्पन्न भयो तर देश र जनताले अघिल्लो कार्यकालमा प्रचण्डबाट केही पाउन सकेनन्। फलस्वरूप दोस्रो कार्यकालमा पार्टी नराम्रोसँग पराजित हुनपुग्यो। पहिलो पटक विजयको श्रेय लिएका प्रचण्ड दोस्रो पटकको हारको जिम्मा लिन पनि बाध्य भए।

    दोस्रो संविधानसभाको हारपछि प्रचण्डले गरेका हरेक कामहरू यो देशका लागि अति नै उपयोगी हुँदै गए। सबैभन्दा राजनीतिक जिम्मेवारी उनले संविधान बनाउने काममा देखाए। त्यो बेला सत्तापक्षबाट केपी ओली, सुशील कोइराला र विजयकुमार गच्छदारले भन्दा पनि माथि उठेर संविधानमा सहमति जनाउनु प्रचण्डको व्यावहारिक सफलताको सुरुवात थियो। 

    सामाजिक सफलता र कार्यक्रमगत सफलता दुई अलग विषयवस्तु हुने रहेछन्। त्यसैले गर्दा व्यवसाय, व्यापारमा सफल हुनु, पढाइमा सफल हुनु, परीक्षामा सफल हुनु, कुनै योजना परियोजनामा सफल हुनु अलग कुरा हो। राजनीतिमा विजेता भनेको पद पाउने मात्र होइन, त्यो पदमा ल्याउनेको गुन संझेर तिनीहरूप्रति इमान्दार बन्नु पनि हो। फेरि पनि पदमा ल्याउने भनेका जनता नै हुन् । प्रजातान्त्रिक परिपाटीअनुसार जनताको माझमा सफल हुनु गौरवको विषय हो। 

    जनयुद्धको नेतृत्वलगाायत देशको व्यापक राजनीतिक परिवर्तनको संवाहकको रूपमा पुष्पकमल दाहाल संभवतः २०५२ पछि  सबैभन्दा आशा गरिएका, इष्र्या र चर्चा गरिएका, सम्मान र घृणा गरिएका पात्र हुन्। उनकै माग र मुद्दाले नेपाल गणतान्त्रिक देश बन्यो तर प्रचण्ड अनेक अनेक तरिकाले बदनाम हुँदै गए। 

    हिजो पार्टीका अनेक टुक्रा बन्दै गए। बोलीमा तथ्यपरकताभन्दा भावपरकता, व्यापकता, एकै दिन एउटै विषयवस्तुको फरक व्याख्याको कारण प्रचण्डको विश्वसनीयता हिजो घटेको नै हो।  अर्कोतर्फ अस्वाभाविक आर्थिक हैसियतले पनि उनलाई सर्वाधिक आलोचनाको पात्र बनाइदियो। यसबीच उनीमाथि अनेक आक्षेप पनि नलागेका होइनन्।

    ती अनेक आक्षेपहरू गलत भए ती हल्ला फिजाउनेलाई पाप लागोस् र सही भए प्रचण्डलाई पाप लागोस्। देश सेवा गर्न प्राणको बाजी थापेर राजनीतिमा लागेको नेताले कुनै पनि तरिकाले दाम कमाएर नाम लुकाएर सम्पत्ति जोड्न पाइँदैन/हुँदैन, त्यो जनताप्रति गद्दारी हो। नेता भनेको जनताले खाए खाने र नखाए भोकै बस्ने सामाजिक मर्यादाको पदवी हो। अन्य सुख, सयल र ऐश गर्ने भए व्यापारी वा भ्रष्टाचारी बन्नुपर्दछ। यसबारे समय र परिवेशले सत्यतथ्य बाहिर ल्याउला। 

    जे होस्, दोस्रो संविधानसभाको हारपछि प्रचण्डले गरेका हरेक कामहरू यो देशका लागि अति नै उपयोगी हुँदै गए। सबैभन्दा राजनीतिक जिम्मेवारी उनले संविधान बनाउने काममा देखाए। त्यो बेला सत्तापक्षबाट केपी ओली, सुशील कोइराला र विजयकुमार गच्छदारले भन्दा पनि माथि उठेर संविधानमा सहमति जनाउनु प्रचण्डको व्यावहारिक सफलताको सुरुवात थियो। 

    संविधानसभापछि तथाकथित ‘भद्र सहमति’अनुसार सुशील कोइरालाले केपी ओलीलाई सरकार बनाउन सघाउनुपर्नेमा राजनीनामा त दिए तर आफैँ फेरि उम्मेदवार बने, जुन  लाग्छ, उनको ठूलो राजनीतिक भूल थियो। त्यो अवस्थामा ओलीलाई प्रधानमन्त्री बनाउने जिम्मेवारी पनि प्रचण्डले लिए। सायद प्रचण्ड नभएको भए अर्थात उनले साथ नदिएको ओली प्रधानमन्त्री हुन निकै कठिन हुने थियो।

    केपी ओली प्रधानमन्त्री बन्ने बेला पनि एमाले र माओवादी केन्द्रबीच अर्को भद्र सहमति भयो र त्यो सहमति ओलीले तोडे। अर्थात् २०७३/०७४ को बजेट भाषणपछि ओलीले सरकार छाडेर प्रचण्डलाई दिने सहमति भएको कुरा एमालेकै नेता झलनाथ खनालले सार्वजनिक रूपमा भनेका हुन्। त्यतिबेला ओलीले भद्र सहमतिमाथि बेइमानी गरे र नेपाली कांग्र्रेससँग तेस्रो गोप्य भद्र सहमतिमार्फत प्रचण्ड दोस्रो पटकका लागि  प्रधानमन्त्री बने। 

    उनी प्रधानमन्त्री भएपछि देशले केही पायो। जस्तैः उज्यालो, निःशुल्क डायलाइसिस सेवा र केही रोगको निःशुल्क अपरेशन आदि आदि। यी भौतिक कुरा थिए। निरन्तरको प्रयास, वार्ता र सहमतिको अधारमा एक चरणको स्थानीय निर्वाचन गराउनु ज्यादै ठूलो उपलब्धि थियो। 

    यो निर्वाचनले मात्र नयाँ संविधानलाई सबैभन्दा बढी वैधानिकता दिएको यथार्थ कसैले भुल्नुहुँदैन। यस पटक प्रचण्डले कुनै पनि ठाउँमा बलजफ्ती गरेनन्। जस्तैः प्रहरी प्रमुख नियुक्ति काण्डमा होस् वा प्रधानन्यायाधीशमाथिको महाअभियोग काण्डमा होस्, दोष देउवाको टाउकोमा गयो, तर कामको जस माओवादी केन्द्रले पायो। किनकि प्रचण्डले त्यहाँनेर अनावश्यक हस्तक्षेपको दाबेदारी गरेनन्। 

    पार्टी छोडेकालाई समेट्दै एउटा सशक्त पार्टी बनाएर नेपाल जस्तो देशमा भद्र सहमति जस्तो गोप्य लिखतममा इमान्दार बनेर अगाडि बढेकाले माओवादी केन्द्रभित्र र कताकता समग्र देशभित्र ‘प्रचण्डत्व’ विजयी भएको महसुस आमजनको छ। 

    त्याग सबैभन्दा ठूलो विजय हो। गणेशमानले प्रधानमन्त्री नछोडेको भए एक वर्ष कुर्सीमा त बस्थे तर इतिहासले अहिले जस्तो उनीप्रति सम्मान गर्ने थिएन।
     

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]