|

उदयपुर : उदयपुरको कटारी नगरपालिकाको कटारी बजारमा रहेका बैंकहरुमा एटिएम सेवा नहुँदा सेवाग्राही मार्कामा परेका छन्। बैंकहरुको छिटो र छरितो तरिकाले सेवा दिने एउटा लोकप्रिय माध्यम एटिएम सेवा भए पनि कटारीका आधा दर्जन बैंकहरुमा अझै एटिएम सेवा नहुँदा सेवाग्रही मार्कमा परेका हुन्।

‘जो कोही सेवाग्रहीले चेक काटेर लाइनमा बस्न बाध्यता छ,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका पूर्व–महासचिव प्रयास कार्कीले भने, ‘कटारीमा रहेका विभिन्न कुनै पनि बैंकहरुमा एटिएम मेसिन छैन।’ दैनिक दुई सय पचासको संख्यामा चेक साट्न सेवाग्राहीहरु राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीमा आइपुग्ने गरेका छन्। एटिएम नहुँदा सेवाग्राहीहरुले दैनिक लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ।

आकस्मिक प्रयोजनका लागि पैसा निकाल्न र पठाउनु पर्दासमेत लाइनले समस्या हुने गरेको सेवाग्राहीहरुको गुनासो सेवाग्राहीको छ। अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंक कटारी शाखाको लागि स्विकृति भइसकेको एटिएम मेसिन खोटाङको दिक्तेल पठाइएपछि कटारीमा एटिएम आउन नसकेको शाखा प्रमुख उमापति बास्तोलाले बताए।

‘आगामी आर्थिक वर्षमा फेरि एटिएम स्विकृत भइसकेको छ,’ बास्तोलाले भने, ‘एकातिर ७ जना कर्मचारी हुनुपर्नेमा ४ जना मात्रै कर्मचारी कार्यरत रहेकाले भीडभाडमा सेवा दिन समस्या हुने गरेको छ।’

कर्मचारी अभाव हुँदा प्रमुख आफैं नगद शाखामा बस्नुपर्ने, स्थलगत काममा जान समय नमिल्ने तथा बजार व्यवस्थापनको काममा समेत सक्रिय हुन नसकेको कर्मचारीहरुले जानकारी दिए।

कटारीमा राष्ट्रिय वाणिज्य बैंक, एनएमबी, अरनिको बैंकहरुमा पनि सेवाग्राहीहरु धेरै भए पनि एटिएम मेसिन उपलब्ध छ्रैन। कटारीमा रहेका दर्जनबढी सहकारी संस्थाहरुबाट हुने आर्थिक कारोबारमा समेत एटिएम मेसिन नहुँदा समस्या हुने गरेको बैंकका कर्मचारीहरुको दुखेसो छ।

बजारमा ठूला व्यापारीहरुले समेत बैंक व्यवस्थापन नहुँदा व्यापारिक कारोबारमा समस्या भोग्नु परेको छ। त्यसैगरी छिमेकी जिल्ला सिन्धुलीको पूर्वी भेगका सेवाग्राहीहरु समेत कटारीमा सेवा लिने गर्दा झनै सेवाग्राही बढी हुने गरेका छन्।

सिन्धुलीको दुधौलीमा मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्रको स्थापना भए पनि दुधौलीको बैंक शाखामा पनि एटिएम नहुँदा समस्या बढ्दै गएको छ। छिमेकी जिल्ला सिन्धुली मात्र नभएर पश्चिीम र उत्तर क्षेत्रमा पर्ने आधा उदयपुरकै मुख्य बजारको कटारी बजार पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.