|

लहान : मलेठ गोलीकाण्डको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगद्वारा गठित उच्चस्तरीय टोली घटनाको छानबिन गरेर फर्किएको छ। मलेठ गोलीकाण्डको छानबिनका लागि सर्वोच्च अदालतका पूर्व–न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा रहेको चार सदस्यीय टोली छानबिनपछि शुक्रबार फर्किएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।

उच्चस्तरीय टोली बुधबार र बिहीबार सदरमुकाम राजविराजबाट तीन किलोमिटर उत्तर पर्ने मलेठ गाउँमा प्रहरीको गोलीबाट पाँच जना मारिएको घटनास्थल पुगेर मृतकको परिवार, प्रत्यक्षदर्शी, नेकपा (एमाले) ले आयोजना गरेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र परिसरको कार्यक्रमस्थलको समेत अवलोकन गरेको प्रजिअ कटवालले बताए।

टोलीले सप्तरीका प्रजिअ कटवालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, राजनीतिक दलका प्रतिनिधि, मानवअधिकारकर्मी, कानुन व्यवयासी, पत्रकार, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दलका अध्यक्षहरु, नागरिक समाजका अगुवा, घटनाका प्रत्यक्षदर्शीसँग घटनाको विषयमा छलफल गरेको छ।

राष्ट्रिय मानवअधिकार आयोगको गत चैत ३१ गतेको निर्णय अनुसार छानबिनका लागि अन्सारीको संयोजकत्वमा फोरेन्सिक विज्ञ डा. हरिहर वस्ती, आयोगका मानवअधिकार अधिकृतद्वय मञ्जु खतिवडा र जीवन न्यौपानेसहितको चार सदस्यीय टोली मलेठ घटना छानबिनका लागि आएको हो।

त्यसअघि, व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तरत मलेठ घटना छानबिन उपसमितिका संयोजक मोख्तार अहमदको पाँच सदस्यीय छानबिन टोलीले पनि गत चैत १० र ११ गते मलेठ गोलीकाण्डको छानबिन गरी चैत १५ गते सरकारलाई छानबिन प्रतिवेदन बुझाएको थियो।

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तरत गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गरिएको जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर मलेठ गाउँका २ का २४ वर्षका सञ्जन मेहता, प्रसवनी गाविस ४ टेङ्ग्रीका वर्ष ४२ का सिअहेव आनन्दकुमार साह, २ का वर्ष ४० का वीरेन्द्र महतो, मलेठ ४ जलहरीका वर्ष ४५ का पीताम्बर मण्डल, जमनी मध्यपुरा १ कटवीका करिब ५७ वर्षका इनर यादव मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.