|

काठमाडौं : कलाकारिताबाट साहित्य लेखनमा हात हालेका हरिवंश आचार्य उपन्यास ‘हरिबहादुर’ लिएर देश यात्रामा निस्केका छन्। पूर्व-पश्चिम नेपालका मुख्य सहरका पाठकसँग साक्षात्कार गर्न काठमाडौंबाट सुरु भएको यात्रालाई ‘हरिबहादुर किताब यात्रा’ नाम दिइएको छ।

आफ्ना जोडी हरिवंशलाई पाठकहरुमाझ 'हरिबहादुर' पुर्‍याउन विदाइ गर्न आएका थिए कलाकार मदनकृष्ण श्रेष्ठ। मदनकृष्णले काठमाडौंको ग्राण्ड होटल ताहचलमा एक कार्यक्रमका बीच विदाइ गरेका थिए।

‘पुस्तक लेखिन्छ तर त्यसलाई बजारमा पुर्‍याउने काम त्यति व्ववस्थित रुपमा गरिँदैन। यस यात्राले पुस्तकलाई पाठकसम्म पुर्‍याउन महत्वपूर्ण काम गर्छ भन्ने लाग्छ’ मदनकृष्णले भने, ‘'चिना हराएको मान्छे'को प्रकाशनपछि आत्मकथाको एउटा लहर नै आएको थियो। 'हरिबहादुर'को प्रकाशनपछि उपन्यास लेखनमा अर्को लहर आउँछ भन्ने मलाई विश्वास छ।’  

नेपाली साहित्यका पाठक लाखौं भएको र अझै बढाउन ‘हरिबहादुर किताब यात्रा’ थालिएको हरिवंश आचार्यले बताए। विभिन्न सहरमा हुने कार्यक्रममा पाठकहरुसँग उपन्यास 'हरिबहादुर'बारे चर्चा गरिने उनले जानकारी दिए। उनले भने,'किताबको बजार विस्तार गर्नका लागि यो यात्रा सुरु हुदैछ। यो पठनसंस्कृति विकास गर्नका लागि पनि यो यात्रा हो।'

यात्रालाई लिएर उत्साहित देखिएका हरिवंशले भने, ‘यस यात्रामा मैले पूर्वदेखि पश्चिमसम्मका पाठकहरुसँग प्रत्यक्ष संवाद गर्नेछु। यो मेरो लागि सर्वथा नौलो अनुभव हुनेछ। साथै, यो मेरा लागि पाठकहरुको कुरा सुन्ने राम्रो मौका पनि हुनेछ।’ 

'हरिबहादुर' उपन्यासको प्रकाशन गरेको प्रकाशन गृह फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारी उपन्यास लिएर पाठकहरुमा जानु साहित्य बजार विस्तार र पठन संस्कृति विस्तारको नयाँ तरिका भएको बताए।

उनले भने, ‘फाइनप्रिन्टको स्थापना कालदेखि नै पुस्तक प्रवर्द्धनमा नयाँनयाँ प्रयोग गरेर पुस्तकको बजार विस्तार गर्दे लैजाने हाम्रो प्रयास रहदै आएको छ। यो किताब यात्रा त्यसैको पछिल्लो कडी हो।’ उनले नेपालमा यसरी लेखकसहितको टीम उपन्यासको प्रचारप्रसार गर्न यात्रामा नै निस्केको पहिलोपटक भएको दावी गरे।

काठमाडौंबाट सुरु भएको १४ दिनको ‘हरिबहादुर किताब यात्रा’ पोखरा, बुटवल, दांङ, सुर्खेत, कोहलपुर, धनगढी, नारायणगढ, बिर्तामोड, विराटनगर, धरान र सिन्धुली पुगेर टुंगिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.