|

इलाम : नेपालमा चिया खेती भएको १ सय ५४ वर्षपछि नेपाल सरकारले चिया क्षेत्रको अध्ययन तथा सर्भेक्षण सुरु गरेको छ। राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्यांक विभागले चिया खेतीको अध्ययन सुरु गरेको हो।

एक वर्षमा अध्ययन पूरा गर्ने लक्ष्यका साथ तथ्यांक विभागले इलामको फिक्कलमा चिया उद्यमी, किसान, चिया सहकारी र प्राविधिकहरुसँग छलफल सम्पन्न गरेको छ। २०७४ पुससम्ममा फिल्डको सर्भेक्षण सम्पन्न गरिने अध्ययनमा चिया क्षेत्रको सम्पूर्ण पक्ष समेटिने तथ्यांक विभागका निर्देशक बद्रिबहादुर कार्कीले बताए।

अध्ययनमा नेपाली चियाको परिचय, ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल ऋण तथा अनुदानको विवरण संकलन गरिने छ। यसैगरी रासायनिक मल तथा विषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था र बिक्री मूल्य, प्राविधिक सेवाको पहुँच र आयात निर्यातसम्बन्धी अध्ययन गरी राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरिनेछ।

चिया खेतीसम्बन्धी सरकारी क्षेत्रबाट अध्ययन नहुँदा राष्ट्रिय योजना आयोगले योजना निर्माण तथा कार्यान्वयन गर्न समस्या भएकाले यो सर्भेक्षणले ठूलो सहयोग पुग्ने तथ्यांक विभागका अधिकृत गणेशप्रसाद फुँयालले बताए।

विक्रम सम्वत १९२० मा खेती गरिएको चियाको अध्ययन नहुँदा तथ्यांक नै फरक पर्दै आएको भन्दै सरोकारवालाले ढिलो भए पनि अध्ययन सुरु भएकोमा खुसी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.