|

प्युठान : वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा ज्यान गुमाएका प्युठानका एक युवाको शव ल्याउन परिवारलाई समस्या परेको छ। प्युठान साविक धर्मावती गाविस १ रानी काम्लाका ३७ वर्षीय विक्रम एमसीको शव ल्याउन समस्या परेको उनका दाजु शिवबहादुर एमसी (विदुर) ले बताए।

बैशाख २८ गते साउदी अरबको दमाममा विक्रमको सडक दुर्घटनामा परी मृत्यु भएको थियो। रोजगारदाता कम्पनी क्षितिज इम्प्लोइमेन्ट सर्भिस प्रालि र वैदेशिक रोजगार तथा श्रम विभागले शव ल्याउन कम्तीमा दुई महिना लाग्ने बताए पनि परिवार चिन्तित भएका छन्।

‘भएको सम्पत्ति बैंकमा ऋण गरेर विदेश जानुभयो।’ मृतककी श्रीमती कमलाले भनिन् भारतको दिल्लीमा काम गर्दै आएका विक्रम चार महिनाअघि मात्र अरब पुगेका हुन्। दाहसंस्कार गरेर मृत्युको पीडा भुल्ने वेलासम्म शवकै चिन्ताले सताउने गरेको मृतकका दाजु शिवले बताए।

घटनाबारे तीनदिनपछि अरबमा रहेका नेपाली नरेश अधिकारीले घरमा खबर गरेको शिवले बताए। शव नेपाल ल्याउन र क्षतिपूर्तिका लागि पहल गरिदिन परिवारले सरकारसमक्ष आग्रह गरेका छन्। मृतक विक्रमका ११ र ९ वर्षीय दुई छोरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.