|

सुर्खेत : अखण्ड मध्यपश्चिमको माग गर्दै २०७२ साउन २२ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका सुर्खेतका ३ जना सहिदहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ। सिमाकंनमा असन्तुष्टी जनाउँदै सुर्खेतमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार र टिकाराम गौतमलाई वीरेन्द्रनगरको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १७ औँ बार्षिक उत्सवको अवसरमा मरणोपरान्त सम्मान प्रदान गरेको हो।

सहिदहरुको सम्झना र सम्मानमा उनीहरुको परिवारलाई यस संस्थाले जनही १० हजार ५ सय रुपैँया नगद र प्रमाण पत्र प्रदान गर्‍यो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका सुर्खेतका नवनिर्वाचित उपप्रमुख मोहनमाया ढकालले  शहिदका परिवारलाई नगद र प्रमाणपत्र प्रदान गरिन्।

उनले प्रदेश नम्बर ६ स्थापना र अखण्ड मध्यपश्चिमका लागि भएको आन्दोलनका क्रममा मृत्यु हुनेहरुको सम्झना गर्दै अब सुर्खेत वीरेन्द्रनगरलाई ६ नम्बर प्रदेशको राजधानी बनाएर सहिदको सपना पुरा गर्ने बताइन्।

अहिलेको संविधानले महिलाहरुलाई धेरै हक अधिकार दिएकाले त्यसलाई सही उपयोग गर्नुपर्ने उनले बताइन्।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी संघका संचालक पदम दाहालले बौद्ध ग्रामीण सहकारीको कामको प्रशंसा आफुले विदेशमा सुन्दा पाउँदा निकै खुशी लाग्ने गरेको बताए। उनले यसरी नै प्रशंसनीय योग्य काम सुझाव दिए।

कार्यक्रमका सभापति बौद्ध ग्रामिण सहकारी संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले बंगलादेशबाट सुरु भएको लघुवित्त कार्यक्रमलाई आफ्नो समूहले सुर्खेतमा सुरु गरेको बताए। उनले यस संस्थाको सञ्चालनपछि सदस्यहरुको जीवन परिवर्तन भएको देख्दा संस्था सफल भइरहेको अनुभव गरेको बताए।

उनले संस्थाका सम्पूर्ण शेयर सदस्य, संचालक समिति, कर्मचारी परिवार र सदस्यहरुको आर्थिक सहयोगले आफुले कलेजो प्रत्यारोपण गरि नयाँ जीवन पाएकोले अब एउटा स्वास्थ उपचार कोष खडा गरी व्यक्तिगत रुपमा त्यस कोषका लागि १ लाख रुपैयाँ दिने घोषणा गरे।

बचत तथा ऋणबाट सुरु गरेको बौद्धले २०६३ साल जेठबाट बौद्ध बैंकिङ्ग कार्यक्रम नामबाट लघुवित्त कार्यक्रम संचालन गरेको हो। कार्यक्रममा संस्थाका वरिष्ठ प्रबन्धक विशाल केसीले प्रगति विवरण प्रस्तुत गरे। उनले संस्थाले हाल किसानहरुसँग हातोमालो गर्दै डेरी संचालनमा ल्याएको बताए।

निकट भविष्यमा पानी उद्योग र स्वास्थ क्षेत्रमा पनि लगानी गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिए। रामु सुवेदीले यस कार्यक्रमको सहजीकरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.