|

पोखरा : भौगोलिक हिसाबले सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा मानबहादुर जिसी निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार जिसीले सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार रामजी कुँबरलाई १३ हजार ७०२ मतान्तरले पराजित गरे। जिसीले ६० हजार ११८ मत ल्याएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरे।

पोखरा लेखनाथको उपप्रमुखमा पनि एमालकै मञ्जुदेवी गुरुङ निर्वाचित भइन्। कांग्रेसकी सरस्वती गुरुङलाई पराजीत गर्दै उनी विजयी भएकी भएकी हुन्। मञ्जुले ५६ हजार ४८८ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याइन्। 

नेपालकै ठूलो महानगरको प्रमुख निर्वाचित भएका मानबहादुर 'समग्र पोखराको विकासका लागि साझा पहलका साथ अगाडि बढ्ने बताउँछन्। चुनाव जुन दलबाट लडे पनि निर्वाचित भएर स्थानीय तहमा आइसकेपछि सबैको साझा प्रतिनिधिका रुपमा काम गर्नुपर्ने उनी बताउँछन।

'निर्वाचनमा जुन दलबाट आएपनि निर्वाचित भइसकेपछि सबैको हुनुपर्छ। जनताको भएर काम गर्नुपर्छ',उनी भन्छन्,  'हाम्रो र अर्को भन्न जरुरी छैन। समग्र पोखराको विकास गर्न साझा पहल आवश्यक छ। सबैको साझा पहलमा हामी पोखराको विकासमा अगाडि बढ्नेछौ।'

मानबहादुरको महानगर योजना

पोखरा लेखनाथ महानगरको विकासका लागि तत्कालीन, दीर्घकालीन र अल्पकालीन गरी तीन तहमा कामको विभाजन गरी काम अगाडी बढाउने उनको योजना छ। यसका लागि सुशासनलाई प्राथमिकतामा राख्‍ने उनी बताउँछन्। 'पहिलो कुरा सुशासन हो किनभने स्थानीय तहमा जनप्रतिनिधिहरु नभएको करिब २० वर्ष भइसक्यो। सेवाग्राहीहरुले राज्यको उपस्थिति अनुभूति गर्न पाइराखेका छैनन्', उनी भन्छन्,  'हामीले भनेका, घोषणापत्रमा उल्लेख गरेका कुरा बिस्तारै अगाडि बढाउँदै जान्छौँ। हामीले मुख्यतः प्रविधिमैत्री सेवा भनेर विशेष जोड दिएका छौँ।'

महानगरबाट दिने सेवा सुविधा सरल, सहज ढंगले कम समयमा प्रदान गर्नेमा आफ्नो प्रयत्न रहने उनले बताए। पोखरा महानगरमा सडक र पार्किङको समस्या भएकाले ती काम तत्कालै सुरु गर्ने उनले बताए। 'कम्तिमा पनि महानगरबासीहरुलाई जनप्रतिनिधिहरुले कामको सुरुआत गरे भनेर जानकारी दिनेछौँ', उनले भने, 'पोखरामा ग्रामीण इलाकाहरु पनि छन्। त्यस क्षेत्रमा बाह्रै महिना अहिले पनि यातायात चल्दैनन्। ती क्षेत्रहरुमा बाह्रै महिना यातायातका साधन पुग्‍ने बनाउने छौँ। त्यसकारण ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएर तत्काल काम सुरु गर्नेछौँ।' पर्यटकीय सहर पोखरामा पर्यटन विकासका कार्य अगाडि बढाउने उनको योजना छन्।

एमालेभित्र महानगरको टिकट दिँदा पूर्वमेयर एवं पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा, युवा संघका अध्यक्ष राजीव पहारीदेखि जिल्ला उपसभापति श्रीनाथ बराललाई पछि पार्दै जिसी एक नम्बरमा निर्वाचित भएका थिए। चर्चामा आउन नरुचाउने उनी काममा विश्वास गर्ने नेताका रुपमा चिनिन्छन्। एमालेका वैकल्पिक केन्द्रीय सदस्य उनलाई पार्टीभित्र त्यागी र इमान्दार नेता मानिन्छन्।

२०१७ भदौ १७ गते पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा (साविकको कालिका गाविस) मा मानबहादुरको जन्म भएको थियो। शिक्षा संकायमा स्नातकसम्मको अध्ययन गरेका उनी चार दाजुभाइ मध्ये जेठो हुन्। 

तत्कालीन माले निकट अखिलबाट राजनीति सुरु गरेका जिसी २०३७ सालमा अखिलको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष बनेका थिए। २०३९ मा जिल्ला कमिटी उपाध्यक्ष हुँदै २०४१ मा पार्टीको संगठित सदस्यता लिएका जिसी तत्कालीन कालिका गाउँ कमिटीका सचिव, इलाका कमिटी सचिव हुँदै २०५० मा जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष भएका थिए।

२०६८ मा जिल्ला कमिटी सचिव (प्रमुख) भएका उनी २०६६ सालबाट पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि कास्की जिल्लाको एमालेको अध्यक्ष भएका थिए। जिसी हाल एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा कास्की जिल्लाका इञ्चार्ज हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.