|

बाँके : जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय चुनावमा भोट खसाल्नका लागि बाँकेका मुक्त कमैयाहरु आतुर देखिएका छन्। जनप्रतिनिधिको पर्खाइमा रहेका मुक्त कमैयाले आफूहरु निर्वाचनमा मतदान गर्न आतुर रहेको बताए।

घरमा आफूले मन पराएका राजनीतिक दल र चुनाव चिन्हको झण्डा गाडेका मुक्त कमैयाले आफुलाई सहयोग गर्ने राजनीतिक दललाई मतदान गर्ने बताएका छन्। मुक्त कमैयाले आस्था र विचार मिल्ने राजनीतिक दलको चुनाव चिन्ह भएको झण्डा समेत आ–आफ्नो घरमा टाँगेका छन्।

नेपाली कांग्रेसको झण्डा घरमा टाँगेका कोहलपुर नगरपालिका–११, लोकनगरका रोशन चौधरीले मतदान गर्ने दिनको प्रतीक्षामा रहेको बताए।'मतदान गर्ने दिन कहिले आउला र आफुले चाहेको उम्मेदवारलाई मतदान गर्न पाइएला भन्ने पर्खाईमा छु,' उनले भने।

कोहलपुर नगरपालिका–११, लोकनगर मुक्त कमैया बस्तीका कृष्ण चौधरीले पनि मतदान गर्ने दिन गनेर बसेको बताए । स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्ने अवसर पाएका उनले आफूलाई सहयोग गर्ने राजनीतिक दललाई जिताउने हतारो भइसकेको बताए। 'मन परेको व्यक्ति र पार्टीलाई जिताउने दिन कहिले आउला भन्ने भइसक्यो,’ उनले भने।

सहयोग गरेको राजनीतिक दलका उम्मेदवारलाई भोट दिने मनसाय बनाएको उनले बताए। सूर्य चिन्ह भएको झण्डा घरको धुरीमा गाडेका उनले सहयोग गरेको दललाई मतदान गरेर यसपाली ऋण चुक्ता गर्ने स्पष्ट पारे। ‘हुन त सवै राजनीतिक दलको ब्यवहार एउटै छ, जसलाई जिताएपनि सहयोग गर्ने कोहि होइनन्, तर पहिले पाएको सहयोगको कदर गरेर मतदान गर्नेछु,’ कृष्णले भने।

कोहलपुरस्थित मुक्त कमैया बस्तीमा अहिलेसम्म नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका नेता, कार्यकर्ता र उम्मेदवार भोट माग्न आएको मुक्त कमैया कृष्णी चौधरीले बताइन्। उनले भोट माग्न आएका नेताले आश्वासन सँगै भ्रम र डर सिर्जना समेत गरेको बताइन् । 'कुनै दलले राम्रा आश्वासन दिन्छन्, कसैले हामीले जितेनौँ भने अर्को दलले बस्ती उठाई दिन्छ भन्छन्,' कृष्णीले भनिन्।

भोट माग्न आएका उम्मेदवारले सडक पक्की गर्ने, खानेपानीको व्यवस्था गर्नेजस्ता आश्वासन दिने गरेको लोकनगर मुक्त कमैया बस्तीका रोशन चौधरीले  बताए। उनले अघिल्ला निर्वाचनभन्दा यसपालीको निर्वाचनमा राजनीतिक दलले फरक आश्वासन दिने गरेको बताए। ‘पहिले ठूला योजनाका आश्वासन दिन्थे अहिले बाटोघाटो, पानी पँधेरो, सरसफाई, शिक्षा, स्वास्थ्य, रोजगारी दिने जस्ता आश्वासन बाँड्ने गरेका छन्,’ उनले भने।

लोकनगर मुक्त कमैया बस्तीका मुक्त कमैयाले स्थानीय तह निर्वाचनमा आफ्नो प्रतिनिधित्वको माग गरेका छन्। पुर्खौँदेखि राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पछाडी परेको भन्दै मुक्त कमैयाले राजनीतिक सशक्तिकरणका लागि यसपालीको स्थानीय तह निर्वाचनमा मुक्त कमैयाको सम्माजनक प्रतिनिधित्वको माग गरेका हुन्।

जनसंख्याको आधारमा मुक्त कमैयालाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने मुक्त कमैयाका अगुवा फत्तु थारुले बताए। उनले सवै राजनीतिक दलले मुक्त कमैयालाई उम्मेदवार बनाउनु पर्ने माग राखे। ‘नेतृत्व विकास गर्ने बेला अहिले नै हो, अहिले अवसर नदिए हामी फेरी पछाडी धकेलिने छौँ,’ मुक्त कमैयाका अगुवा फत्तु थारुले भने, ‘समानुपातिक प्रतिनिधित्वका आधारमा उम्मेदवार बनाउनुपर्‍यो।'

कोहलपुरस्थित लोकनगर मुक्त कमैया बस्तीमा जमिनको लालपूर्जा पाएका ८३६ र ४ सय परिवार छुट मुक्त कमैया बसोबास गर्दै आएका छन्। उक्त लोकनगर मुक्त कमैया बस्तीमा मात्र करिब २ हजार मतदाता रहेको मुक्त कमैयाका अगुवा फत्तु थारुले बताए।

बाँके, बर्दिया र दाङको विभिन्न स्थानबाट आएका मुक्त कमैया विभिन्न आस्थामा विभाजित छन्। ‘मुक्त कमैयाले झेलेका दुख, पीडा, समस्या र वर्ग मिलेपनि राजनीतिक आस्था फरक–फरक छ। तर गाउँको विकास र योजना बनाउँदा हामी एक हुन्छौँ,’ उनले भने।

राजनीतिक आस्था र विचार फरक भएपनि सल्लाह गरेर मात्र मतदान गर्ने योजनामा रहेको उनले जानकारी दिए। उनले मुक्त कमैयाको समग्र विकासमा सहयोग गर्ने राजनीतिक दल र उम्मेदवारलाई भोट दिने स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.