|

काठमाडौं : नेकपा एमालेको स्थायी समिति बैठकले जेठ ३१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नम्बर ५ अन्तर्गतका ४ वटा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाएको छ।

एमालेका तर्फबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्धिन सिद्धिकी र उपप्रमुखमा शान्ति ढकाल उम्मेदवार छन्। 

त्यस्तै दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने उम्मेदवार छन्। दाङकै तुलसीपुर उपमहानगरको प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्य उम्मेदवार रहनेछन्।

रुपन्देहीको बुटबल नगरपालिकाको प्रमुखमा शिवराज सुवेदी र उपप्रमुखमा गोमा आचार्य उम्मेदवार रहनेछन्।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको संख्या थप गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको स्वागत गरेको छ। बैठकले जेठ ३१ मा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

निर्वाचनको मिति तय भइसकेपछि कुनै औचित्य र आधार बिना नै स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको स्वेच्छाचारी कदममा सर्वोच्च अदालतले रोक लगाएबाट पूर्वनिर्धारित तह र मितिमा निर्वाचन गर्न सहज भएको ठहर बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.