|

रुपन्देही : स्थानीय तह निर्वाचनमा रुपन्देहीबाट तीन जना यौनिक अल्पसंख्यकले वडा सदस्यमा उम्मेदवारी दिने भएका छन्।

नयाँ शक्ति नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक जिल्ला संगठन रुपन्देहीको बैठकले ३ जनाले ३ वटा फरक तहबाट वडा सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको हो।

जसअनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट सन्तु पुन, तिलोत्तमा नगरपालिका वडा नम्बर ८ बाट आनिक राना र देवदह नगरपालिका वडा नम्बर १० बाट विमल बस्नेतले उम्मेदवारी दिने जनाएका छन्।

निलहिरा समाजको आयोजनामा आज बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकको हक अधिकारका लागि उम्मेदवारी दिन लागेको बताए।

उम्मेदवार आनिक रानाले स्थानीय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार कागजमा दिइएको भएपनि व्यवहारिक रुपमै कार्यान्वयन गर्नका लागि आफुहरुले उम्मेदवारी दिने बताइन्।

उम्मेदवार सन्तु पुनले समाजमा चेतना जगाउन र यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिमा परिवर्तन ल्याउनका लागि उम्मेदवारी दिन लागेको बताइन्।

यसैगरी अर्की उम्मेदवार विमल बस्नेतले अधिकारको सुरुवात सानोबाट नै हुने भन्दै अधिकारका लागि आफुहरुले सुरुवात गरेको बताइन्। हाल रुपन्देहीमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या करिब ९ हजार रहेको निलहिरा समज रुपन्देहीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.