|

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ पिपलडाँडामा एउटा एक्लो घर छ। घरमा ७५ बर्ष कटेका बृद्ध चेपाङ दम्पति बट्टाइ चेपाङ उनकी श्रीमती ज्ञानीमाया चेपाङ र २ भाई छोरा बुहारी बस्छन्। जेठो छोरो छुट्एिर बसेको लामो समय भएपनि बुढेसकालमा बाबुआमाको आँखामा देखिएको आँसु पुछ्न केहीदिन अघिदेखि सँगै छन्।

२० वर्ष अघिदेखि हुन नसकेको स्थानिय चुनावले देशभर उल्लासमय वातावरण बनाइरहदा २० वर्षपछिको स्थानिय चुनाव पनि कालरात्री नै बनेर आयो यो चेपाङ परिवारमा। उमेरले गलाउदै लगेर एउटै थलो पर्ने बेला भएका यी बृद्ध चेपाङदम्पतिले कहिल्यैपनि सोचेका थिएनन होला कि, आफू मर्ने बेलामा छोराको हत्या भएको हेर्नुपर्छ भनेर।

तर विधिको विडम्वना गएको बैशाख ३१ गते स्थानिय चुनावमा भोट खसालेर गाउँ फर्किएको माइलो छोरा लक्ष्मण चेपाङ घर नआइपुग्दै संसार छोडेर गएको पनि १३ दिन भइसक्यो। गत बुधबार पिपलडाँडामा पुग्दा ती वृद्ध दम्पतिको आँखाबाट खसिरहेको निर्दोष आँसुले नै सोधिरहेको थियो मेरो छोराको हत्या किन र कसले गर्यो भनेर।

लक्ष्मण नेकपा एमालेका कार्यकर्ता हुन्। स्थानीय तह चुनावमा भोट हालेर फर्के लगतै राती उनको हत्या भएको थियो। गाउँमै हत्या भएको भएपनि अहिलेसम्म अपराधी पक्राउ परेको छैन। परिवारले काजकिरिया पनि गरिसके। तर हत्या कसरी भयो भन्ने विषय अहिलेसम्म अन्यौलमा नै छ।

आँशुमा डुबेको यो चेपाङ परिवार न्यायको पर्खाइमा छन्। लक्ष्मणका बुबा बट्टाइ बोल्न सक्दैनन्। कान पनि सुन्दैनन्। इसाराले नै बुझ्नु पर्छ बट्टाइको कुरा। उनको हातको हाउभाउले नै बताइरहेको थियो, ‘मेरो छोरो निर्दोष छ, दोषीलाइ सजाय दिइ मर्ने बेलामा न्यायको सास फेर्न देउ।'

चुनावले शान्ती ल्याउने आश थियो जनतामा तर यो चेपाङ परिवारमा भने उल्टै पीडा थपियो। लक्ष्मणका कान्छा भाइ लाल बहादुरले भने, ‘भोट हालेर गाउँ फर्किएकै रात विभत्स तरिकाले मेरो दाइको हत्या भएको छ। देशमा शान्ति कायम हुन्छ भनेर भोट हाल्यौँ तर भोट हालेकै दिन यत्रो चोट सहन परेको छ। हामीमाथी भएको यो अन्याय कसले हेरिदिने?'

‘पार्टी कार्यकर्ता नै भएकाले मेरो दाजुको हत्या भएको हो।' मृतक लक्ष्मणका भाइ लाल बहादुरले भने, ‘न पुलिसले अपराधी समाउन सक्यो, न पार्टीले केही गर्न सक्यो।' चेपाङ परिवारले दोषी पत्ता लगाएर कारबाही गरिपाउँ भनेर जेठ २ गते गजुरी प्रहरीमा जाहेरी पनि दिएका छन्।

घटनाको विषयमा प्रहरीले न त अपराधी पहिल्याउन सकेको छ न त कुनै शंङकास्पद व्यक्तिमाथी अनुसन्धान गर्न नै। लक्ष्मणको हत्यारा पत्ता लगाएर कारबाही गरि न्याय दिलाइदिन प्रहरी प्रशासन र सरोकारवाला सबैलाई चेपाङ परिवारले आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.