|

  • सन्तोष अधिकारी 

गोरखा : उमेर ९ दशक पुग्यो। बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ। शरीरमा तागत छैन।  तै पनि उनी सकी नसकी सडक छेउको झारपात उखेलिरहेका र भत्केको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका देखिन्छन्।

२०३५ सालमा चीन सरकारको सहयोगमा निर्माण भएको गोरखा–आँबुखैरेनी सडकखण्डमा हेरालुको काम गरिरहेका उनी हुन्, गोरखा शुलिकोट गाउँपालिका स्वाँरा ठोटनेरीका चमरा गुरुङ।

सडक डिभिजन कार्यालय दमौली तनहुँका तत्कालीन प्रमुखले उनलाई त्यसै वर्षदेखि हेरालुको काम दिएका थिए। ‘३५ सालदेखि काम गर्दैछु’ सडकमा काम गरिरहेकै बेलाको भेटमा उनले भने, ‘मासिक १०० रुपैयाँ तलबदेखि काम गरेको अहिले १६ हजार पाउँछु।’ चमराका बुढाबुढी अहिले गोरखा बजारको धारपानीमा डेरा गरेर बस्ने गरेका छन्।

चमरालाई काममा उनी श्रीमती ७५ वर्षीया सिरमायाले पनि सघाउने गरेकी छिन्। ‘पहिले त खैरेनीदेखि बजार सम्म जहाँ त्यैँ काम गर्नुपथ्र्यो’, उनी भन्छन् ‘अहिले त एक जनाको भागमा चार किलोमिटर मात्र पर्छ। बुढ्यौलीका कारण जाँगर कम हुँदै आयो। बुढीमाउ पनि आउँछ कहिलेकाहीँ दुवै मिलेर काम गर्छौैं। अहिले १५ दिन जति भयो बुढीमाउ खुट्टा दुखेर काममा आउन सकेकी छैन।’

सडक डिभिजन कार्यालयले स्थायी गराइदेला भन्ने चमरालाई ठुलो आशा रहेछ। ‘बाजे, तपाईँलाई थाई गराइदिम्ला भन्थे’, उनले दुखेसो पोखे, ‘यत्तिका साल काम गरेँ। खोई थाई बनाउने सुरै छैन। ४० साल काम गरेर थाई नहुने म मात्रै हुँला।’ 

‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि भनेजस्तै छ बाबु’ उनले थपे ‘एउटै छोराले पनि हामीलाई खासै वास्ता गर्दैन। छनलाई बुहारी र नाति पनि छन्। तर छुट्टै बस्छन्,’आँखाभरि आँसु पार्दै उनले भने, ‘अरुको त्यस्तै हो, नातिको अाैधी माया लाग्छ।’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.