|

काठमाडाैै : पत्रकार एवं कवि कृष्ण सेन ईच्छुकको १५ औं स्मृति दिवसको अवसरमा पत्रकारका चारवटा संगठनले ईच्छुकको सम्झना गरेका छन्। ईच्छुकको हत्या भएको दिन जेठ १३ गतेको सम्झनामा प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेपाल र नेपाल प्रेस सोसाइटीले संयुक्त रुपमा प्रभातफेरी गरी ईच्छुक स्मृति दिवस मनाएका हुन्।

प्रभातफेरीपछि आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै सेन पत्नी तक्मा केसीले आफूलाई पीडा हुने भन्दै धेरै नबोल्ने बताइन्। उनले सेनका हत्यारालाई कारबाहीको दायरामा ल्याउन दवाब दिन विभिन्न संगठनमा आवद्ध क्रान्तिकारी पत्रकार एकठाउँमा आउनुपर्ने बताइन्। 'आज जति प्रतिवद्धता व्यक्त गर्नुभयो, ती पूरा गर्न व्यावहारमा एकै ठाउँ उभिएर जानुपर्छ, राज्यलाई खबरदारी गर्न सबै एकजुट हुनुपर्छ', उनले भनिन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले सेनको पक्षमा आवाज उठाउने र न्याय गर्नुपर्ने पक्षले नै मौनता साँधेको बताए। सहिद सेनको योगदानको कदर गर्दै पत्रकार महासंघले यसै वर्ष सेन स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्न लागेको उनले जानकारी दिए।

प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले पत्रकार सेन आफ्नो आदर्श पात्र र सबैको गुरु रहेको बताए। निर्भिक र निष्ठावान रहेर पत्रकारिता गर्नेहरुका लागि सेन एक आदर्श पात्र रहेको भन्दै आचार्यले निष्ठाको पत्रकारिता गर्नेहरु सधैँ परीक्षामा रहेको बताए। 'सेनका हत्याराहरू आज पनि छाती फुलाएर खुलेआम हिँडिरहेका छन्। तर हामी तिनलाई कारबाही होस् भन्ने हाम्रो आवाज दिनप्रतिदिन मलिन हुन थालेको छ। हामी अझै जोडदार ढंगले खबरदारीमा लाग्नुपर्छ।'

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउतले सेनका सपना पूरा गर्न सबै एक हुनुपर्नेमा जोड दिए। 'सहिद सेनका प्रतिबद्धता भाषणका लागि होइन, हाम्रो जीवन व्यावहारमा लागू हुनुपर्छ। हामी यसरी विभाजित भइरहेका छौं कि आफ्नै संकल्प र आफैप्रति एउटा प्रश्न उठेको छ- हामी सेनको सपनाप्रति कति दृढ भएर लागेका छौं?' उनको प्रश्न थियो।

क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले सेनसँगै गिरफ्तार हुँदाको स्मरण गरे। दुई दिन सँगै हिरासतमा बसेपछि सेनसँग आफूहरुलाई अलग्याइएको उनले बताए। सेनले आदर्श मानेका नेताहरू पटक पटक प्रधानमन्त्री र मन्त्री हुँदा समेत सेनका हत्यारालाई कारबाही नहुनुले नेताहरुकै नियतमा शंका गर्नुपर्ने बेला आएको उनको भनाइ थियो। आफ्नो संगठनका कतिपय पत्रकारलाई अहिले पनि गिरफ्तारी गरिएको भन्दै उनले विरोध गरे।

कार्यक्रममा नेपाल प्रेस सोसाइटीका वरिष्ठ उपाध्यक्ष केशव अर्याल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, महासचिव विष्णु सापकोटा जुगल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ लगायतले बोलेका थिए। बिहान ७ बजे नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डलामा कोणसभामा परिणत भएको थियो।

श्रेष्ठ र रावल पुरस्कृत 

प्रेस सेन्टर नेपालले यस वर्षको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार बेपत्ता पत्रकार चित्र नारायण श्रेष्ठकी पत्नी सावित्री श्रेष्ठलाई प्रदान गरेको छ। पत्रकार श्रेष्ठ १५ वर्ष अगाडि सर्लाहीको हरिबनबाट गिरफ्तारीमा परेका थिए। उनको अवस्था अज्ञात छ।

त्यसैगरी क्रान्तिकारी पत्रकार संगठनले सेन स्मृति पत्रकारिता पुरस्कार दीपेन्द्र रावललाई प्रदान गरेको छ। पत्रकार रावल २०५९ सालमा दैलेखमा भएको एक बिष्फोटनमा घाइते भएका थिए। श्रेष्ठ र रावलले पुरस्कार पाएछि सम्मान र उर्जा मिलेको प्रतिक्रिया दिए। 

यसरी भएको थियो  हत्या

पत्रकार तथा साहित्यकार कृष्ण सेन ईच्छुक २०५९ साल जेठ ६ गते काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका थिए। उनी तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा आवद्ध थिए। तर उनी पक्राउ पर्दा हतियारसहित थिएनन्। सेन 'जनदिशा दैनिक' का प्रधान सम्पादक, 'जनादेश' का पूर्व सम्पादक, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि थिए। उनी साहित्यकार पनि थिए। 

गिरफ्तार गरेर उनलाई तत्कालीन महेन्द्र पुलिस क्लबमा राखिएको थियो। पक्राउ परेको एक साता पछि जेठ १३ गते उनको हत्या भएको थियो। चरम यातना दिई हिरासतमै उनको हत्या गरिए पनि तत्कालीन सरकारले घटनालाई गुपचुप राखेको थियो। 

नेपाल पत्रकार महासंघका अनुसार युद्धकालमा ३५ जना पत्रकारले ज्यान गुमाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.