|

लहान : तत्कालीन बडहरामाल गाउँ विकास समितिको कोष तथा स्थानीयको सहयोगमा सिरहाको बन्दीपुरमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रलाई स्तरोन्नति गरी अत्याधुनिक बनाउने गरी थालिएको निर्माण कार्य तीव्र बनाइएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका सिरहा क्षेत्र नं. ५ को सांसद् तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट १० लाख र सुनिश्चितता बजेटबाट ५० लाख थप बजेट भएर कुल ६० लाखको लागतमा ८ कोठे सुविधा सम्पन्न दुई तले भवन बनिरहेको जिल्ला प्राविधिक कार्यालय सिरहाका डिभिजन इञ्जिनियर पशुपति साहले जानकारी दिए।

 भवनको केही महिना पहिले जिल्ला समन्वय समिति सिरहाका स्थानीय विकास अधिकारी सुरेश राउतले शिलान्यास गरेका थिए। स्थानीय बासिन्दाको निगरानीमा निर्माण कार्यले गति लिएकाले चालु आर्थिक वर्षको अन्तिमसम्म भवन तयार हुन सक्ने अपेक्षा गरिएको छ। भवन निर्माणसँगै उपचार सेवा लिन आउने र उपचार सेवामा संलग्न चिकित्सकहरुलाई सजिलो हुने स्थानीय बासिन्दाहरु बताउँछन्।

सिरहा, धनुषा, उदयपुर, सप्तरी र  सिन्धुलीसम्मका सर्पदंशका बिरामीहरु उपचार केन्द्रमा आउने गरेका छन्। सर्पले डसेका बिरामीहरुको चाप दिनप्रति दिन बढ्दै गएको र सर्पदंश उपचार भवन सानो र जीर्ण भएकाले उपचार सेवामा कठिनाइ भइरहेको सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष जगदीश महतोले बताए।

‘भवन निर्माण कार्य पूरा भएपछि बिरामीको चाप भए पनि उपचारमा कठिनाइ हुँदैन, सेवा पनि अत्याधुनिक हुनेछ’ महतोले भने। महतोका अनुसार खासगरी गर्मीको समयमा सर्पदंशका बिरामीहरु बढ्ने गरेका छन्। गर्मी बढेसँगै केन्द्रमा दैनिक ५ देखि ७ जनासम्म सर्पदंशका बिरामी आउने गरेको उपचारमा संलग्न गजेन्द्र पौडेलले बताए।

विषालु सर्पले डसेमा तत्कालै उपचार केन्द्रमा ल्याए बचाउन सकिने पौडेलले सुझाए। झारफुक र टुनामुनामा विश्वास गर्नेहरुले सर्पले डसेको धेरै समयपछि उपचार केन्द्रमा ल्याउने गरेकाले कतिपय बिरामीको मृत्युसमेत हुने गरेको उनको भनाइ छ।

२०६२ सालमा स्थापित उक्त उपचार केन्द्रले हालसम्म १६ हजार सर्पदंशका बिरामीहरुलाई उपचार गरेर बचाएको जनाएको छ। सर्पदंशको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु अनुभवी भएकाले उपचारका लागि आउने सर्पदंशका बिरामीमध्ये करिब ९९ प्रतिशतको निको भएर घर फर्किएको पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.