|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको व्यवस्थापिका संसदको बैठक शनिबार दिउँसोदेखि सञ्चालन हुने भएको छ।

प्रमुख तीन राजनीतिक दलहरुबीच शनिबार विहान भएको बैठकमा आफूहरुको माग संबोधन भएपछि संसद अवरोध फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए। दलहरुबीच सहमतिपछि शनिबार दिउँसो १ बजे संसद बैठकमा एमालेले अवरोध नगर्ने भएको छ।

नेकपा एमालेले सरकारले स्थानीय तहको संख्या  थप गर्ने निर्णय फिर्ता लिनुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने, टीकापुर घटनामा संलग्नहरुको मुद्दा फिर्ता लिनुपर्ने, स्थानीय निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्नुपर्ने माग राखेर संसद अवरोध गर्दै आएको थियो।

शनिबार विहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाभियोग प्रस्ताव भोलिसम्म फिर्ता लिने बताएका एमाले प्रमुख सचेतक ढकालले बताए। 'सरकारले थप गरेको स्थानीय तहको संख्या कार्यान्वयन नगर्न अदालतले स्टेअर्डर दिइसकेको र प्रधानमन्त्रीज्यूले महाभियोग भोलिसम्म फिर्ता हुने विश्वास दिलाएपछि संसद खुलाउन तयार भएका हौं' उनले भने।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा संलग्नको मुद्दा फिर्ता नलिएको जानकारी गराएका थिए। त्यस्तै शनिबारको बैठकले स्थानीय निर्वाचनमा भएको धाँधलीको छानबिन गर्न संसदीय छानबिन समिति पनि गठन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.