|

हेटौंडा : ४५ औं वार्षिकोत्सवको अवसर पारेर हेटौंडा चुन उद्योगले रक्तदान कार्यक्रम गरेको छ। मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र बाहिरको पहिलो उद्योग हेटौंडा चुन उद्योगले शनिबार हेटौंडाको मुख्य चोकमा रक्तदान गरेको हो।

कार्यक्रममा ६ महिलासहित ५३ जनाले रक्तदान गरेको उद्योगका प्रवन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघ ३ नम्बर प्रदेश प्रतिनिधि अरुणराज सुमार्गीले बताए। ‘चलाऊ हात पाखुरा, भरु सिप यही धर्तीमा’ नाम दिएर रेडक्रसको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालले गरेका थिए।

जिल्ला सदरमुकाम हेटौंडा औद्योगिक नगरका नामले परिचित छ। जिल्लाको सबभन्दा पुरानो उद्योगमध्ये एक हेटौंडा चुन उद्योग ४५ वर्षदेखि सञ्चालनमा छ। माधवराज सुमार्गीले यो खानी उद्योग स्थापना गरेका हुन्। २०३५ सालमा माधवराजको निधन भएपछि सुमार्गी पत्नी विश्वकान्तिको अग्रसरतामा सञ्चालित चुन उद्योगलाई निरन्तरता दिँदै २०६० वैशाखदेखि खनिजजस्ता क्षेत्रहरुमा आवश्यक लगानी व्यवस्थापन, सञ्चालन सहकार्य गर्ने समेत उद्देश्यले मुक्तिश्री प्रालिले विभिन्न क्षेत्रमा उद्योग/व्यवसाय स्थापना र सञ्चालन गर्दै आएको छ।

कम्पनीले नेपालमा रहेका राष्ट्रिय तथा बहुर्राष्ट्रिय रंगरोगन (पेन्ट) बनाउने उद्योगको कच्चापदार्थ डोलामाइट, नेपालमा फस्टाएको पोल्ट्री व्यवसायको दाना बनाउने उद्योगको कच्चापदार्थ क्याल्सियम कार्बोनेट, कृषकहरुले माटोमा बढ्दो अम्लीयपनका कारण भोग्नुपरेको समस्या समाधान गर्न कृषि चुन र भवन निर्माणमा प्रयोग हुने मोज्याइक दानासमेत उत्पादन गर्दै आएको छ।

माधवराज सुमार्गीले २०२९ सालमा थालेको हेटौंडा चुन उद्योग सुमार्गी घरानाको व्यावसायिक यात्राको जग हो। सुमार्गी समूहले हाल शिक्षा, कृषि, सञ्चार, निर्माण र वित्तीय क्षेत्रमा लगानी गरेको छ। तीमध्ये अधिकांश व्यवसाय मकवानपुरमा छन्।

यो उद्योगले नयाँ उद्यमीलाई उद्यमशील बन्न प्रेरित गर्न कोष खडा गरी पुरस्कृत गर्दै आएको छ भने आफ्नो प्रभाव क्षेत्रमा बालबालिकाको अध्ययनमा सहयोग गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.