|

दमक : झापाको भद्रपुर नगरपालिका प्रमुख पदको प्रतिस्‍पर्धामा एक स्वतन्त्रसहित मुख्य चार राजनीतिक दलका पाँचजना मैदानमा उत्रिएका छन्। पार्टीका प्रमुख तथा उप्रमुख पदका सबै उम्मेदवारले साझा एजेन्डा प्रस्तुत गरेर चुनावी मैदानमा उत्रिएका छन्। सबैको एजेनडा भद्रपुरलाई समृद्ध नगर बनाउने रहेको छ।

संवाद समूह झापाले बिर्तामोडस्थित सचिवालयलाई शनिबार ‘तपाईंको उम्मेदवारी, जनअपेक्षा र चुनौती’ विषयमा गरेको छलफलमा उनीहरुले भद्रपुरको विकासका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।

उनीहरुले निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक सहभागीता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी एवं सकारात्मक भूमिका सहितका ६ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षरसमेत गरेका छन्।

नेपाली कांग्रेसको तर्फबाट भद्रपुर नगरपालिकाको लागि प्रमुख पदका उम्मेदवार गणेश पोखरेल, नेकपा एमालेका तर्फबाट प्रमुखमा जीवन श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख शिवकुमार राजभण्डारी, उपप्रमुखमा कुमारी स्वर्णिका सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखका उम्मेदवार नवराज पनेरु राजु र उपमेयर राधा कार्की, स्वतन्त्र रुपमा प्रमुख उम्मेदवार दुर्गा भट्टराईले आफ्ना चुनावी एजेण्डासहित प्रतिबद्धता जनाएका हुन्।

कांग्रेसको तर्फबाट उपप्रमुखमा भने तारा भुर्तेल र स्वतन्त्रबाट उप्रमुखमा गोपाल धमला चुनावी मैदानमा देखिएका छन्। भद्रपुरका उम्मेदवारहरुले व्यक्त गरेको प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन्।

त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने, निर्वाचन प्रचार/प्रसारलाई तडकभडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ।

त्यस्तै, सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह–अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धतासमेत जनाएका हुन्।

भद्रपुरका सबै उम्मेदवारले मेची पुल, चारआली–केचना सडक, हुलाकी सडक यथाशीघ्र निर्माण सम्पन्न, मेची अञ्चल अस्पताललाई समेत सुविधा सम्पन्न बनाउने तथा कलवलगुडीमा टिचिङ हस्पिटल स्थापनाका लागि जोडतोडले पहल गर्ने एजेण्डा अघि सारेका छन्।

उनीहरुले अघि सारेका पछाडि पारिएका समुदाय, गरिब सुकुम्बासी, हात्तीको समस्या समाधान, औद्योगिक र पर्यटकीय नगरी, स्वास्थ्य र शिक्षामा सहज पहुँच, खानेपानी, सडक, र विद्युत्लाई घर–घरमा पुर्‍याउने लगायतका एजेण्डाहरु समेत साझा देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.