|

चितवन : चितवनको भरतपुर महानगरपालिको चुनावको गणना अन्तिमतिर आउँदै गर्दा अति प्रतिस्‍पर्धात्मक देखिएको छ। पछिल्लो समयमा कांग्रेस माओवादी संयुक्त प्यानलकी उम्मेदवार रेणु दाहालले देवी ज्ञवालीको अग्रता घटाउँदै आउँदा चुनावी परिणाम थप कौतुहलतापूर्ण बन्दै गएको छ।

कसले जित्छ भन्ने यकिन भन्न सकिने अवस्था छैन। सबै आ–आफ्नै समर्थकले आ-आफ्नै उम्मेदवारले जित्छ भनिरहेका छन्। बाहिर सरसरती हेर्दा १५ सय ८३ मतले देवी अगाडि छन्। तर अब आउने वडाहरुमध्ये धेरैमा रेणुले लिड गर्ने भएकाले पनि कसको पल्लाभारी भनेर भन्न सकिँदैन।

देवीले जित्दा अलि सहज उनी प्लसमा छन् भने रेणुले ऋण तिरेर उछिन्नुपर्छ । यदि उनले उछिन्न सकिनन् भने चुनावको वडा फाइनल हुँदा पहिलो पटक उछिनेको मत नै उनको विजयीको मत हुने देखिन्छ। नत्र यसअघि वडाको अन्तिम नतिजा आउँदा कुनैपनि वडामा रेणुले लिड गर्न नसक्नु उनका लागि विडम्बना हो।

सबैभन्दा बढी अन्तर ३८ सय ३६ मतबाट उनले  १२ सय ३५ मा झारे पनि अहिले १५ सय ८३ को मतान्तरमा देवी अगाडि छन्। अब ५ वटा वडा गन्न बाँकी छँदा रेणु ३५ हजार ९ सय ३३ मत छ भने देवी ज्ञवालीको ३७ हजार ५ सय १६ मत छ।

रेणुलाई अब जित्न हरेक वडामा ३ सय १७ मत आवश्यक छ। पछिल्लो १७ नम्बर वडामा कांग्रेसको ५० प्रतिशत मात्र भोट आएकाले रेणुका लागि यही अनुपातमा भोट आउँदा उनको जित नहुने देखिन्छ।

नत्र अब ६० प्रतिशत कांग्रेसको भोट अनिवार्य छ।  विगतको मतपरिणामको औसत मूल्यांकन गर्दा अब देवी पल्ला भारी देखिन्छन्। अब रेणुका लागि चमत्कारिक मत आउनुपर्ने देखिन्छ।

 रेणुका लागि ठूलो चुनौती भनेको गठबन्धन राम्रोसँग व्यवस्थापन नहुनु, वडा तहमा तालमेल हुन नसक्नु  र आफ्नै मत पनि सोचेभन्दा कम हुनु नै मुख्य हो। यसतर्फ दुवै दलले मूल्यांकन गर्न सकेनन्। जसको परिणाम कांग्रेसको भोट अधिकांश वडामा ५० प्रतिशत तल रेणुलाई गयो।

अब गन्न बाँकी १८,१९,२०, २१ र २२ वडा छन् १६ हजार र केही बढी मत छ। सोमबार सम्ममा पूर्ण गणना सकिने देखिन्छ। १८,१९, २० कांग्रेसले आफ्नो भनिरहेको छ भने २१, २१ एमालेले दाबी गरेको छ।

२२ मा माओवादी केन्द्रको समेत दावी छ। यसरी हेर्दा परिणाम मिश्रित छ।  चाखलाग्दो बनेको भरतपुर महानगरको मतपरिणामले अहिले देशका सबैलाई मन्त्रमुग्ध पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.