|

दमक : आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षाका लागि खटिने कर्मचारीहरुले ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा मतदाता शिक्षा प्रदान गर्न समस्या भएको गुनासो गरेका छन्। गत जेठ ५ गतेदेखि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम शुरु गरेसँगै मतदाता शिक्षाका लागि खटिएका कर्मचारीहरुले सहरी क्षेत्रका घरहरुमा पालिएका कुकुरको त्रासले मतदाता शिक्षा प्रभावित हुने गुनासो गरेका हुन्।

झापामा खटिने आयोगका कर्मचारीहरुले ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा घरपालुवा कुकुरका कारण धेरै समस्या हुने गरेको बताएका छन्। मतदाता शिक्षा प्रभावकारी भएन भनिरहेका बेला उनीहरुले यस्तो बताएका हुन्।

सहरी क्षेत्रका प्रत्येक घरहरुमा कुकुर पाल्ने भएका कारण आफूहरुलाई मतदाता शिक्षाका लागि घर-घर जान समस्या भएको मतदाता शिक्षामा खटिएकी कर्मचारी गीता विमली बताउँछिन्। उनी भन्छिन्, ‘मतदाता शिक्षा प्रभावकारी भएन मात्र भनिन्छ तर, हाम्रो समस्यालाई ख्याल गरिँदैन, हामी कुकुरका कारण घर घरमा जान सकिरहेका छैनौं।'

गाउँमा भन्दा सहरमा मतदाता शिक्षाका लागि धेरै समस्या भएको उनको भनाइ छ। उनी भन्छिन्, ‘सबै दोस हामीलाई लगाईन्छ तर त्यस्तो होईन हामी मतदाताका घर घरमा खटिएर जाँदा पनि उनीहरुले घरमा पालेका कुकुरले हामीलाई झम्टने गर्छन् र घरमा कुकुर देखी सावधान लेखिएको हुन्छ।'

सहरका मान्छेहरुले मतदाता शिक्षा नै लिन नचाहने मतदाता शिक्षामा खटिएकी अर्की कर्मचारी कमला उप्रेती बताउँछिन्।  उनी भन्छिन्, ‘सहरका मान्छेहरु मतदाता शिक्षा लिनै चाहँदैनन्, हामी घरघरमा मतदाता शिक्षाका लागि जाँदा पनि हामी यहाँका होईनौं भन्दै उनीहरुले टार्छन्, अनि दोकान दोकानमा मात्र मतदाता शिक्षा दिएर फर्कन्छौं, घरमा दिनै सक्दैनौं।'

ग्रामीण क्षेत्रमा पनि घरमा मान्छे नभेटिने समस्या रहेको मतदाता शिक्षामा खटिएकी अर्की कर्मचारी सुशीला प्रसाई बताउँछिन्। उनी भन्छिन्, ‘सहरमा कुकुरको समस्या त छँदै छ गाउँमा पनि केही समस्या छ, ग्रामीण क्षेत्रमा जाँदा हामीले घरमा मान्छेनै भेट्दैनौं, उनीहरु दिउँसो काममा गएका हुन्छन्, मान्छे भेट्नै समस्या हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.