|

  • विकास डाँगी-

दाङ : सहमति जनाएका विषयहरु कार्यान्वयन गर्न सरकार तत्पर नदेखिएको भन्दै प्राध्यापक डा. गोबिन्द केसी दाङमा अनशन बस्दै छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका प्राध्यापक डा. केसी अनशन बस्नका लागि शनिबार दाङ आइपुगेका छन्।

उनले नेपाल रेडक्रस सोसाइटी घोराहीको सभाकक्षमा उपक्षेत्रीय अस्पताल घोराहीका डाक्टर, पत्रकार एवं नेताहरुसँग छलफल गरेका छन्। दश पटकसम्म काठमाडौंमै अनशन बसेका केसीले अब उपत्यकाबाहिर अनशन बस्ने योजना बनाएर दाङ आएको बताए।

सरकारले घोषणा गरेअनुसार दाङमा मेडिकल कलेज स्थापनाको सुरुवात गर्नुपर्ने, चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाएर पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने लगायतका माग राखी डा. केसी दाङमा अनशन बस्न लागेका हुन्।

सरकारले प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने भनी गरेको सहमति कार्यान्वयन गराउन तथा सरकारलाई दबाब दिन आफू  दाङमै अनशन बस्न लागेको उनले बताए। स्वास्थ्य सेवा नाफामुखी नभई सेवामुखी हुनुपर्नेमा समेत उनले जोड दिएका छन्।

स्वास्थ्य शिक्षा ९५ प्रतिशत विद्यार्थीको पहुँच बाहिर रहेको बताउँदै उनले स्वास्थ्य शिक्षा र सेवा सर्वसुलभ हुनुपर्ने नेपाली जनताको संवैधानिक अधिकार रहेको बताए। दाङमा मेडिकल कलेजको शिलान्यास गरी निर्माणको काम नथाल्दासम्म अनशन बस्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.