|
फोटो : रोशन सापकोटा/रासस

काठमाडौं : नेपाली कांग्रेसले सबै दललाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन पहल गर्ने भएको छ। 

जेठ ३१ गते प्रदेश नं १, २, ५ र ७ को निर्वाचन मिति तोकिएको छ। तराई/मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय जनता पार्टीले चुनावमा सहभागी हुन विभिन्न माग अघि सारेको छ। राजपाले अघि सारेका मागका विषयमा शनिबार कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गरेको छ। 

छलफलमा राजपाले संविधान संशोधन, पार्टी दर्ता, चुनाव चिह्न, पार्टीको झन्डा, तराई आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, सहिद घोषणालगायत माग राखेको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान मन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजपाका सबै मागका विषयमा प्रमुख दलबीच छलफल गरी सहमतिमा पुग्ने प्रयास भइरहेको बताए।

बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षीसहित सबै दलसँग छलफल गरी समस्या समाधान गरेर राजपालाई पनि चुनावमा सहभागी गराउने गरी कुराकानी भइरहेको बताए।

“कांग्रेसले संविधान संशोधनको वाचा पूरा गर्ने प्रतिबद्धता जनाएको छ, अहिलेको समस्यालाई गम्भीररुपमा लिई निर्वाचनको वातावरण बनाउन राजपालाई आग्रह गरिएको छ, पूरा गर्न सकिने माग चुनावअघि नै पूरा गर्नेगरी प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग पनि कुरा हुन्छ”–उनले भने।

कांग्रेसले आफ्ना मुद्दा जनतामा लिएर गई अनुमोदन गर्न पनि राजपालाई अनुरोध गरेको मन्त्री केसीले बताए। छलफलमा सहभागी राजपा नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिने वातावरण बनाउन कांग्रेस नेतासँग वार्ता भएको जानकारी दिए।  

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत नेताको सहभागिता थियो। 

राजपाका तर्फबाट अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर एवम् सदस्य राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्रराय यादव, अनिल झा र राजकिशोर यादव सहभागी थिए।

कांग्रेसले तीन प्रदेशका उम्मेदवार टुङ्ग्यायो 

राजपासँगको बैठकपछि बसेको कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ सदस्यको बैठकले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १, ५ र ७ का पहाडी जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

दुई नं प्रदेशका उम्मेदवार निर्वाचन क्षेत्र र जिल्लामै छलफल भइरहेको बताउँदै उनले त्यहाँबाट नटुङ्गिए शनिबार साँझ केन्द्रीय कार्यालयमा आउने बताए। बाँकी उम्मेदवार आइतबार बिहान बस्ने बैठकले टुङ्ग्याउने कांग्रेसले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.