|

काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य प्रमुखमा भारी मत अन्तरले निर्वाचित हुँदा एमालेसँगकै तालमेलमा उपप्रमुखका उम्मेदवार बनेका राप्रपा नेता राजाराम श्रेष्ठ भने पराजित भए। उनलाई पराजित गरिन् नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीले।

आफ्नो पार्टीबाट प्रमुखका उम्मेदवार राजुराज जोशीले एमाले उम्मेदवार शाक्यसँग १९ हजार ६ सय ४४ मतान्तरले पराजित हुँदा खड्गीले भने एमालेसँगै गठबन्धन गरेको राप्रपाका उपप्रमुख उम्मेदवारलाई २४ हजार ९८ मतल् पराजित गरिन्।

हाल नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघकी केन्द्रीय सदस्य रहेकी हरिप्रभा २०५४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर ३१ (हालको २८) वडाको वडा सदस्यमा भारी मतले निर्वाचित भएकी थिइन्। आफ्नो जितिका लागि महिलाहरुको मतको निकै ठूलो भूमिका रहेको खड्गी बताउँछिन्।

को हुन् हरिप्रभा खड्गी?

२०२४ सालमा भक्तपुरमा जन्मिएकी हरिप्रभा परिवारकी जेठी छोरी हुन्। २०४२ सालमा नेपाल ल क्याम्पसमा पढ्दापढ्दै राजनीतिप्रति आकर्षित भएकी उनले २०४३ सालमा बागबजार निवासी प्रकाश खड्गीसँग विवाह गरिन्। विहेपछि पद्मकन्या क्याम्पसमा भर्ना भएर त्यहीँबाट राजनीतिक यात्रा अघि बढाउँदै लगिन्।

राजनीतिभन्दा फरक परिवेशको परिवारबाट राजनीतिमा आएकी हरिप्रभा सुरुमा राजनीतिको बारेमा थाहै नपाई नेविसंघमा आवद्ध भएकी थिइन्। हजुरबुबा कुन्दास श्रेष्ठले कांग्रेस नेता गणेशमान सिंहको कुरा गरेको सुनेकी हरिप्रभाले गणेशमानकै पार्टीमा आएको थाहा पाएपछि कांग्रेसबाटै राजनीति अगाडि बढाउने निर्णय गरेकी थिइन्।

'क्याम्पसमा सुरुमा जाँदा त राजनीतिको बारेमा कसलाई थाहा हुन्छ र! त्यतिबेला अनेरास्ववियु र नेविसंघ क्याम्पसमा क्रियाशील थिए। म नेविसंघमा आवद्ध भएँ', उनले भनिन्, 'पछि बुझ्दै जाँदा आफू ठीक ठाउँमा भएको निष्कर्ष निकालेर राजनीतिमा सक्रिय भएँ।'

उनका बुबा डाक्टर हुन्। उनको परिवारका प्रायः सदस्य मेडिकल क्षेत्रमै छन्। तर हरिप्रभालाई भने मेडिकल क्षेत्रले तान्न सकेन। उनी नजानिँदो तरिकाले राजनीतितर्फ आकर्षित भइन् र राजनीतिमै समर्पित भइन्। उनको निर्णयमा श्रीमानले पनि साथ दिए। अहिले छोरी रोहिणा खड्गी र छोरा रोहनले पनि साथ दिइरहेका छन् उनलाई।

पूर्णकालीन राजनीतिमा होमिएकी हरिप्रभा श्रीमानको कमाइले राजनीतिमा लागेको बताउँछिन्। पाटन क्याम्पसमा पढाउने श्रीमानको कमाइबाटै परिवार चलाउँदै आएको र आफूले सम्पूर्ण समय राजनीतिमा दिन सकेको उनले दाबी गरिन्। 'उहाँ (श्रीमान)ले कमाउनुहुन्छ, म राजनीति गर्छु', उनले भनिन्। नेविसंघ हुँदै कांग्रेस भगिनी संगठन नेपाल महिला संघमा आवद्ध हरिप्रभाले २०४६ सालको जनआन्दोलन, २०६२/०६३ सालको आन्दोलन सबै देखे/भोगेकी छन्।

२०६४ सालमा आन्दोलनमा सहभागी हुनेदेखि आन्दोलनकारीलाई पानी, खाजा दिने, घरमा बस्‍ने व्यवस्था मिलाउनेसम्मका भूमिका निर्वाह गरेकी उनले कर्फ्यूका क्रममा आँखामा सीसा लाग्दा झण्डै आँखासमेत गुमाउनुपर्‍यो। 'आन्दोलनका क्रममा मेरो घर एकदमै निशानामा थियो। आन्दोलनकै क्रममा कर्फ्यू लागेपछि ढुङ्गा हान्‍ने क्रममा मेरो टाउका र आँखामा सिसा लाग्यो', उनले विगत स्मरण गरिन्, 'सीसाको टुक्रा आँखामा परेपछि आँखा देख्‍न सकिनँ।' श्रीमानले वीर अस्पताल लगेर उपचार गराएपछि मात्र उनको आँखा खुल्यो। उनले भनिन्, 'उपचार राम्रो भयो। होइन भने मेरो आँखा फुट्थ्यो होला।'

बहुदलीय व्यवस्था स्थापना भइसकेपछि नेपाल महिला संघमा आवद्ध भएर काम गर्न थालेकी हरिप्रभाले महिला संघको वडा, इकाई, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय समितिसम्म काम गरिन्। २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिमा नेपाली कांग्रेसको सूचिमा सिफारिस भए पनि पार्टीले सभासद भने बनाएन।

पहिलो काम धुलो नियन्त्रण गर्छु

नेकपा एमाले र राप्रपा गठबन्धनले उपप्रमुखमा महिला उम्मेदवार नबनाएको थोरबहुत फाइदा आफूलाई भएको हरिप्रभाको अनुमान छ। 'उपप्रमुखमा केही दलले महिलालाई टिकट नदिइरहेको अवस्थामा पनि यहाँको दिदीबहिनीहरुले देखाइदिनुभयो कि महिलालाई टिकट दिएन भने पार्टीलाई कति असर गर्छ भनेर' उनले भनिन् 'त्यसकारण म सम्मानका साथ मलाई मत दिनुभएको मुरीमुरी धन्यवाद दिन चाहन्छु।' 

आफू निर्वाचित भएपछिको पहिलो प्राथमिकता उनले धुलो नियन्त्रणलाई बनाएकी छन्। 'म यो काठमाडौं महानगरपालिकामा धुलो धुवा रहित हराभरा काठमाडौं महानगर बनाउन चाहन्छु' उनले भनिन् ' काठमाडौंका सडक, गल्लीमा अहिले जथाभावी तरिकाले तारहरु झुण्डिएका छन्। यसलाई तत्काल व्यवस्थित गर्न पहल गर्नेछु।'

महिलाको राजनीतिक सहभागिता बढाउने खालको कार्यक्रम पनि ल्याउने उनको योजना छ।  त्यस्तै महिलालाई उद्मम र आर्थिक रुपमा अगाडि बढाउने योजना पनि उनीसँग छ। 'जबसम्म राजनीतिमा महिलाहरु अगाडि बढ्न सक्दैन तबसम्म देशको विकास हुन सक्दैन। त्यसकारण महिलालाई उद्यमी, शिक्षित बनाउने अभियान चलाउनु आवश्यक छ' उनले भनिन्।

महानगरमा भौतिक विकाससँगै महिलाहरूको वृहत्तर विकासमा आफूले जोड दिने हरिप्रभाले बताइन्। 'महिलाको वृत्ति विकासका लागि शिक्षा, स्वास्थ्य र उद्यममा अगाडि बढाउनुपर्छ। महिला शैक्षिक रूपमा अगाडि बढेर रोजगार नहुँदासम्म महिलाको विकास हुन सक्दैन। यी सबै कुरा नभएमा महिला राजनीतिमा आउन पनि सक्दैनन्।

महानगरका प्रत्येक वडाबाट २/३ जना महिला निर्वाचित भएका छन्। वडाको महिला प्रतिनिधि मार्फत महिला विकासका कार्यक्रम अगाडि बढाउने उनको योजना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.